Jump to content

Champa/adhyaya 4

From Nepali Proofreaders
अध्याय ४

पर्सिपल्ट बिहानदेखिन् घरमा अलि खलबल मच्चिन लाग्यो— रामकान्त किन घर आएनन् ? साथीभाइहरूकहाँ खबर पठाइयो । कतै कसैको दक्षिणकालीमा जाने कार्यक्रम थिएन । सब जना ताजुबी प्रकट गर्दथे, "के रामकान्त घरमा छैन ?…"

आखिर सुस्तसुस्त यथार्थ कुरा खुल्न गयो । रामकान्त अवश्यमेव भागेर बेतत्ता भएका थिए । चम्पाले पाँचौं दिनका दिन आफूलाई लेखिएको पत्र फेला पारिन्, जसमा तल लेखिएबमोजिमका शब्दहरु भरिएका थिए—

"चम्पा ! मलाई ईश्वरको प्रेरणा यस्तै भयो । म तिमीबाट डराएर भागिरहेछु । तिमी भयानक वस्तु छ्यौ । पहिले त म तिमीमा होमिऊँ भनेजस्तो लाग्दथ्यो तर म बाँच्न चाहन्छु । म मर्न चाहन्नँ । तिमी मेरी मृत्यु हौ । यो पत्र तिम्रो हातमा कुनै दिन जरुर पर्नेछ । पढ्दा तिमी दुःखित हुनेछ्यौ । तर तिमी विचार गर कि मलाई स्त्री विष छ । म अभागी टि.बी.को शिकार छु । निको भएजस्तो मात्र छ । कति जना निको भएर स्त्रीको संसर्गले मरेका छन् । चम्पा ! तिमी मलाई माफ गर । म तिम्रो ज्वाला, पवित्र सुन्दर ज्वालामा होमिएर शीघ्र मर्न चाहन्नँ ।

म जान्दछु म तिम्रो निम्ति अयोग्य छु । सन्तान उत्पादनको लागि मेरो योग्यता खराब योग्यता छ । एक ता मनुष्यजातिमा कमजोर, कीटाणुयुक्त पैदावारी गर्नु, अर्कोतिर आत्मध्वंस, तेस्रोतर्फ तिमीलाई दुःखी बनाउनु । म यी तीनै कामबाट आफूलाई अलग राख्न चाहन्छु । सन्तान भए पनि म तिनलाई रक्षा गर्न बाँचिरहने छैनँ । पालन गर्न सामर्थ्यशील जीवन जिउन सक्नेछैनँ । तिमी एक परी छ्यौ । म तिम्रो लायक थिइनँ । म आफ्नो न्यूनतामा सचेत छु । तिम्रो बैँस ज्वलन्त छ । तिमी एक मोहिनी अवतार छ्यौ तर हाम्रो बिहा हुन जानु एक परम अभाग थियो । हाम्रो भविष्य यस्तो होला भन्ने दुवैतर्फको सपना थिएन । अब हाम्रो दाम्पत्यजीवनको निमित्त झारातिराइ माग्नुभन्दा आत्मवचन या छायाँ, बोक्रो माग्नुभन्दा त्यसको आशा छाड्नु नै मलाई ज्यादा बेस लाग्यो । किन परालको त्यान्द्रोमा झुन्डिनु जब हामी दुबै जान्दछौँ कि यो पिटिक्क चुँडिन्छ ? अफसोस ! हामी ब्रह्माणवर्गमा विवाहविच्छेद छैन ।

म तिम्रो रूपको मनमनको पुजारी थिएँ । जीवन–पुष्प तिम्रो पदमा समर्पण गर्न इच्छा राख्तथेँ । तर अचानक यस्तो पर्न आयो । यो न मेरो दोष हो न तिम्रो । मेरो रोगको शिकार अझ तिमी हुन आयौ । हाम्रो जीवनमा प्रेम शुरु हुनुभन्दा अगाडि मृत्युको आरम्भ भयो । म तिमीजस्तो प्रकृतिले सुसज्जित सुकुमारी उर्वरा बैँसलाई स्पर्श गर्न चाहन्नँ किनकि यो अनैतिक कर्म हो । म तिम्रो आत्मालाई दुःख दिने र धापमा गाड्ने क्रियाबाट पापको डरले पन्सिन्छु ।

