Ek chihan/28
अट्ठाइस
आज शिव नारानको घरमा विवाहको आनन्द आइ रहेको छ, उमङ्गले जुहारी खेलि रहेको छ, प्रफुल्लताले अट्टहास गरि रहेको छ । हुन त आज पनि उनको घरभित्र पानी चुहि रहेको छ, चर्केको, मर्केको बढ्दै छ, यद्यपि आज उनको घर, उनको छाप्रो अन्त्यन्तै खुसी देखिन्छ, एउटा हाँसि रहेको महल खडा भइ रहे झैँ आज उनको घरले भव्यता प्रदान गरि रहेको छ । हर्ष नारानकी नववधूलाई स्वागत गर्न उनको घरको आकाश उत्सुक भइ रहेको देखिन्छ ।
शिव नारान, हाकुमायाहरू पनि एकाबिहानै खेतबाट आज घर आए । घरका थकाली शिव नारान भए तापनि आजका नायक हर्ष नारान नै बनि रहेका छन् । घरका परिवार मात्र होइन छरछिमेकीहरूले पनि आज हर्ष नारानको हिँडाइ फिराइ, बसउठ, रूपरङ, बोली वचन, चालढाल एक एक कुरा बडो चाख लाएर हेरि रहेका छन् ।
दुलही ल्याउने समय बेलुकातिर निधो भयो । कसरी ल्याउने, कुन विधि उपयोग गर्ने ? यस कुराको पनि घरमा निकै छलफल भयो । 'कम से कम अरू थोक केही बन्दोबस्त नभए पनि डोलीमा राखेरसम्म त अवश्य ल्याउनु पर्छ । ढोकामा डोली अड्याएर उनलाई भित्र्याउँदा गरिने पूजा सत्कार इत्यादि विधि विधानसम्म त कसरी नगर्ने । दुई दिनको पाहुना घरमा भित्रि रहेकी त होइन । घर गर्ने, कुल थाम्ने, समाज फलाउने, सृष्टि हँसाउने तथा हर्ष नारानको जिन्दगी रसाएर सामाजिक परम्परा फुलाउने एउटा जिम्मेवार मानिस भित्रिने, एउटी कुलवधू भित्रिने, लक्ष्मी भित्रिने हुन् । त्यसैले दैलोनिरै डोली अड्याई, ढोकैदेखि स्वागत सत्कार गर्नु पर्छ' भन्ने राय स्वास्नी मानिसहरूबाट आयो ।
स्वास्नी मानिसहरूको यो रायमा शिव नारानले घोर विरोध गरे उनले भने– "हाम्रो समाजमा दुलही भित्र्याउँदा र छोरीबेटी दिएर पठाउँदासम्म त उनीहरूलाई विवाहको दुई चार दिन निकै स्वागत सत्कार, मान मर्यादाको व्यवहार हुन्छ, अवश्य हो । तर डोलीमा हाली ल्याएर ढोकामा रोकी अनेक स्वागत सत्कार गर्दैमा स्वास्नी मान्छेहरूले हाम्रो समाजमा के मान मर्यादा र स्थान पाएका छन् ? त्यसैले बरु हामी डोलीमा हालेर सम्मान गर्ने ढोँग नगरौँ, ढोकामा उभ्याई दुनियाँको अगाडि स्वागत सत्कार गरेको स्वाङ पनि नगरौँ । त्यसको सट्टा उनलाई हामी लोग्ने मानिसहरूले आफूले चाहेको हक दिन र मर्यादा गर्न नभुलौँ, नबिर्सौं र त्यसका निम्ति दृढ सङ्कल्पी बनौँ । यही मेरो विचार छ ।"
शिव नारानको यो विचार पुन नारानलाई ज्यादै मन पर्यो, हर्ष नारानले त अझ बढ्ता स्वागत गरे । आखिरमा हर्ष नारानको स्वेच्छाले डोलीमा हालेर नल्याईकन हिँडाएर नै ल्याउने निर्णय भयो ।
