Ek chihan/athara
अठार
बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिव नारान बिउँझे । उनको परिवारका सबै जना जागा भए । दिनहुँ झैँ आज पनि सबेरै भात पाक्यो र सधैँ झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै तत्पर भइ रहेका थिए तर 'कपाल दुखेको छ' भनी नानीथकुँ भात खान गइनन् । 'अलिकति भए पनि खाऊ' भनी लतमायाले कति जिद्दी गर्दा पनि नानीथकुँले भात खाइनन् । कपाल दुखेर होइन, हिजोको कुराले भात नखाएकी हो भन्ने सबैलाई लागेको थियो । तर खुवाउन बल भने लतमाया बाहेक अरू कसैले गरेनन् ।
बिहानको पेट समस्या हल गरेर सबै आआफ्ना कामधन्दामा गए । दिनहुँ झैँ लतमाया र नानीथकुँ केवल दुई जना घर कुरुवा भइ रहे । दिनहुँ झैँ लतमायाले तानको आसनमा पुगी काम गर्न सुरु पनि गरिन् । तर नानीथकुँ आज तान कोठामा आउनसम्म पनि आइनन् ।
डाक्टर गोदत्त प्रसादको प्रेम नानीथकुँको यौवनमस्त हृदयमा ज्यादै गहिरोसँग अङ्कित भइ सकेको थियो । उनको प्रेम र कुराकानीले नानीथकुँ यति प्रभावित भइ सकेकी थिइन् कि डाक्टर गोदत्त प्रसादबाट प्रेमप्लावित हुँदाहुँदै उनीप्रति नानीथकुँको श्रद्धा, भक्ति, विश्वास एकोहोरिइ सकेको थियो । डाक्टर गोदत्त प्रसादलाई कसैले किञ्चित् मात्र केही भने पनि नानीथकुँको दिलमा घाउ गराउँथ्यो ।
त्यसै रोइ रहनाले र भात नखाइ रहनाले अनि सहि रहनाले र बसि रहनाले आफ्नो समस्या हल हुने नानीथकुँले देखिनन् । अनि उनी एक्कासि जुरुक्क उठिन् र डाक्टर गोदत्त प्रसादकहाँ सरासर गइन् ।
डाक्टर गोदत्त प्रसादको आफूकहाँ आउने बिरामीहरूको निःशुल्क परीक्षा गर्ने वेला थियो । नानीथकुँ पुग्दा डाक्टर गोदत्त प्रसाद बिरामी हेर्ने कोठामा बसी अखबार हेरि रहेका थिए । बिरामी एक जना पनि थिएनन् । नानीथकुँलाई यसरी एकाएक पाएर डाक्टर गोदत्त प्रसाद हर्षले पुलकित भए । उनको आत्मा आनन्दले नाच्न थाल्यो । अनि स्वागतको भावमा डाक्टर गोदत्त प्रसादले भने– "अहो नानीथकुँ ! आज कत्रो निगाह !"
नानीथकुँले केही पनि जबाफ दिइनन्, केवल मुस्कुराइ रहिन् । अनि झटपट उनी फेरि बोले– "नानीथकुँ ! तिम्रो कृपाका निम्ति हृदयदेखि धन्यवाद है, म सार्है कृतज्ञ भएँ । भन, म तिम्रो योग्य के सेवा गरूँ ?"
रोक्न चेष्टा गर्दा पनि नानीथकुँको आँखामा आँसुको छाया पर्न आइ हाल्यो ।
नानीथकुँको यो दृश्य देखेर डाक्टर गोदत्त प्रसाद एक छिन जिल्ल परे । उनले सोधे– "किन नानीथकुँ ! तिम्रो चेहरामा दुःख हाँसेको देख्तछु ?"
"अब मेरो अनुहारमा सुखले हाँस्न पाउने आशा त देख्तिनँ डाक्टर साहेब !" अलि सुस्केरा भरेको आवाजमा नानीथकुँले भनिन् ।
"जबसम्म म तिम्रो कृपा कटाक्ष पाइ रहन्छु, तबसम्म जीवनमा कहिल्यै पनि तिम्रो अनुहारमा दुःख देखा पर्नसम्म पनि दिन्नँ भन्ने मलाई घमन्ड छ नानीथकुँ !" डाक्टर गोदत्त प्रसादले पूरा आश्वासन दिएर भने ।
"यही आशाले मर्न मन भएर पनि बाँच्ने कोसिस गरि रहेकी छु, डाक्टर साहेब !"
"नानीथकुँ ! केही कुरा छ भने झट्ट स्पष्ट भन, तिम्रो आजको सहसा आगमनमा केही कुरा कारण भएर बसि रहेको छ जस्तो मलाई लाग्यो ।" डाक्टर गोदत्त प्रसादले बडो मायालु भावनामा भने ।
"अब मैले तपाईंलाई पाउन नसक्ने भएँ ।" रुँदै नानीथकुँले भनिन् ।
"कुरा के पर्यो नानीथकुँ ! प्रस्ट बुझ्न पाऊँ ?"