म चिरकाल जीवित रहेँ भने पनि तिम्रो रहनेछैनँ ।

मैले तिमीलाई हृदयपटबाट निमिट्यान्न मेट्नको लागि यो विश्वभ्रमणका निम्ति प्रस्थान गरेको हुँ । तिमी नरोए ! तर तिमी व्यक्तित्व हासिल गरेर आफ्नो जीवनको बाटो (समाज र बोक्रे धर्मविरुद्धमा) ठिक गर्ने उपाय सोचे । तिम्रो निमित्त पुरुष म होइन । पुरुष आर्कै कतै जन्मिएको जरुर होला… ।

मैतिदेवी
१ वैशाख १९२६...

तिम्रो कोही पनि नाहीँ
श्री रामकान्त अधिकारी"

यस पत्रलाई पढेर चम्पालाई एक किसिमको अनौठो जिल्म जिल्ला भएजस्तो लाग्यो जस्तो विदेशी मुलुकमा हराएकी अबलालाई लाग्छ । अब उनी बुझ्न सक्तिनथिन् बिहा गरेर दिएको घर आफ्नो थियो कि थिएन ? ती स्वामीदेवले आफूलाई त्याग गरेका थिए ? उनी यहाँ बस्नु उचित थियो कि थिएन ? उनको यसमा अधिकार थियो कि थिएन ? उनलाई एकछिन बेसरी रुन मन लाग्यो आफ्नो लाचारीउपर, आफ्नो कुइरोमय भविष्यउपर । आफ्नो यता न उताउपर । के उनी कसैकी थिइनन् त ? के उनी विश्वद्वारा निन्दित व्यक्त वस्तु थिइन् ?

उनले पत्रका सब कुराहरुको स्पष्ट अर्थ बुझ्न सकिनन् । "शायद रोगी भएकोले स्त्रीसँग फसे मरिन्छ भनेर भाग्या होला, जोगी भा होला अब । एक वचन त बोल्नुपर्थ्यो हामीसँग पनि ?… कसरी छोड्न सक्नु ! कति निठुरी ढुङ्गा हुँदा रहेछन् पुरुष ?" अब उनको सहारा खै ? उनलाई पाल्ने को ? हेर्ने को ? हाँगा काटिएको लहराजस्तो जगत्‌का हावा–आँधीमा उनको के दशा हुने अब ? …, उनी बराबर रुन लागिन् । चौपट्ट चित्त दुख्यो । "यसरी अवहेलित हुनु, आह ! मैले के गरेकी थिएँ र ? के बिराएकी थिएँ र ?" हामी यिनका आँसुको विश्लेषण पूरा तवरले गर्न सक्तैनौँ, तर चम्पालाई निसास्सिएजस्तो लाग्यो । रुन मन लाग्यो । उनले भन्न सकिनन् किन ? यो पत्र अरूलाई देखाउन लायक सम्झिनन् । भागेको पक्का रहेछ अब । "सँन्यासी या जोगी भा होला ! कसले के भन्या थियो र ? कसले छुनु भन्या थियो र ? अनैतिक कर्म भए घरवैरागी हुन कल्ले छेक्या थियो र ?" इत्यादि ।