माहिला तामाङ भरियाको जीविका गरेर खाइ रहेका, बुद्धिमान् मानिस नभए तापनि विशाल हृदयका उदार व्यक्ति हुन् । आफ्नी छोरी पुतली हर्ष नारान ज्यापुसँग रोजेर जान लागेकी देखेर उनी बिछट्टै खुसी छन् ।
सात आठ सालतिर काठमाडौँमा भएको जन विद्रोह र आन्दोलन देखेर माहिला तामाङले नेवार र पर्वते दुई जातिमा सम्बन्ध जोड्ने भावना र प्रेरणा पाएका हुन्; उस वेला टुँडिखेलमा एउटा विशाल जुलुसले 'नेवार पर्वते एक हौँ, नागरिक अधिकार पाउनै पर्छ, प्रजातन्त्र हुनै पर्छ' भन्ने जोडदार नारा लगाएको थियो । जुलुसले लगाएका अनेक नारामध्ये अरू त कुनै नाराको माने र महत्त्व माहिला तामाङले बुझेका थिएनन्, तर 'नेवार पर्वते एक हौँ' भन्ने नाराले उनको हृदय एकदम घचघच्याइ दियो, एकदम बाक्लो बदलीमा एकाएक घाम झुल्के जस्तो उनलाई भयो ।
हर्ष नारान आज माहिला तामाङकहाँ जुवाइँ बनेर आइ रहेका छन् । उनका साथमा उनका दाजु पुन नारान पनि आएका छन् । बिचरा दिनभरि भरिया भएर पनि दुई छाक खान नपाएका माहिला तामाङ उनीहरूलाई विशेष खुवाउने पियाउने कुराले के सत्कार गर्न सक्थे ? हृदयबाट गरिने सम्मान सत्कारमा भने कुनै कमी हुन दिएनन् । जोईपोइ दुवैल जनाले ती दुई दाजुभाइलाई बडो आदर साथ शिष्टता, नम्रताको व्यवहार गरे । उनीहरूको शिष्टता देखेर पुन नारानहरू ज्यादै खुसी र सन्तुष्ट भए ।
छोरीलाई अरू थोक केही दिन नसके पनि गोडा पन्ध्रेक रुपियाँ सापट लिएर माहिला तामाङले गौनको फरिया, मखमलको चोलो र खास्टो पहिराएर सुसज्जित पारि राखेका थिए । पुतलीले यति धेरै लुगा एकै चोटि लाउन पाएको उनको जिन्दगीमा यो पहिलो पटक हो । आफ्ना अनन्य प्रेमीका साथ साथै यस्ता नयाँ लुगा एकै चोटि लगाउन पनि पाएकाले आज पुतली सार्है प्रफुल्ल छिन् । उनी घरी आफूलाई घरमा लैजान आफ्नो अगाडि हाँसि रहेका आफ्ना जीवन धनलाई लुकीछिपी हेरि रहन्छिन्, घरी आफ्ना लुगातिर आँखा घुमाएर आह्लादित भइ रहन्छिन् । पुतलीले आज रातो धागो हालेर कपाल बाटेकी छिन्, निधारमा टाढैबाट देखिने एउटा ठुलो सितारा, ओठ र गालामा लाली पनि लाएकी छिन् । उनले आज आफूलाई 'स्वर्गकी परी' जस्तै राम्री ठानेकी छिन् ।
हर्ष नारानहरू पुगेको करिब एक घण्टापछि माहिला तामाङले पुतलीलाई बिदा गरे । छोरीलाई बिदाइ गर्दा उनकी आमा रोइन् । माहिला तामाङले पनि आँखाबाट आँसु झारे । पुतलीका पनि दुवै आँखा आँसुले भरिए ।
बिदाइको वेला उनकी आमाले केवल यति सिवाय मुखबाट बोली निकाल्न सकिनन् – "राम्रोसँग बसी सबैलाई खुसी पार !"
