Ek chihan/26
छब्बिस
आज भर्खर जेठको १५ गते, तर यस पालि बर्सात् खुब भइ रहेकाले जेठ १५ गते भित्रै पनि धेरैको असार सिद्धि सकेको छ । यस पालि असार राम्रो हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिव नारानको खेतमा त झन् एक हप्ता अगाडिदेखि नै रोपाइँ सिद्धि सकेकाले, उनको परिवार त झन् विजेता झैँ प्रफुल्ल भएर फुलि रहेको छ । तर रोपाइँको समाप्तिले सुख प्राप्त भए पनि उनीहरूलाई कुनै कुराले दुःख पनि भइ रहेको छ । वर्षा अत्यन्त प्रिय भएर पनि त्यसदेखि उनीहरूलाई डर भइ रहेको छ । यसको कारण हो उनीहरूको घर थोत्रो छ; भत्कि हाल्ला, खसि हाल्लाको अवस्थामा पुगि सकेको छ । अलिकति पानी पर्यो कि त दुई तलासम्म चुहुने भइ सकेको छ । अलि बढ्ता बतास आयो कि क्यार्रकुर्र आवाज आउन थालि सकेको छ । यस कारण पानी परेको, बतास आएको दिन शिव नारानको परिवारका प्रत्येक सदस्य डरले त्राहिमाम् हुन्थे ।
रोपाइँ सकेदेखि शिव नारान खेतमा खान्थे, सुत्थे । शिव नारान माचाछी[1] बाहेक अरू बाँकी परिवार मात्र घरमा खान्थे, सुत्थे । आज घरमा भात खाइ रहँदा पनि वर्षा भइ रहेकाले पानी चुहि रहेको थियो, सबै सँगै भात खाइ रहेका थिए । भात खाँदै लतमायाले पुन नारानतिर हेरेर भनिन्– "खाइ नखाइ गरेर पनि यस पालि त घर एउटा बनाउने कोसिस गर बाबु ! मलाई त बिघ्नै डर भइ रहेको छ । यस्तरी दिनका दिन पानी परि रहेको छ, अझ मुख्य पानी पर्ने याम आएकै छैन ।"
"मैले पनि त्यही विचार गरि रहेको छु आमा ! जे गरेर पनि यस पालि घर नबनाईकन त हुँदै हुँदैन । मलाई पनि बिघ्नै फिक्री लागि रहेको छ ।" पुन नारानले भात खाँदै भने ।
"यस पालि पनि बनाउन सकिएन भने त जगैदेखि भत्कन बेर छैन ।" हर्ष नारानले भने ।
"सरसापट गरेर भए पनि तिमीहरू सबै भाइ मिली यस पालिलाई बस । टालटुलै मात्र गरेर पनि घर एउटाको चिन्ता मेटाउने कोसिस गर बाबु हो !" अलि मायालाग्दो भावमा लतमायाले भनिन्– "अब त म पनि धेरै दिन बाँचुला जस्तो लाग्दैन, नानीथकुँ र हर्ष नारान यी दुई जनाको व्यवहार सिद्ध्याउन पाए मरे पनि हुने भइ सकेँ । खोइ, नानीथकुँलाई पनि कसैले भन्न आउँदैन । फोने गरेर पनि असल दुलाहा खोज्ने गर बाबु हो ! त्यसो गर्दैमा केही नराम्रो देख्तिनँ म । हर्ष नारानलाई पनि कति जना केटी खोजि सकेँ, हामी गरिब भएर हो कि भेट्टाउनै सकिन्न । तिम्रा बाबु, दाजुहरूको सिद्धान्त अनुसार तिमीहरूले नै खोज्ने गर आफूलाई मन पर्ने, नानी हो ! त्यही म पनि बेस देख्छु । बरु जातपातको वास्ता नगरे पनि हुन्छ ।"
खिस्स हाँसेर हर्ष नारानले भने– "नानीथकुँ त्यसै गरोस्, म त अहिले बिहे गर्न चाहन्नँ । घरै बनि सकेको छैन, खुवाउने पाल्ने नै आफूलाई तागत आइ सकेको छैन, केको बिहे गर्न हतपत ? अर्काकी छोरीलाई ल्याएर त्यसै भोकै राख्न त ठिक छैन ।"