चम्पाको दयाले उसतर्फ पुरुषको हृदयको महती एकान्त वेदनाको एकरत्ती छेउ पक्रन सक्तैनथ्यो । उनी सम्झिन्थिन् कि स्त्री त्याग गरेर जोगी बन्न गए । उनको हृदयमा कुनै कोमल भाव थिएन । फुस्रा हुनेहरूको त कति पनि हिसी हुँदैन । त्यसै जर्जर्ती परेका, अरिमठे मोराहरू दया भए पो मान्छे ! ती पशुपतिमा नागा भएर धुनी जगाउने मोराहरू पनि त्यस्तै हुँदै हुन् । तिनीहरू पनि त एक–एक सुवासिनी रुवाएर घरबाट निस्क्या होलान् नि... दया हुन्छ र दिलका जोगी भएर मात्र ? … मान्छे त्यसै स्वर्ग जान खोज्दछन् ।

दुवैतर्फ भाले तथा पोथीमा स्वार्थका भावनाहरु प्रधान थिए विशेषतया यसकारणले कि तिनीहरुमा एक बलिवेदीमा आत्मआहुतिमा परस्पर प्रदर्शन गरिने मिठासको अब अवकाश बाँकी थिएन । भालेले तीव्र वेदनाले प्रस्थान गरेको थियो नैतिक तत्वका लागिसमेत । पोथी त्यस प्रस्थानको निन्दा गर्दथी । साथसाथै र आफ्नो निस्सहायता तथा जीवनप्रयोजनको आपूर्तिको चेतनाले दुःखित थिई— हतियार हराएका योद्धाहरूझैं जो सङ्ग्रामका क्षेत्रमा आफ्नो बलियो हातबाट विजयास्त्र चट्ट फुत्केर नभेटिने ठाउँमा उडेर पुगेको पाउँछन् । अस्तु !

चम्पाले अरूहरूलाई पनि आफूले बुझेका कुराको सङ्केत दिइन् । दुई–चार रोज, हप्ता, पक्ष, एक मास खोजतलासमा बिते । अर्को महिना चिठीको प्रतिक्षामा व्यर्थ तीस पङ्खमा उडेर पश्चिम गयो । त्यसपछि केवल निराशाले रामकान्त अधिकारीको मैतिदेवीको घरमा बास गर्न थाल्यो । त्यस सुनौला पिँजराबाट एक बोल्दो, गम्किँदो चिडिया विशाल विश्ववनमा फुका उडान लिएर आक्कासिएर गएको थियो ।

त्यसपछि चम्पाको घरेलु जीवनमा अनेक कठिनाइहरू उपस्थित भए । उनी साराका अगाडि निरस्त्र योद्धाजस्ती भइन् । सबकी हास्यपात्रा हुन्थिन् उनी । सानो कुरामा पनि खिसिक्क हाँसिदिने माहिली ज्येठानी … चुनु ।

"आज शनिश्चरबार होइन ?"

"खूँ… खूँ… खूँ… खूँ !"

"कत्रो खूँ… खूँ… खूँ… खूँ त ? खुनै चुस्लाजस्तो बा हाँसो तिनीहरुको ! अरू पर्‍या देखे खूब दाँत बजाउँछन् । खाडलमा पर्‍या देखे त ब्वाँसो हाँस्या जस्तो हाँसिरहँदा होलान् दिनभरि, कुन्नी ? आइतबार भन्न पनि नहुने !…

सासू पनि मानो पोइलाई निकाल्ने यही हो भनेजस्तो गर्ने घोरमुखा !…

"तँ आएदेखिन् खूब लच्छिन् लागिरहेछ घरमा । मेरो कान्छो छोरालाई रोग लाग्यो तँ आएदेखि । तैँले नै गरेर ऊ घरबाट वैराग्यले निक्ल्यो । राम्रो छ तेरो चालामाला ? कान्छुलाई निकाल्न भित्र पसेकी सेती बिराली । बस ! त्यसका साथ झन् ऊ नै पो रुन थाल्ने, ए !"

