Ek chihan/aath
अष्ट नारानको मृत्युको समाचार सुनेर टोलमा सनसनी फैलियो र सबै शोक विह्वल भएको बेला सम्झाउन आउने मानिस आफैँ शोक सन्तप्त भए । जसका कारण अष्ट नारानको परिवार, अझ विशेषतः लतमायालाई सम्झाउन आएका उनीहरूको घरमा धेरै बेर रुवाबासी चलि रह्यो
अष्ट नारानको शोक सन्तप्त परिवारलाई सान्त्वना दिएर छिमेकी र टोलियाहरू आआफ्ना घर फर्के । दाह संस्कारको कामका लागि गुठियारहरू पनि फाटफुट रूपमा आइ सकेका थिए । तर शिव नारानलाई भने पिताको मृत्युले भएको वेदना भन्दा पनि अर्कै तापले दु:ख दिन थाल्यो । 'अब कसरी दाह संस्कारको काम सिद्ध्याउने ?’ यस चिन्ताले शिव नारानलाई सर्पले डसे झैँ डस्न थाल्यो । शिव नारान जेठा छोरा भएका हुनाले धन्दा सुर्ता सबै उनैले नबोकी भएन । घरमा फुटेको पैसा थिएन । यहाँसम्म कि कात्रो किन्नलाई समेत पैसा थिएन । भएको दुई चार रुपियाँ र एकाध मुरी अन्न पनि अष्ट नारानको औषधी खर्चमा सिद्धि सकेको थियो । भण्डारमा अन्नको नाउँमा दुई तीन पाथी चामल र पाँच छ पाथी पीठो अनि बिस पच्चिस धार्नी आलु बाँकी थियो । कसैसित सापट माग्न पनि उनलाई राम्रो लागेन । दुनियाँ हाँस्ला भन्ने सोचाइमै उनको सापट माग्ने विचार र ह्याउ मरेर गयो ।
यो कुराको ताप र चिन्ता शिव नारानलाई मात्र होइन, उनका अरू भाइहरू र आमा लतमायालाई पनि भइ रहेको थियो । गुठियारहरूको ताकेताले उनीहरूलाई झन् पोल्न थाल्यो । चिन्ताको तापले उनीहरूले 'अब के गर्नु ?' भन्दै सल्लाह गर्न थाले । अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही अलिकति चामल, पीठो र आलु बेचेर भए पनि काम चलाउने सुझाव माहिला छोरा पुन नारानले दिए ।
"कसरी बेच्न जाने ? कसलाई बेच्न पठाउने ? हामी बेच्न जान मिलेन ।" सुस्केरा लिँदै शिव नारानले भने ।
"हामी बेच्न जान नहुने किन ?" कान्छा हर्ष नारानले भने ।
"बाबुको दाह संस्कार नसिद्ध्याई कसरी हामी घरबाट बाहिर जाने ?" शिव नारानले भने ।
"के गर्ने त अब, यस्तै पर्न आयो ।" पुन नारानले भने ।
"गुठियारहरू सबै जम्मा भइ सके । उनीहरूले नदेख्ने गरी लैजान सक्ने चिज होइन खर्पन बोक्नु पर्ने कुरा ! सार्है सर्म र बेइज्जत हुन जान्छ पुनचा ! के गर्ने ? हाहा नगर्लान् उनीहरूले ?" शिव नारानले भने ।
"के लाग्यो, सहनै पर्यो, अरू थोक उपाय नै के छ त ?" पुन नारानले भने ।
"के गर्ने आमा ! यसै गरौं त ?" शिव नारानले लतमायासँग सोधे । लतमायाले केही पनि जबाफ दिइनन् । दुवै आँखाबाट बरबरी आँसु चुहाइ रहिन् ।
बरबरती चुहि रहेको आँसु पुछ्तै नानीथकुँले भनिन्– "सबको अगाडिबाट चामल, पिठो र आलु कसरी बेच्न लैजाने दाजु ? यो त सार्है नराम्रो लाग्यो मलाई । त्यसै पनि हामीलाई हाहा गर्न खोज्नेहरूले देखे भने के मात्र नभन्लान् ?"