"घर त रुपियाँ भएपछि बन्ला तर बुढी हुँदै गएको मेरो अवस्थाले पर्खि रहन त सक्तैन । के त मैले तिम्रो बिहे नहेरीकनै मर्ने ?" लतमायाले अलि दुःखित भएर भनिन् ।
"घर बनेको पनि देख्नु होला, बिहे पनि हेर्न पाउनु हुनेछ । अहिल्यै हामीलाई त्यस्तरी टुहुरा बनाउने अलच्छिन नचिताउनु होला आमा !" हर्ष नारानले श्रद्धापूर्ण भावमा भने ।
"मैले पनि तिमीहरूको बिहे हेर्नसम्म पर्खने सौभाग्य चाहेकी छु ।" लतमायाले भनिन् ।
आमाछोराका यी कुरा हुँदाहुँदै नानीथकुँको मनभित्र के के आवाज आए जस्तो भयो, उनलाई कसैले बोलाए जस्तो, कुरा गरे जस्तो, कोही कसैको प्रतीक्षामा बसि रहे जस्तो, के के जस्तो, के के जस्तो उनको मनभित्र भाव तरङ्ग तरङ्गिन थाल्यो ।
अनि उनी झटपट चुठेर झ्यालमा गइन् र बाटोतिर गर्धन उठाई परपरसम्म हेर्न लागिन् । पानी पनि थामिइ सकेको थियो । साँझ झमक्क परिसके तापनि अलि नियालेर राम्रोसँग हेर्न सकेमा बाटोमा आउने मानिससम्म धमिलो रूपमा देखिन्थ्यो, त्यसैले नानीथकुँले पनि खुब गहिरोसँग नियालेर बाटोमा हेरि रहेकी थिइन् ।
नानीथकुँको यो स्थिति र प्रक्रिया कसैलाई थाहा थिएन । भात खाइवरी लोग्ने मानिस जति तमाखु खानेतिर लागे, पुन नारानकी स्वास्नी सिन्तलीले जुठाभाँडा माझि रहिन्; लतमायाले चुहिएर जम्मा भएको पानी सोहोर्दै फ्याँकि रहिन् । नानीथकुँ आफूले खाएको जुठो माझेर गइ सकेकी थिइन्, त्यसैले उनलाई ध्यान गर्नु पर्ने कुरा पनि थिएन ।
नानीथकुँ उद्वेलित भएर त्यसै झ्यालमा बसि नै रहेकी थिइन्, एकै छिनमा अँध्यारोको धमिलोपना चिर्दै डाक्टर गोदत्त प्रसाद टुप्लुक्क आँखा अगाडि आइ पुगेको नानीथकुँले देखिन् । उनलाई देख्नासाथ नानीथकुँ फाल हालेर तल छिँडीमा दगुरिन् । छिँडीमै गएर डाक्टर गोदत्त प्रसादलाई राम्रो स्वागत भाव देखाउँदै उनले भनिन्– "यस वेला किन हस्याङफस्याङ गर्दै आउनु भएको डाक्टर साहेब ?"
अलि सानो स्वरमा गोदत्त प्रसादले भने– "तिमीलाई बोलाउन आएको आज, त्यसमा पनि अहिले साइत निकै बेस छ रे ! सब बन्दोबस्त ठिकठाक भइ सकेको छ, अर्कै एउटा राम्रो र गुप्त घरमा । त्यहाँ तिमीले कुनै कुराको फिक्री र नमज्जा मान्नु पर्ने छैन । रेडियो लगायतको व्यवस्था मिलाइ सकेको छु ।"
"दाइहरूले सुन्नु होला, अझ अलि सानो स्वरमा बोल्नु होस् । के भन्नु भएको ?" अलि उत्सुकतासाथ नानीथकुँले भनिन् ।
"तिमीलाई बोलाउन आएको; आज तिमीलाई मेरो घरमा स्वागत गर्न लिन आएको नानीथकुँ !" कानैनिर गएर बिस्तारै डाक्टर गोदत्त प्रसादले भने ।
नानीथकुँ एक छिन अकमक्क परिन् । उनी टोलाइन्, गौर गरिन् । अनि एकै छिनपछि डाक्टर गोदत्त प्रसादले फेरि भने– "हिँड, नानीथकुँ ! केही धन्दा मान्नु पर्दैन । निस्फिक्री होऊ ।"
"म आउन्नँ ।" सरल भावमा नानीथकुँले बिस्तारै भनिन् ।
"तिमीले डराउनु पर्दैन नानीथकुँ । केही चिन्ता छैन । तिमी आए पुग्छ ।" विनीत भावमा डाक्टर गोदत्त प्रसादले भने ।
"म आउँदिनँ, डाक्टर साहेब । अब मलाई प्रेम गर्न मन भएन ।"