"चालामाला ?... कठेनी, पहाडिनीले राम्ररी हाँस्या, खेल्या, चल्या देख्न हुन्छ र ? नाक चलाई रे ! भौँ बङ्ग्याई रे ! त्यस्तो पनि हो ? पनेला चोली लगाउने सासू ता नपरोस् बा कसैलाई ! एकआँठे कपाल बाट्दै थिइन् ल अस्तिसम्म । शुद्ध कठेनी । रेशम लगाएर, सलम लाएर ऐना हेरी रे ! त्यस्तो पनि भन्ने कुरा हो कतै ? कस्तो असभ्य घर छिः ! जिभ्रो ता भो, गाईको के खस्रो होला र ? अघिल्लो जनममा बाघिनी थिइन् कि भालुनी, कुन्नी ?"

सासू–बुहारीको कथा घरेलु दैनिक उपन्यासको रूपमा यथार्थ दर्शन सबले गरेकै छन् । यथार्थको अनुभव नै साहित्यभन्दा राम्रो हुन्छ । यो जुगान्तर चलिआएको वैमनस्य मनोवैज्ञानिकहरूले परीक्षण गर्दा यौनभावको प्रतियोगितामा आखिरी बैठान बसाएका छन् । बिनाछोराकी बुहारी घरकी कसिङ्गर देखिन्छे… विधवा, होस् या सधवा होस् । छोरीको व्यक्तित्वको कब्जा र प्रभावले गर्दा सासूनामक उग्र जलको बाढीलाई किनाराबद्ध गरिदिन्छ; तर सब सासूहरू खहरे भएर गड्कन्छन् त्यस बेला जुन बेला घरमा छोरो हुँदैन । नियन्त्रित सौतेनी… भावना शायद त्यस स्नेहकी अति धनीउपर खत्तिन जान्छ जो बेहतियार अकेली रहन्छे । त्यस बेला देवरानी, ज्येठानीका बलले समेत सासूको सम्राज्यधिकारको दावा पोषण गर्न थाल्दछन् ।

चम्पालाई घर टिकिसक्नुको भएन । "कस्तो घर ! कुरा फाँड्या छन् फाँड्या छन् । कस्ता सुवासिनीमान्छेहरु छिः … एउटा बाजे आँखामा हाले पनि नबिझाउँनेजस्ता नभा भे त भो !"

चम्पाको जीवनस्वप्न, स्वर्णमहल हावामा बेपत्ता थियो । उनलाई एक आशा थिएन, एक भरोस । बैंस गुनकेशरी, लाहुरे, सुनगाभाझैँ फुल्यो । तर केको लागि ? रुन, च्याँट्ठिन, बोक्सी लाग्छ, बुहार्तन खान ।

"जीवन भन्या खै ?" उनले विचार गर्न थालिन्— "खै जीवन ? के छानामनि बास गर्नु चिथरसान् र कोपरसन्‌को नाम जीवन हो ? हामी किन जन्म्यौँ ?" चम्पाले यस वातावरणमा व्यक्तित्वको विकास हुने तत्वहरु अझ प्राम्भरिक तवरले पनि हासिल गर्न पाएकी थिइनन्, बिचरी ! साथी कोही थिएनन् । उनको व्यक्तित्वको चेत गुणको विशेषताको चेत भएको गुण मनुष्यको मूर्तिझैँ आफूउपरका नियन्त्रित अधिकारीवर्गविरुद्ध बागी फटाफटाइ लिन खोन्थ्यो, जो हामीहरू अन्यायपूर्वक तल थिचिएका छौँ भन्ने चैतन्य अन्तरहृदयमा राख्तछन् । यो सहानुभूतिहीन घरेलु जीवन ? बोकाबाख्राहरू साथसाथ राखिँदा मनोरञ्जक सिँगौरी लडाइँ गर्छन् । त्यसमा द्वेषता छैन ?…

चिमट, विष छदाइ, कोट्याइ, हलेदा कोट्याइ, छेड, रुवाइ, खिसीटेप्ली के हामी यत्ति चिजका निमित्त जन्मिएका छौँ त ?