"अरू के उपाय छ त भन न तिमी नै ?" शिव नारानले भने । "जुठो नफुकेसम्म केही काम गर्न जानु हुन्न, आफ्नै बाबु मरेर घरमा परेको जुठो मान्नै पर्छ । त्यतिन्जेल एक छाक मात्र भए पनि खाएर हामीले ज्यान बचाउनै पर्छ । अर्को कुरा भाइ भताहाहरूलाई खुवाउनैपर्छ । घरमा भएको अन्नपात बेइज्जत सहँदै बेचेर फेरि किन्दा टुट्टा खानु पर्ने हुन्छ ।" वेदना सहँदै गम्भीरतापूर्वक नानीथकुँले भनिन् ।
"तिमीले भनेका सबै कुरा मनासिबै छन्, मलाई पनि त्यो गर्न कहाँ मन लाग्छ ? तर गर्ने के, तिमी नै सोच !" शिव नारानले अलि लामो सास फेरेर भने ।
"डाक्टर गोदत्त प्रसादले हामीमाथि सहानुभूति प्रकट गरि रहेको देखिन्छ । दिएको फिस समेत नलिईकन आफैँ आई बालाई उनले त्यत्रो मिहिनेत साथ औषधी गरि दिए, उनीसितै बिस पच्चिस रुपियाँ सापट मागौँ कि ! मैले हेर्दा त अवश्य उनले मद्दत गर्ने छन् ।" नानीथकुँले भनिन् ।
नानीथकुँको यो सल्लाह सुनेर शिव नारान, पुन नारान, हर्ष नारान, लतमाया सबैले भुइँतिर निहुरेर एक चोटि गौर गरे । अनि लतमाया बोलिन्– "उनीसित सापट मागे नदेलान् जस्तो त छैन तर किन हो कुन्नि, तिम्रो बालाई उनको सहानुभूति अलि तितो लागेको थियो ।"
"मलाई पनि अलि कस्तो कस्तो नै लाग्यो !" शिव नारानले भने ।
"अगाडि नराम्रो मानिस पछि राम्रो भएर आएको बेस कुरा हो । देलान् जस्तो देखिए उनीसित सापट माग्नमा आपत्ति के छ त ? सित्तैँ खानु छैन, चाँडै तिरौँला । मैले हेर्दा पनि उनीसित सापट लिएर काम चलाउनु बढिया लाग्यो ।" पुन नारानले भने ।
"हुन्छ, हुन्छ; सबभन्दा अहिलेलाई यही उपाय नै मलाई पनि राम्रो लाग्यो । 'भरे भोलि' भनी पर्खने वेला पनि त अहिले छैन । तैपनि यस्तो ढिलो भएर लाज मर्नु भइ सक्यो ।" हर्ष नारानले भने ।
एक छिन फेरि सब चुप लागे । अनि मनमन गौर गरि सकेपछि शिव नारानले भने– "के लाग्यो त, हुन्छ, डाक्टर गोदत्त प्रसादसँग सापट लिऔँ । तर उनी अहिले घरमा हुँदैनन्, अस्पतालमा होलान् ।"
"अस्पतालमा भए उहीँ गएर सापट मागे के हुन्छ ?" नानीथकुँले भनिन् ।
"हुन्छ लौ, पच्चिस रुपियाँ उनीसित सापट लिऔँ, कसलाई पठाउने ? हामीमध्येबाट कोही जानु बेस होला ।" शिव नारानले भने ।
"हर्ष दाइ र म जाऔँ, दुई जना गएपछि उनको दिल झन् पग्लला ।" नानीथकुँले भनिन् ।
"हुन्छ त, तिमीहरू जाओ । गइ हाल त, अबेर गर्ने किन ! नदिए रोएर, बिन्तीभाउ गरेर पनि सापट लिएर आओ, अलि छिटो छिटो जाओ ।" शिव नारानले भने ।
शिव नारानको आज्ञा पाएर हर्ष नारान र नानीथकुँ डाक्टर गोदत्त प्रसादकहाँ रुपियाँ सापट माग्न गए ।
मरेको चार घण्टा भइ सक्यो, अझसम्म केही सुरसार नभएको देखेर एउटा गुठियारले अलि झर्केर भन्यो– "शिव नारान । सार्है अबेर भयो, के गर्न लाग्नु भएको यो तपाईंहरूले ? कहिले मुर्दा लैजाने, कहिले दाह संस्कारको काम सिद्ध्याउने ? हुन त यस्तो अवस्थामा केही बोल्न ठीक छैन तर साराको कामकाज बर्बाद हुन लागि सक्यो, त्यसैले नबोल्न सकिनँ ।"
"सब ठिक हुन लाग्यो, एक छिन पर्खि दिनोस्, माल सामान जोरिँदै छ । के लाग्छ, जिउँदो छँदै मर्ने सम्झेर जोरजाम गर्नु भएन ।" शिव नारानले वेदना भरेको आवाजमा भने ।
"मेरो भनाइ त्यस्तो होइन, तर मरेको पनि त धेरै समय बिति सक्यो । यसरी धेरै बेर मुर्दालाई पर्खाइ राख्नु पनि ठीक छैन । यसैले पनि हामीले ताकिता गरेका हौँ ।"
"तपाईंले भन्नु भएको कुरा मनासिब हो । बन्दोबस्त हुँदै छ, एक छिन तपाईंहरू नरिसाइ दिनु होला ।"
"होइन, कोही पनि रिसाएको छैन । यस्तो वेलामा पनि रिसाउने कस्तो मूर्ख होला ? अबेर भएर ताकितासम्म गरेका हौँ ।"
"बरु अर्थी बनाउनलाई बाँससाँस दिनोस्, दाउरासाउरा पनि ठिक गर्दै गरौँ ।" अर्को एक जना गुठियारले भने ।
घरमा भएका बाँसहरू खोजेर दिँदै– "अर्थी बनाउँदै गर्नु होला, दाउरा किन्न गएका छन्, एकैचोटि सबै तयार हुने छ ।"
गुठियारहरू बाँस काटकुट गरी अर्थी बनाउन थाले ।
हर्ष नारानका साथै नानीथकुँ पनि सहसा अस्पतालमा आएको देखेर गोदत्त प्रसाद एक छिन जिल्ल परे । उनले तुरुन्तै सोधे– "बालाई कस्तो छ ?"
