Ek chihan/25
शिव नारान आज साबिक झैँ समयमा खेतमा गए । आजदेखि उनले नानीथकुँलाई पनि खेतमा लैजान सुरु गरे । रोपाइँ सकिएकाले खेतको सुरक्षाका लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त पनि शिव नारानले गरे । खास गरेर शिव नारानको कोठाको एक परिवार खेतैमा बस्न थाल्यो । नानीथकुँ र पुन नारानकी स्वास्नी, अनि उनका दुई केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्किन्थे ।
शिव नारानकी स्वास्नी हाकुमायाको नीद अलि चर्को छ । सुत्नासाथै उनी घुर्रघुर्र घुरेर सिङ्गै रात खान सक्थिन् । उनी सुतेको ठाउँमा आएर कसैले चाहे बाजा नै बजाओस्, सितिमिति उनी चाल पाउँदैनथिन् ।
आज पनि हाकुमाया निदाउन निदाउन खोजि रहेकी थिइन्, शिव नारानले ठट्टा गर्दै भने– "छिः कति सुत्नु पर्ने मानिस ! एक छिन ठट्टा त गर, तरुनी नै होइन जस्तो ! बत्ती निभाएर अँध्यारो भइ रहेको यो कोठामा आफ्नो दाँत देखाएर उज्यालो त पार । सुतेको हेरेर बस्नुपर्यो भने मलाई शुक्ल पक्षका चन्द्रमालाई कालो कपडाले छोपि राखेको जस्तो लाग्छ ।"
"छिः बुढो भइ सकेर पनि कति ठट्टा गर्नु पर्ने अझ !" मुसुक्क हाँसेर हाकुमायाले भनिन् ।
"तिम्रो यौवनमा खेलि रहेका तिम्रा ती दुवै हाँस्ता आँखा र हिसी परेका परेलाका ती दुवै प्वालहरूले उत्तिकै तान्दै छन्, कहाँ तिमी मलाई बुढो भन्छ्यौ ?" शिव नारानले पनि हाँसेर भने ।
"गालामा चाउरी गन्यो भने यता सात, उता सात गरी घटी नै जम्मा चौध होलान्, अझ आफूलाई तरुनो भनाउन मन छ ? बुढो मानिसले ठट्टा गरेको देख्ता भने मलाई काउकुती लागेर आउँछ ।" ठट्टाको भावमा हाकुमायाले भनिन् ।
"म बुढो लागे अझै अर्को तरुनोसित ठट्टा गरे पनि 'हा !' भन्ने छैन के म ।" ठट्टाकै भावमा शिव नारानले भने ।
"छिः चुप लागेर सुत्नोस्, बार्ह पनि बजि सक्यो होला, अर्कालाई नीद आइ सक्यो ।" अलि नखराउँदै हाकुमायाले भनिन्
"नीद आएको देखेर त 'नसुत, ठट्टा गर' भने कराइ रहेको, नीद नआएको भए ठट्टा पनि त मिठो हुने थिएन ।" शिव नारानले मुस्कुराउँदै भने ।
"छिः सुत्नोस् झट्टै, तपाईंलाई नीद नआए म त सुत्छु, मलाई त आइ सक्यो ज्यादै ।" मुस्कुराउँदै हाकुमायाले भनिन् ।
"एक छिन ख्यालठट्टा गरेर त रमाऊ ! खेत कुर्न आएकी रे, घर त होइन सुतेर बिताउनलाई मेरी हाकु रानी !" ठट्टाको भावमा शिव नारानले भने ।
"ज्यापूकी छोरी ज्यापुनीलाई केको 'रानी' भन्नु पर्छ !"
"त्यसो भए मलाई भन त 'राजा'; मलाई त मन पर्छ ।
"तपाईं झन् ज्यापूको छोरा, त्यस्तै खेत कुरेर, खर्पन बोकेर, कसरी 'राजा' हुन सक्नु होला ? हुनै नसक्ने कुरा । बरु कुनै राजाकी स्वास्नी हुन जान सके म 'रानी' हुन सक्छु ।" ठट्टाको भावमा हाकुमायाले भनिन् ।
यत्तिकैमा खेतमा वस्तुभाउ चरेको आवाज सुनेर शिव नारान हातमा लौरो लिएर कुद्दै गए । रातको वेला हुनाले हाकुमाया पनि शिव नारानको पछि पछि दौडँदै गएकी थिइन् । आफ्नो रगत पसिना दिएर कमाएको खेतमा यसरी गाई चर्न आएको देखेर शिव नारान धुमचक्र रिसाएका थिए । रिसको झोँकमा उनले गाईलाई सार्है नै पिटे ।"
"भइगो, भोलि गाईलाई थानामा बुझाइ दिनु होला । लिलाम भै हाल्छ, यसका धनीलाई पनि सजाय भइ हाल्छ । यो बिचरा पशुलाई के थाहा, उसको त हरियो बिरुवापात खोजी खोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्था साथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनु पर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् ।
बल्ल शिव नारानको रिस मर्यो र ओसारमा पसे । रिस शान्त भइ सकेपछि सुत्नलाई पल्टँदै शिव नारानले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई भने– "आज तिमीसँग ठट्टा गरि रहन नपाएको भए सायद म पनि निदाइ सक्थेँ हुँला, नत्र बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरि रहेको !"
भोलिपल्ट उठ्नासाथ शिव नारानले गाई थानामा बुझाइ दिए ।