चम्पाको व्यक्तित्वले आफ्नो गृह नामको जेलखानाको बन्द उकुसमुकुसीबाट आत्मविस्तारको क्षेत्र क्रमशः खोजी गर्न लाग्यो उनलाई घर टिकिसक्नु भएन । एक दिन चम्पा कुनै माइतबाट भेट्न आएको मानिससँग कुरा गर्न लागेकी थिइन् । सासूले उनको हँसाइ, चलाइ इत्यादिबाट उनको चालचलनको टीकाटिप्पणी गर्न थालिन् ।

"यो नचिनेकी हो र ! यो बेस्से हुन्छे, बेस्से !"

चम्पाको हृदय विदीर्ण भयो, यति काइदासँग धर्म सम्झ्यो त्यसको लागि जो आफूलाई "तिम्रो कोही होइन" भनेर त्याग गरेर एक वचनबिना विदेशिन्छ । उनले सहेको, भोगेको कसले देख्यो ? यति गर्दागर्दै ज्येठानी छिमेकीहरूका अगाडि बेस्से हुन्छे ! "बेस्से हुन मन लाग्या भए कस्ले छेक्न आउँथ्यो त कसलाई ? कतिका छोरीबुहारी चोखै रहेका छन् संसारमा त ? … गुन गर्‍यो भकुन थापा… कस्तो मुखाले घोरमुखाहरू !…"

घर त्यसको नाम हुँदैन जहाँ आफ्नो मालिक्याइँको सम्भावना न्यूनतम मात्रामा पनि छैन । पारिवारिक जीवनको माने तब शुरु हुन्छ जब बुहारीले मातृत्वको आरम्भ गर्दछे । तर चम्पालाई कुनै किसिमको प्राकृतिक या अरू दावा घर नामको विदेशतर्फ लगाउने अवकाश दिइएको थिएन ।

उनको हृदयले तीव्र वेदनाको स्वरमा उद्गार गर्न लाग्यो । "हाय ! अभागिनी चम्पा ! खै तेरो घर ! यत्रो संसारमा तेरो को छ ?"

चम्पालाई घरतर्फ झन्झन् वैराग्य लाग्दै गयो । उनी बोल्नचाल्नसम्म पनि छाड्दै गइन् । कृष्णको पूजातिर ज्यादा ध्यान दिन्थिन् । उनलाई अरू आश्रय या अरू कुनै पक्रिने हाँगो दिइएको थिएन । यौनभाव परम पूजनीय भए तिनको आदर्श आश्रयस्थान जसलाई हामी कृष्णजी भन्छौँ सब स्त्रीजातिका परमेश्वर तथा स्वर्ग मात्र होइनन् कि सब दबाबमा रहेका अन्तरव्यापारका आच्छन्न प्रकाशनका दिव्य मार्गसमेत छन् । ज्यादाजसो ती स्त्रीहरु श्रीकृष्णतर्फ ज्यादा भक्ति गर्न प्रवृत्त रहन्छन् जसमा सामाजिक या घरेलु घटनाले तथा औद्योगिक कर्मका अभावले, आत्मप्रकाशनको बाटो सबभन्दा साङ्ग्रा रहन्छन् । निरोधक कुलो श्रीकृष्ण चाम्पाका निमित्त दिनदिनै फैलिँदै, भरिँदै जान लागे र तिनका स्रोतमा प्रशस्त जल बहन लाग्यो । त्यसउपर पनि अझ विरोधि समालोचना, भयङ्कर टिप्पणी !

संसारमा मानिसहरूलाई न राक्षस भन्नु न दैत्य । कति असहनशील हुन्छन् तिनीहरू ल । अर्काले गरेको धर्मलाई समेत हँस्सी उडाउन सक्ने यी पापिनीहरू !