डाक्टरको यो प्रश्नले थामि रहेको आँसु नानीथकुँको आँखाबाट फेरि बग्न थाल्यो । उनी धुरुधुरु रुन थालिन् । हर्ष नारानले तत्क्षणात् भने– "बा त गइ सक्नु भयो ।"
"हँ ! राम ! राम !! कुन वेला ?" डाक्टर गोदत्त प्रसादले आश्चर्य चकित भएर शोकयुक्त स्वरमा सोधे ।
"अगि एघार बजेतिर ।"
"मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ । संसार यस्तै हो, मर्नु र जन्मनु संसारको गति हो । उमेर नपुगेको भन्नु पनि छैन ।" यहाँ किन आउनु भएको त तपाईंहरू ? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नोस्, हाजिरै छु । दागबत्तीको काम सबै ठीकठाक भइ सक्यो ?"
हर्ष नारान र नानीथकुँ दुवै जना अनकनाएको भाव देखेर डाक्टर गोदत्त प्रसादले फेरि भने– "भन्नु होस्, केही भन्नु छ मसित ?"
हर्ष नारानले बोल्न इसारा गरे पछि नानीथकुँले भन्ने साहस गरिन् तर बोल्न खोजेको कुरा सर्मले गर्दा घाँटीमै अड्कियो । उनको मुखमा सर्मको लालीपना छाउन थाल्यो । अनि डाक्टर गोदत्त प्रसादले आश्वासनको भावमा भने– "भन न नानी ! किन लजाएकी ? मलाई भन्नलाई पनि केको लाज ? मलाई आफन्तै सम्झे हुन्छ ।"
डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानीथकुँले बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै समाइ दियो । अनि डाक्टर गोदत्त प्रसादले अझै आफन्तको भावमा भने– "किन लजाउनु पर्छ भन्या, मलाई परचक्री सम्झेकी ?"
हर्ष नारान पनि लज्जाले मुन्टो निहुराएर उभिइ रहेका थिए । यसपालि भने नानीथकुँले बल गरेर भनि हालिन्– "अलिकति रुपियाँ मागौँ भनेर आएका हौँ ।"
पूर्ण सहानुभूतिको भावमा डाक्टर गोदत्त प्रसाद तत्क्षणात् बोले– "कति रुपियाँ चाहियो नानी ?"
"पच्चिस रुपियाँ जति मात्र भए पुग्छ ।" लज्जापूर्ण भावमा नानीथकुँले भनिन् ।
खल्तीको मनिब्यागबाट रुपियाँ झिक्दै गोदत्त प्रसादले भने– "यति जाबो मद्दतका निम्ति पनि यस्तरी लजाउनु पर्छ ? मद्दत भनेको सबैसित सबैले लिनु पर्छ र लिइन्छ पनि; मद्दत दिनु मानिसको कर्तव्य झैँ मद्दत माग्नु पनि मानिसको हक हो । यसका निम्ति पनि त्यस्तरी लजाउनु पर्छ ? चाहिए अझ अरू पनि मद्दत दिनमा म तयार छु ।" नानीथकुँको हातमा रुपियाँ अर्पंदै उनले भने– "चाहिएको मद्दत नमाग्ने भुल नगर्नू है !"
नानीथकुँले लज्जासित कृतज्ञतापूर्ण भावमा स्वीकृति सूचक टाउको हल्लाइन् ।
हर्ष नारान पनि लज्जा र कृतज्ञतापूर्ण भावमा मौन भएर उभि रहे । लज्जावश रुपियाँ पाइ सकेर पनि नानीथकुँ र हर्ष नारान जान सकेनन् । दुवै त्यसै उभि रहे ।
अनि डाक्टर गोदत्त प्रसादले उनीहरूभित्र उब्जि रहेको भाव जानी भने– "जानु होस्, झट्टै गएर दागबत्तीको काम नै सिद्ध्याउनु होस् ।"
डाक्टर गोदत्त प्रसादले यति भनेपछि उनीहरू शोकमा पनि खुसी भएर डाक्टरप्रति कृतज्ञता भाव जाहेर गर्दै त्यहाँबाट आए ।