"अब तपाईं मकहाँ आउन नपाउने हुनु भयो ।"
"किन ?"
"जेठा दाइ तपाईंदेखि सार्है रिसाउनु भएको छ । अब तपाईंलाई हामीकहाँ आउन नदिने रे !"
"किन ?"
"उहाँलाई सब थाहा भएछ ।"
"के थाहा भएछ ?"
"हामीहरूको प्रेम भएको सबै थाहा भएछ !"
"कसरी, कसले भन्यो रे ?"
"हामीहरू दिनदिनै ख्यालठट्टा गरि रहन्छौँ रे, तपाईं पनि दिनहुँ आउनु हुन्छ रे इत्यादि कुरा छिमेकीहरूले पोल लगाएका रहेछन् ।" नानीथकुँले वृत्तान्त भनि दिइन् ।
"अनि तिमीले के भन्यौ नि ?"
"रिसले भुतुक्क भएर पहिले त मैले पनि अलि अलि बोलेकी थिएँ तर झन् रडाको मच्चिन गई नराम्रो रूप लिन जाला भन्ने डरले बोल्नु ठिक पनि लागेन ।" नानीथकुँले भनिन् ।
"म तिमीकहाँ आइहालेँ भने तिम्रा दाजुले मलाई के गर्ने रे ?" अलि खिन्न भावमा डाक्टर गोदत्त प्रसादले भने ।
"बिन्ती छ, तपाईं नआउनु होस् ।" डर भएको भावमा नानीथकुँले भनिन् ।
"त्यसो भए के त अब तिमीले मलाई छोडि नै दिने त ? एकदमै छोडि हाल्ने त ?"
"किन छोड्छु ? ज्यान गए पनि तपाईंलाई म छोड्न सक्तिनँ; तपाईंले मलाई छोडि नै दिनु भए पनि म तपाईंलाई छोड्ने छैन । यो शरीरमा प्राण मात्र होइन, सास भएसम्म पनि तपाईंलाई छोड्दिनँ ।" ममतापूर्ण भावमा नानीथकुँले भनिन् ।
"के गर्ने त ? म तिमीकहाँ आउन सक्तिनँ रे, कसरी मैले मन बुझाइ रहने त ?" मायालु भावमै डाक्टर गोदत्त प्रसादले भने ।
"तपाईं मकहाँ नआउने भए म नै तपाईं कहाँ आइ रहुँला । कि म पनि तपाईंकहाँ आउन सक्तिनँ ?"
"किन सक्तिनौ ? खुसीसाथ आउन सक्छ्यौ । तर म नै यदि तिम्रा दाजुहरूलाई मन पर्दिनँ भने मकहाँ आइ रहने स्वतन्त्रता तिमीले पाइ रहन सकौली ?"
"सोधेर र थाहा दिएर मैले किन आइ रहनु पर्छ र ?"
"अवश्यमेव चाँडै नै थाहा हुन जान्छ नानीथकुँ !"
"थाहा भए के त ।"
"आउन रोकि देलान् ।"
"म पशु त होइन, बाँधि राख्न सक्लान् ?"
"मनाही गरि दिए भने तिमी के गर्छ्यौ ?"
"म मान्दिनँ ।"
"नमानेर के गर्छ्यौ ?"
"के तपाईंको मलाई शरण दिने विचार छैन त ?" अलि निराशापूर्ण भावमा नानीथकुँले भनिन् ।
"त्यसो भनेको होइन नानीथकुँ ! शरण त के तिम्रा लागि म ज्यान दिन पनि तयार छु ।" आश्वस्त भावमा डाक्टर गोदत्त प्रसादले भने ।
"बस, अनि मलाई के दुःख ? कसैको भनाइले मलाई के छेक्न, थुन्न सक्ला ? फगत मलाई तपाईंको प्रेमको चाहना छ । त्यही मैले पाएँ भने मलाई छेक्ने को ? संसारको कुनै शक्तिले पनि मलाई छुन सक्ने छैन ।"
नानीथकुँले यति भनेपछि डाक्टर गोदत्त प्रसाद एक छिन घुर्न थाले ।
अनि बाहिर घाम हेरेर नानीथकुँले भनिन्– "तपाईंलाई अबेर भयो कि ?"
"भर्खर ८:३० बज्यो, मलाई केही अबेर भएको छैन नानीथकुँ !" भित्तामा घडी हेरी हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।
"अझै एक घण्टा त तपाईंलाई फुर्सतै छ क्यारे !"
"एक घण्टा मात्र के चौबिसै घण्टा तिमी बस न नानीथकुँ । फुर्सत कुन कुरा हो र ? बनाए छ नबनाए छैन ।"
"अस्पताल जान अबेर हुन जाला भनेर भनेको । अस्पताल त जानै पर्छ होला !"