श्रीकृष्णको चित्र बडो सुन्दर तवरले सिँगारेर चम्पाले आफ्नो कोठाभित्र सजिसजाएर टेबिलउपर राखेकी थिइन् । दिनदिनै माला गाँस्दथिन् । पोशाक लगाइदिन्थिन् । ज्यूनारको समय हुन्थ्यो, स्नानको, सुकलाको, सुसारको समेत । कल्पनाले ती सब चीज कृष्णको चित्रलाई सजीव बनाएर उनका साथमा सम्बन्धित राख्दथ्थ्यो, जति चीजको अभाव चम्पाको घरेलु जीवनको बैँसालु विकासमा उनी आफैँ भित्रभित्र अनुभव गर्ने गर्थिन् ।

उनलाई कहिले पूरा तवरले विश्वास लाग्दथ्यो कि ती कृष्णजी चित्रबाट सजीव भएर जीवनाकार पुरुषका स्वरूपमा चट्ट टेबिलबाट उर्लेर उनका बगलमा जुनेली रात बिताउन सक्थे । सुन्दरतम मानव, एक आदर्श मानवीय, राजसी मानवीय सब युगका स्त्रीहरूको निमित्त आवश्यकीय पाइनुमा नै धर्मको मुख्य आधार र आश्रय बनेको छ ।

चुम्बन, बन्धन, आत्मसमर्पण, छातीटँसाइ, खुसखुस कुरा गराइ, टहल, शुश्रूषा, स्वामीभावना इत्यादि सब भक्तिमार्गका शाखा पनि हुन् तथा यौनभावमा प्रशाखास्वरुप पनि । यस काल्पनिक नाटकीय दाम्पत्यजीवनमा चम्पालाई ठूलो शौक बढ्दै गयो अरू तवरको सदृश आश्रयको अभावले । यो पनि एक किसिमको व्यभिचार ता जरुर थियो, बुझ्न सक्नेहरूका निमित्त; किनकि सब सभ्य व्यभिचारजस्तो असन्तोषप्रेरित आकाङ्क्षाहरूको पूर्ति यहाँ पाइन्थ्यो । त्यस जीवन या पुरुष धनीबाट जसमा समाज स्त्रीलाई सन्तुष्ट राख्न चाहन्थ्यो । तर यो धर्मसमर्थित व्यापारमा आदर्श पति प्रतिबिम्बताको आडमा पुरुषतर्फ कुनै दुर्भावना गरिएको छ भन्नु फजुल थियो ।

चम्पाको, अरु नेपाली दलित अचेत या अर्द्धचेत या अर्द्धविकसित स्त्रीहरूको झैँ व्यक्तित्व विकासको भर्खर आरम्भ हुने चेष्टासम्म देखिएको थियो । व्यक्तित्व नै संसारको सम्राट् हो, यसको अभाव शून्यता हो । त्यस शून्यतामा जीवनको लवलेश पाइन्न । मनुष्य जब एक चीज हुँ भन्दछ, र अरू चीजसँग लड्न थाल्दछ, ऊ केही न केही बन्न जान्दछ । जब ऊ सब किसिमको चीजमा एकाकार रहन्छ या सब मतको समर्थक रहन्छ, तबसम्म ऊ हावाको निर्जीव परालको रूपमा रहन्छ । महत्वको मात्राको प्रधानता चढ्नु नै विकासको पहिलो सिँढी हो । आज्ञाकारिताको विष्णुसहस्रनाम सबैले लेखेका छन् । तर केवल झुकाई र निहुराइ मात्र विकास हो भन्नु सफेद गलत हो । चम्पाको निमित्त, प्रकृतिका नियमले नै जीवनको सर्वस्वभाविक सब क्रिया र गुणबाट वञ्चित भएर, स्त्रीत्वको निमिट्यान्नमा घरबुहारीको निन्याउरो मैलो आदर्श हुनु सुहाउने कुरो जरुर थिएन । चम्पा मानिस बन्न खोज्दथिन् तर चम्पा डराउँदथिन्, उनमा संस्कारहरू भयङ्कर थिए । पूर्वजन्मका भीषण कीटाणुहरू, पुस्तान पुस्ताका विषाक्त वाष्पहरू क्रियाशील थिए । उनी अझै परिस्थितिकी दासी थिइन् । तर प्रकृतिले उनलाई वर्ड्सवर्थको लुसीलाई झैँ क्रमशः व्यक्तित्व हासिल गर्न सिकाउने आवश्यकीय जीव शिक्षाको पाठशालामा एकदम अगाडि बढाउने चेष्टा गरिरहेकी थिइन् ।

