Ek chihan/30
भाइ बहिनीहरूको व्यवहार सिद्धिई हलिङ्गो भएको साथसाथै असार पनि यस पालि राम्रो भएको हुनाले शिव नारान अत्यधिक खुसी छन् । रोपाइँ सिद्धिएदेखि शिव नारान अहर्निश खेतैमा रहेका थिए । खेतमा मिहिनेत र धावा गरे अनुसार सफलताका चिह्नहरू पनि देखा पर्न थालि सकेका छन् । धानका बिरुवाहरू निकै सप्रिएका छन्, यहाँसम्म कि बिरुवाहरूमा धानका बालाहरू मुजुराउन पनि थालि सकेका हुन् कि जस्तो लक्षण देखा परि सकेको छ ।
शिव नारान निथ्रुक्क पानीमा रुजेर पनि खेतमा काम गरि रहन्थे । किसानकी छोरी भए पनि उनकी स्वास्नी हाकुमाया अलि अल्छी प्रकृतिकी छिन् । शिव नारान हाकुमायालाई बराबर आफूले जस्तै खेतमा तपस्या नै गरि रहन आह्वान गरि रहन्थे । उनी हाकुमायालाई भन्थे– "हाकुमाया ! तिमी अलि अल्छी छ्यौ । किसानका सन्तानले आराम गर्नु पाप हो, शरीरमा एक थोपा मात्र रगत बाँकी भए पनि पसिनाको रूपमा निकालेर खेतलाई चढाउनु पर्छ किनभने किसानको परिश्रम र पसिना नै जगत्को जीवन हो र जिन्दगीको ज्योति हो ।"
"तपाईं त मलाई सधैँ सुतेर खाइ रहेकी छ जस्तो कुरा गर्नु हुन्छ, के त्यस्तो आराम लिइ रहेकी छु मैले ?" एक दिन हाकुमायाले झर्केर भनिन् । "लौ न त आराम लिएकी छैनौ भने जाऔँ न काम गर्न ।" अलि ठट्टाको भावमा शिव नारानले भने ।
"के काम गर्नु छ र अहिले ?" हाकुमायाले भनिन् ।
"खेतमा धानको शत्रु झार केलाउनु छ । एउटा एउटा झार खोजी खोजीकन उखेल्नु पर्छ हाकुमाया । झार, घाँसले बिरुवालाई साह्रै हानि गर्छ, उसले प्रथमतः विरुवाको स्वास्थ्यलाई खान्छ, झार बढ्नाले बिरुवाको स्वास्थ्य नष्ट भई धानका बालामा भुस, दमराहरू बढ्ता हुन्छन्, फलि रहेको धानमा पनि रस कम हुन्छ, गेडामा पुष्टता हुँदैन अर्थात् मोटामोटी भनुँ भने धान एकदम कम हुन्छ ।" शिव नारानले भने ।
"भो भो ! धान बढ्ता फलाउन सकेर मात्र हामीले कुन सुख पाउन सकेका छौँ ? कुन किसानले दरबार बनाउन सकेको छ ? 'खेत' भनी सधैँ यसरी मरि रहेका छौँ । खाने बेलामा भने कहिल्यै पेट भर्न पाउँदैनौँ, अझ वर्षामा कति दिन विना एकादशी पनि उपवास र निराहार उत्तिकै बस्नु पर्छ ।" मुसुक्क हाँस्तै हाकुमायाले भनिन् ।
"खान त पाएनौँ हामीले, लौ हो भनौँ, तर संसारलाई ख्वाउन त पाएका छौँ– यो हाम्रो सानो अहोभाग्यको कुरा हो ?" शिव नारानले पनि हाँस्तै भने ।
"लौँ हिँड्नोस्, तपाईंसित को कुरा गरि रहन सक्छ ?"
हाकुमाया र शिव नारान दुवै मिलेर खोजी खोजीकन खेतमा झार, घाँस उखेल्न थाले । उनका केटाकेटीहरू पनि नाङ्गै भएर झार उखेल्ने काममा लागि रहेका थिए, जसलाई दुःख होइन, शिव नारानले तालिम सम्झेका थिए । खेतमा घाँस उखेल्दै शिव नारानले आफ्ना छोराछोरीहरूसित कुरा गरि रहेका थिए– "यस पालि त असार ज्यादै राम्रो भएको हुनाले हाम्रो मिहिनेत अनुसार खेतमा पुरै बाली फल्ने छ । घर पनि हामी यस पालि काइदासाथ मर्मत गर्ने छौँ । हर्ष नारान र नानीथकुँको बिहेको भोज पनि ख्वाउन बाँकी छ । बाली काटि सकेपछि अलिकति धान बेचेर भए पनि यस पालि त एक चोटि सिनेमा पनि नहेरि छोड्दिनँ ।"
"बा ! हामी पनि सिनेमा हेर्छौं ।" लाडे भावमा केटाकेटीले भने ।
"हुन्छ, हुन्छ, घरभरिका जहान सबैलाई यस पालि म बाइस्कोप देखाउन लैजान्छु ।" शिव नारानले भने ।
"साँच्ची, एकचोटि मात्र भए पनि सिनेमा हेर्न नङ्के[1] गर्नै पर्छ । नेपालमा सिनेमा आएको यतिका वर्ष भइ सक्यो, आजसम्म हेर्न पाएको छैन ।" हाकुमायाले भनिन् ।
"हाम्रो घरमा कसैले पनि आजसम्म सिनेमा हेर्न पाएको छैन ।" अलि अफसोसको भावमा शिव नारानले भने ।
"बा ! यस पालि धान काटेपछि हामीले सधैँ दुई छाक भात खान पाउने छौँ ? मलाई त कोदो, गहुँ, मकैको रोटी, उसिनेको आलु त खान मनै लागेन बा ! दाल तर्कारी हालेर सुरु सुरु भात मात्तै खान मन लागि रहेछ !" छोरा चाहिँले भन्यो ।
"लौ, लौ, तिमीलाई म भात ख्वाउँछु, त्यसैले त घाँस उखेल्ने काम गर भनेको !" सुस्केरा हाल्दै शिव नारानले भने ।
"म पनि सधैँ भात खान्छु बा ! यी मैले पनि त घाँसै उखेलि रहेकी छु ।" छोरीले भनी ।
"लौ, लौ, तिमीलाई पनि भातै ख्वाउँछु ।" गहका आँसु पुछ्तै हाकुमायाले भनिन् ।
"तपाईंहरू पनि भातै खानोस् ।" छोरीले फेरि भनी ।
घाँस उखेल्ने काम रोकी कम्मरमा हात अड्याई उभिएर सुस्केराउँदै शिव नारानले एक चोटि आफ्ना छोराछोरीहरूको मुख हेरे । पानी परि रहेको थियो, उनीहरू पनि काम गरि रहेका थिए । बढ्ता तोडमा पानी परेको वेला छाप्रोमा गई ओत लाग्थे र पानी कम हुनासाथै फेरि खेतमा काम गर्न जुट्थे ।
- ↑ कहिल्यै प्राप्त वा अनुभव नभएका कुरा पाउनु वा अनुभव प्राप्त गर्नु (नेवारी शब्द) ।