"बहुलाही । सब ठिकठाक गरि सकेँ भन्छु त ।"
"साँच्चै हो डाक्टर साहेब । अब मलाई प्रेम गर्न मन भएन ।"
"सबसित छुट्टिन परेर मात्र यस्तो भएको होला नानीथकुँ । एक छिनमा यो दिक्दारी मेटिनेछ ।"
"जिद्दी नगर्नोस् डाक्टर साहेब । साँच्चै हो, म आउँदिनँ ।"
"आफ्ना शाखा सम्बन्धीहरू छोड्न खोज्दा योभन्दा पनि अझ बढ्ता दिक्दारी र खिन्नता आउन सक्छ नानीथकुँ । यसको तिमी पर्बाह नगर, एकै छिनमा दिक्दारी हटेर मन रमाउन र रसाउन थाल्छ ।" डाक्टर गोदत्त प्रसादले सम्झाएर भने ।
"म स्वास्नी मान्छेकी कलङ्ङ्किनी हुन चाहन्नँ, म जिन्दगी बेच्न चाहन्नँ । मलाई अब आफ्नो नारीत्वको महत्त्व थाहा भएर आयो । अब म नारीत्व गिराउन चाहन्नँ ।" नानीथकुँले भनिन् ।
"नारीत्वको महत्त्व यो होइन कि नानीथकुँ ! कोही पुरुषसित पनि सम्बन्धै राख्न हुन्न, म त भन्दछु, नारीको नारीत्व नै कोही पुरुषलाई ग्रहण गर्नु हो, भिक्षुणी आदि हुनु त नपुंसक हुनु हो । प्रेम गरि सकेर, यहाँसम्मको बरबन्दोबस्त गराइ सकेर अहिले यस्तो कुरा गर्नु मेरा लागि त सरासर धोकै भयो ।" प्रभावपूर्ण भावमा डाक्टर गोदत्त प्रसादले भने ।
नानीथकुँलाई डाक्टर गोदत्त प्रसाद माथि माया बसि सकेको छ, तर रञ्जना देवीको भनाइ र आफ्ना दाजु शिव नारानको कुरामा नानीथकुँले सत्य देखिन् । त्यसैले नानीथकुँ दुवै प्रबल प्रभावको दोधारमा परी अलमलिइ रहेकी छिन्, वाल्ल परि रहेकी छिन् ।
यही दोमन दोधारको चक्करमा परी नानीथकुँ अकर्मण्य भएर त्यसै जिल्ल र वाल्ल परि रहिन् । नानीथकुँबाट केही जबाफ नपाएर डाक्टर गोदत्त प्रसादले फेरि भने– "जाऔँ हिँड नानीथकुँ। दोमनमा फसेर मौका नगुमाऊ । बाहिर मोटर छोडि आएको छु, जाऔँ ! शुभ साइतले तिमीलाई हाँसेर पर्खि रहेको छ ।" नानीथकुँको पाखुरा तान्दै डाक्टर गोदत्त प्रसादले भने ।
"आजलाई भइगो डाक्टर साहेब ! भोलिपर्सि विचार गरुँला ।" नानीथकुँले नम्रतासाथ भनिन् ।
"प्रेममा विचार गरिन्न, नानीथकुँ । त्यो त आफैँ हुन्छ र ग्रहण गरिन जान्छ, अनि झट्ट त्यसलाई प्राप्त गर्नु नै सुख हो र जीवन हो । विचार त प्रेम त्याग्न खोज्दा पो गर्नु पर्छ कि यसले जीवनलाई अँध्यारोमा त लैजान्न भनेर ?" प्रेमप्लावित भावमा डाक्टर गोदत्त प्रसादले भने ।
"डाक्टर साहेब ! आजलाई माफ गर्नु होला । आज मेरो मन ठीक छैन । बरु गई पनि हाल्नोस्, डाक्टर साहेब ! दाइहरू आउनु भयो भने नचाहिँदो आपत्ति बोक्नु पर्ला ।" यति भन्दै नानीथकुँ सरासर माथि उक्लिन् ।
अझ पनि एक छिन डाक्टर गोदत्त प्रसाद छिँडीमा पर्खि नै रहेका थिए । नानीथकुँले फेरि तुरुन्त ओर्लेर भनिन्– "जानोस् भन्या डाक्टर साहेब ! कान्छा दाजु तल ओर्लनै आँट्नु भएको छ । गइ हाल्नोस्, गइ हाल्नोस् !"
यति भनी नानीथकुँ फेरि माथि उक्लिन् अनि डाक्टर गोदत्त प्रसाद पनि बडो खिन्न भएर फर्के ।
- ↑ जोईपोइ बच्चाच्चीको एकसरो परिवार मात्र (नेवारी शब्द) ।