तब यस्तैमा एक दिन उनको सासूसँग घनघोर झगडा पर्‍यो ।

"ए कान्छी !" चम्पाले आधा सुनिन् ।

"अझ सुन्दिन ! भर्खर गुनगुनाइरहेकी थिई !"

"आ" चम्पाले आङ कर्काइन् । रातको एघार बजेको छ ।

"ए चम्पा ! तेरो कान छैन ? अझ बोल्दिनस् अजिर्नी ?"

चम्पा सासूको कोठामा फन्किँदै पसिन् रिसले । बुढियाको पिँडौलामा घिउ घस्नु थियो ।

"आज पिँडौला चौपट्ट करकर खाइरहेछ । घिउ घसिदेन ए !"

"कस्तो घिउ घस्नुपर्‍यो… पहाडीको पिँडौला"

च्वाट्ट सासूले सुनिहालिन् । उनले आफ्नो मनमनै भनेँ भन्ठानेकी थिइन् । बस् ! बज्र चड्क्यो ।

"के भनिस् चोथाले ? च्यात्नुपर्‍यो बेस्सेका गाला ?"

"बेस्से भन्नुपर्दैन आर्कालाई ! हामीले को नाठा खेला छौँ र ?"

"खूब नबेस्से जस्ती छु भन्ठानेकी होली ए शहरिया पाडी !"

"म केको बेस्से त ? उसै जिभ्रो फट्कार्न पाइन्छ त अर्काले नबिराइकन ? सुन्नेले के भन्लान् ?"

"सबले देखिराख्या छन् आँखाले । सबले सुनिराख्या छन् कानले । असल छु भन्ठान्नुभा होला महारानीसाब !"

"कसैका आँखा फुट्या होवैनन्, कसैका कान फुट्या होवैनन् ए, पित्तले कुह्या आँखा मात्र पहेँलो देख्छ सबैतिर ।"

सासूले डाँको छोडिदिइन्—

"लौ बाबा ! मैले सहन सकिनँ नि बाबा ! यस चोथालेको वचन । मेरा आँखा फुट्या छन् रे, मेरा कान फुट्या छन् रे ! मेरा आँखा पित्तले कुहिएर झर्‍या छन् रे ! बाबा ! यो कुन शहरियाकी पाडी आइलागेकी हो नि ! मेरी आमाले यसरी गाली गर्‍या थिइनन् मलाई ! मेरी सौताले यस्तो सराप्या थिइन नि मलाई !"

बस, रडाको चल्यो । आइन् ज्येठी ज्येठानी । आइन् माहिली देवरानी । पसी वसुन्धरी वाइपा । उठे बाजे रमाकान्त अधिकारी ।

"यो केको रडाको हो ए ! मध्यरातमा ?"

तब बेलीवृत्तान्त चले ।

"तैँले सासूसँग त्यसरी मुख लाग्न हुन्छ चोथाले ?"

"मैले केही पनि भन्या छैन । पहाडीयाका छोरी त कस्तो अजमाउन जान्ने हुँदा रान् !"