"क्याजुयल बिदा छँदै छ नि, वर्ष दिनमा पाइने पन्ध्र क्याजुयल बिदामा एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि पूजा गरुँला ।" हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।
डाक्टर गोदत्त प्रसादको यो अन्तिम वाक्यले झन् प्रभावित भएर नानीथकुँले भनिन्– "मलाई त घर जानै मन लागेन डाक्टर साहेब !"
"तिमी मदेखि सार्है खुसी भएको सुअवसरमा तिमीसित आज म एक थोक माग्ने बिन्ती बिसाऊँ है त नानीथकुँ ?" प्रेमपूर्ण भावमा डाक्टर गोदत्त प्रसादले भने ।
"नाइँ, यसरी तपाईंले मलाई सम्मान गर्नु भयो भने प्रेम गरि रहनु भएको छ भन्ने मलाई विश्वास हुन गार्हो हुन्छ । प्रेमको दुनियाँमा बिन्तीसिन्तीको अदबले ठाउँ नपाओस् डाक्टर साहेब !" मुस्काउँदै नानीथकुँले भनिन् ।
"बातपिच्छे 'डाक्टर साहेब, डाक्टर साहेब' को धुवाँ र अदबले उल्टो तिमी नै उपाध्याय भएर अझ मलाई उपदेश दिन्छ्यौ ?" व्यङ्ग्यमय भावमा डाक्टर गोदत्त प्रसादले भने ।
आफ्नो छेडले आफैँ लडी नानीथकुँ सर्मिन्दा भइन् । लाजले उनी केवल मुसुक्क हाँसिन् अनि ओठ टोकेर फर्किन् ।
"किन उता फर्केकी नानीथकुँ ! हारेको कबुल गर्छ्यौ भने हर्जाना तिर र जित्न चाहन्छ्यौ भने बोल, फेरि के भन्न चाहन्छयौ ?" डाक्टर गोदत्त प्रसादले व्यङ्ग्य हानेर भने ।
"हारेको हर्जाना के तिर्ने नि ?" मन्द मुस्कानमा नानीथकुँले भनिन् ।
"हारेकोमा हर्जाना ?"
"अँ ।"
"मैले भने जस्तो एक चोटि हाँस न त ।"
"छिः भैगो डाक्टर साहेब ! धेरै नजिस्क्याउनु होस् ।" अलि नखराएको भावमा नानीथकुँले भनिन् ।
ल, फेरि 'डाक्टर साहेब ?' कति 'डाक्टर साहेब', 'डाक्टरसाहेब ?' ठट्यौलो अनुहारमा डाक्टर गोदत्त प्रसादले भने ।
"के भन्ने त ?" ठट्यौलो अनुहारले नानीथकुँले पनि सोधिन् ।
"बस गोदत्त ।"
"खालि गोदत्त ?"
"के त अब सिङ पुच्छर पनि जोड्नु पर्यो ?"
"तैपनि ठाडै 'गोदत्त' मात्र कसरी भन्ने ? नाइँ म त 'गोदत्तसोदत्त' केही पनि भन्दिनँ, 'डाक्टर साहेब' नै भन्छु, त्यही सम्बोधन मलाई मिठो लाग्छ ।" मुसुक्क हाँसेर नानीथकुँले भनिन् ।
नानीथकुँको यो अन्तिम वाक्य सुनेर डाक्टर गोदत्त प्रसाद अनौठोसँग प्रभावित भए ।
डाक्टर गोदत्त प्रसादकी स्वास्नी रञ्जना देवी सशङ्क भएर यिनीहरू दुई जना कुरा गरि रहेकोमा बराबर चेवा गरि रहेकी थिइन् । यिनीहरूलाई यसरी अब धेरै बेर कुरा गर्ने मौका पनि दिन भएन भन्ने पनि रञ्जना देवीले विचार गरिन् । त्यसैले उनी वार्ता भङ्ग गराई नानीथकुँलाई चाँडै धपाई पठाउने अभिप्राय गरी सरासर डाक्टर गोदत्त प्रसादले बिरामी हेर्ने कोठामा आइन् ।
रञ्जना देवी बिरामी हेर्ने कोठामा एक्कासि आएको देखेर डाक्टर गोदत्त प्रसाद र नानीथकुँ दुवै जना झस्के । सहसा रञ्जना देवीले यसरी आएर रङ्ग भङ्ग गरि दिएकीमा झोँक चले पनि गोदत्त प्रसादले केही भन्न सकेनन् । नम्र भावमा उनले रञ्जना देवीसँग खालि यति मात्र भने– "किन रञ्जना ! भात पाकि सक्यो कि ?"
"भातले छोराछोरी समेत पाइ सक्यो, किन यस वेलासम्म पनि आज बिरामी कोठामा अल्झि रहनु भएको भनी बुझ्न आएकी ।" रञ्जना देवीले भनिन् ।
"हिँड, जाँदै गर रञ्जना । म आउँछु।" डाक्टर गोदत्त प्रसादले भने ।
"आइ हाल्नोस् त, आज झट्टै भान्छाको काम सकेर मलाई पनि एकछिन बाहिर जानु छ ।" रञ्जना देवी गइन् ।