माहिला तामाङले छोरीलाई दिन ल्याइ राखेको डोको, नाम्लो र एउटा हँसिया सुम्पिँदै भने– "मेरी छोरी ! लौ यो डोको, नाम्लो र हँसियालाई कहिले पनि नबिर्स र खर्पन, नोल, कोदालीको साथ सुहाएर नेपाललाई हँसाउने कोसिस गर ।"
हर्ष नारानतिर हेरेर माहिला तामाङले फेरि भने– "छोरी केही नजानेकी सिधासाधा छ, बिराएकोमा माफ गरी तालिम गर्नु होला ।"
पुन नारानले हाँसेर भने– "केही धन्दा नमान्नु होला, हामी छोरी सम्झने छौँ ।"
बिदा भएर पुतलीहरू जान खोजे अनि रुँदै पुतलीकी आमाले भनिन्– "पर्सि आऊ त है नानी !"
पुतलीले रुँदै स्वीकृति सूचक टाउको हल्लाइन् ।
माहिला तामाङले गहभरि आँसु गरी पुन नारानसित विनीत भएर भने– "पर्सि पठाइ दिनु होला ।"
"हवस् ।" नम्रता साथ पुन नारानले भने ।
हर्ष नारानको घरमा नयाँ दुलहीका निम्ति सबै जना भारी उत्कण्ठा साथ बाटो पर्खि रहेका छन् ।
नयाँ दुलही घरमुनि आइ पुगिन् । "यीः ! डोको बोक्ने पखिनी पो रहिछ । नयाँ दुलही भएर पनि डोको बोकी हँसिया समाएर आउने कस्ती गरिबकी छोरी रहिछ ।" झ्यालमा बस्ने छिमेकी आइमाईहरूका बीचमा कुरा चल्न थाल्यो । कसैले "छिः । कस्ती ल्याएको नि, ल्याएपछि अलि गतिली त ल्याउनु पर्छ, कस्ती पखिनी ।" पनि भने ।
नयाँ दुलहीले प्रवेश गरेको दिन भएको हुनाले सानोतिनो रूपमा भए पनि हर्ष नारानको घरमा आज भोज गरिएको थियो । भातको सट्टा चिउरा, अलिकति मासु र तीन तीन थोक तरकारीहरू पनि थिए, जाँड रक्सी पनि केही मात्रामा थियो । यी सबैका निम्ति शिव नारानले दश रुपियाँ सापट लिनु परेको थियो । परिवारका सबै मानिसहरूको प्रसन्नता र नाचगान, ख्यालठट्टा देखेर पुतली पनि निकै प्रसन्न र प्रभावित भइन् ।
करिब रातको दश बजि सक्यो, अलि अबेर भइ सकेकाले शिव नारानले आजको रमाइलो भङ्ग गर्नु पर्यो, किनभने उनलाई खेतमा सुत्न जान निकै अबेर भइ सकेको थियो ।
हर्ष नारानको कोठामा आज बत्ती नभएर पनि उज्यालो हाँसि रहेको छ, केही नभएर पनि परिपूर्ण देखा परि रहेको छ । कोठामा गएर ढोका बन्द गरि सकेपछि हर्ष नारान र पुतली दुवै जनालाई अलि लज्जाभावले छोप्यो । दुवैले बोल्न सङ्कोच मानि रहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क हेरि रहने, परन्तु नबोल्ने यस्तै भएर केही मिनेट दौडि सकेपछि लजाउँदै कोपिला मुस्कानमा हर्ष नारानले भने– "बोल न पुतली ! के नबोलीकन मलाई सम्मान गरि रहेकी ?"
मन्द मुस्कानको गम्भीर चेहराले हर्ष नारानलाई पुलुक्क हेरिन् पुतलीले । "तिमीलाई कस्तो लाग्यो यहाँ पुतली । नमज्जा त लागेन ?" हर्ष नारानले स्नेह भरेको आवाजमा सोधे ।
हर्ष नारानतिर हेरेर लोलाएका आँखामा पुतली मुसुक्क हाँसिन् । हाँसेकी पुतलीको चिउँडो समातेर हर्ष नारानले बत्ती निभाए ।