चम्पाले "रान्" शब्दमा यति नराम्रो तिखो जोड दिइन् कि सासूको ब्रह्माण्ड झन् अखण्ड जल्यो । घरदेखि जब स्त्रीका अधिकारबाट वञ्चित भएको, ज्वलित, दलित चम्पालाई झनक्क रिस उठेको बेलामा आँखा देख्न मुश्किल भयो । उनको व्यक्तित्वले मोचनको बाटो खोजिरहेको थियो । उनको जिभ्रो आज अरू समयभन्दा ज्यादा तिखो तथा कस्टिक थियो ।

सासू झन्झन् डाँको छोड्न लागिन्, त्यससँग एक छानामनि बास गर्न किमार्थ सक्तिनथिन् रे ! पूर्वजन्मकी सौता बदला लिन बुहारी आएकी रे ! पण्डितजीले सबै सासूबुहारीलाई बेस्सरी हप्काए, बुहारी मुर्मरिँदै आफ्नो कोठाभित्र पसिन् ।

तब आए खिसीटेप्लीका स्वरहरू ! "बाघिनी, बाघिनी… कस्तो भुस्याहा कुक्कुर हुँदा रहेछन् बा ! नेपालमा कसाहीटोलमा मासु खुवाएर पालेको त दी !"

"कल्लाई भन्या ?… खूँ… खूँ… खूँ… खूँ… खिर… खिर ।"

"कसैलाई पनि होइन, साँच्चिकै बाबै ! अस्ति बज्यै र म जाँदा झम्टेर कस्तो । ठिक्क ! कोही कोही मान्छेजस्तो । खिर… खिर… खिर… खिर… ।"

एक कानदेखि आर्को कानसम्म हाँस्दा मुख च्यातिने गँड्याही वसुन्धरी फलाक्न थाली ।

"छिः आजकलका बुहारी ता भो । …सासुको ता चेक्टा पो लुछ्ने रै छ । कस्तो जिभ्रो ए ! कस्तो लाग्ने छुराजस्तो !"

"गँड्याहीसमेत आइलागेकी बाबा ! म पनि सक्तिनँ यस्तो घरमा दिनरातको रडाको !" चम्पा मुर्मुरिन लागिन् भन्भन् ।

त्यसपछि सब आफ्नो कोठातिर लागे । वसुन्धरीले मात्र सुइँक्क गर्दै सासूको पिँडौलामा घिउ घस्न लागेको आवाज सुनिन्थ्यो— कठबारले छेकेको पल्लो कोठाबाट ।

झगडा एक प्रकाशन हो । यो रोग होइन । रोगको लक्षण मात्र हो । झगडाको पूर्वरूप जो मनको वैमनस्य हुन्छ त्यही वास्तविक रूपको गन्दा खराबी हो । जस्तो लडाइँ खराब होइन केवल राष्ट्रको वैमनस्यको र प्रतियोगिताको फुटान मात्र हो ।

"अच्छा ! म पनि यस छानामुनि घोरमुखासँग एकै घरमा बस्दिनँ रे ! बस्छु कहाँ त ? …"

त्यो थियो साँच्चिकैको समस्या माइतमा त !

घरफाला बुहारीको माइत भाउज्यू–बुहारी नामका दन्तदार, आँखादार दुम्सीहरूको काँडो फेँकाइको झन् विष्टे खेर हुन्छ ।

जे भए पनि उनलाई बरु माइतै बेस हुने थियो । दुई चार महिना त हेरून् । नभए भान्से लाग्ने थिइन् दरबारमा, कतै । कतै भएन भने देखाजायगा । यत्रो संसारमा एक ठाउँ कसो न कसो नमिल्ला ? घमण्डी भ्रष्टसाधु, क्रोधिनी, दलित, ज्वलित चम्पाले त्यो रातभर नसुतिकन पोकापन्तरा ठिक पारिन् । भोलिपल्ट झिसमिस हुँदा कसैलाई थाहा नदिईकन नोकर्नी वसुन्धरीकी छोरी पानमतीसँग बाग्मतीपारि माइतीको बाटो रमाना भइन् ।