Buddhibinodko pahila binod/buddhibinodko pahila binod
कहाँ थियो वास ? तँ को ? म को थियें ?
प्रपञ्च के हो ? किन देह यो लियें ?
कहाँ छ जानू ? कुन साथ ली कन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१
बिसाइ कुंलो विषयाभिलाषको
विवेक गर्दा उस दिव्य वासको ॥
चमक्क चंक्यो बिजुली विलक्षण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२
मुसाफिरी सामल सल्ल पोखियो
उठाउने होस हवास रोकियो ॥
म हेर्न थालें असरल्ल भैकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३
सफा सुरीलो स्वर-माधुरी भरी
घनक्क घन्क्यो फिर दिव्य बाँशुरी ॥
हुँदै-गयो भित्र अपूर्व रञ्जन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥|
४
गल्यो पलामा अभिमानको मल
खुल्यो अनौठा-सित कान कोमल ॥
विचार लाग्यो स्वरमा रमाउन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५
मिले सबै इन्द्रिय टप्प कानमा
विलीन भो कान अखण्ड तानमा ॥
प्रफुल्ल भो जर्जर जीर्ण जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
६
जती मिहीं त्यो स्वर-माधुरी सुनें
उती उसैमा लबलीन झैं बनें ॥
रहेछ त्यस्तो कुन मोहनीपन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७
विशाल बंशी-स्वर-रूप सिन्धुमा
डुबेर जाँदा हरएक बिन्दुमा ॥
मिल्यो मलाई रसिलो रसायन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८
उपाधि सारा उसले हरी-दियो
नवीन आनन्द-सुधा भरी-दियो ॥
अपूर्व लाग्यो सव पूर्व जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९
अपूर्व उल्लास, अपूर्व साहस,
अपूर्व त्यो शान्ति, अपूर्वता-वश ॥
तुरुन्त थालें उसमा म पौडन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१०
अपूर्व भावोदयमा रमाउँदै
पवित्र बंशी स्वर त्यो समाउँदै ॥
डुबें म भित्री तहमा अली छिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
११
कहाँ-कहाँबाट कठै !! तहाँ पनी
घुसेर काली कलना-पिशाचिनी ॥
मलाइ थाली फिर कुत्कुत्याउन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१२
पवित्र यस्तो स्वर-सिन्धुको धनी
कहाँ छ बंशीधर धन्य त्यो भनी ॥
म फेरि थालें सहसा तरङ्गिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१३
न झट्ट बंशीधर टक्क भेटियो
न भेटको चाह चटक्क मेटियो ॥
विचार लाग्यो बिचमा बरालिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१४
"नजा, नजा, जङ्गलमा नजा, नजा,
म भित्र छू, वाहिर छैन क्यै मजा" ॥
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१५
पवित्र संकेत सुनेर त्यो सब
मलाइ लाग्यो बहुतै मुनासिब ॥
परन्तु तैंले गरिनस् विवेचन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१६
मजा तँलाई वनतर्फ दौडँदा
मलाई बंशी-स्वरभित्र पौडँदा ॥
बिभिन्न उल्टो पथ यो भयो किन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१७
यता त फर्की अगुवा म बन्दछू
अशान्तिका द्वार सबै म थुन्दछू ॥
हतारिदै व्यर्थ भतारिने किन !
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१८
अघी तँलाई अगुवा गरी भुली
प्रपञ्चका जङ्गलमा डुली डुली ॥
विपत्ति भोगें जुन त्यो म भुल्दिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१९
चपाइ काचा कचिला तिता फल
मचाउँदै व्यर्थ कडा कचिङ्गल ॥
अघी पनि जन्म विते कडोरन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२०
अरण्य त्यो बाहिर मात्र रम्य छ
फसे पछी भित्र बडो अगम्य छ ॥
बिपत्ति पर्छन् त्यसमा हजारन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२१
कतै सदा कण्टक-जन्य सङ्कट
कतै लता-वेष्टित झोज झङ्कट ॥
जता दियो दृष्टि उतै त बन्धन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२२
विषालु विच्छीहरू छन् कतै खडा
कतै अरिङ्गालहरू बडा बडा ॥
सबै खनिन्छन् शिरमा प्रतिक्षण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२३
कतै हजारौँ कमिला र बारुला
कराल बछ्यूँहरू छन् कतै ठुला ॥
सधैँ छ चारैतिर चश्चसेपन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२४
कतै कडा, बाघ बनेल, भालु छन्
कतै खडा सर्प बडा विषालु छन् ॥
असाध्य गाह्रो छ बचेर निस्कन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२५
कठै ! कतै च्वात्त गरी चुचो धसी
लुछेर मासू रुखमा वसी वसी ॥
रमाउछन् गिद्ध र काग भीषण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२६
चुहाउँदै राल शृगाल हेर्दछन्
घुमेर ब्वाँसा भरिशक्य घेर्दछन् ॥
कतै कसैबाट शकिन्न उंकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२७
मशान दुर्गन्धि कतै भयङ्कर
कतै खडा प्रेत पिशाचको डर ॥
कतै चिता जल्दछ घोर दन्दन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२८
बनेर त्यस्तो बनतर्फ लम्पट
पटक्क बिर्सी परिणाम सङ्कट ॥
छटाउने मोह-कटाहमा किन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२९
विशाल तृष्णामय दीर्घ जाल छ
स्वयं मिकारी बिकराल काल छ ॥
फसे पछी फेरि शकिन्न फुत्कन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३०
नयाँ-नयाँ भेष लिदै बिसाउँदै
घडी बडो दङ्ग हुँदै घडी रुँदै ॥
अघी कती कल्प बिते घुमीकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३१
सचेत यस्तो नरभेषमा पनि
अचेत पेटू पशु झैं बनी बनी ॥
रमाउने त्यो वनमा कठै !! किन !
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३२
परेर कस्तो कसको दबावमा !
झरिस यस्ता प्रतिकूल भावमा ॥
भयेन केही यसको विवेचन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३३
अचार आफू अविचार-रोगको
विचार गर्ने अझ भाग्य-भोगको ॥
परेछ उल्टो कुन मोह-बन्धन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३४
कसेर काला पशुपाश अङ्गमा
लिंदै डुबुल्की तमका तरङ्गमा ॥
भरङ्गमा रङ्ग मनाउने कुन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३५
प्रपञ्चको दुस्तर कर्मचक्रमा
फसेर गर्दा गहिरो परिक्रमा ॥
छिया छिया हुन्छ अवश्य जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३६
बढेर आयो भय मेघको घटा
फुका फिंजार्यो तमले पनी लटा ॥
म देख्न छाडें रसिलो प्रभाकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३७
न साथमा उज्ज्वल दिव्य दीप छ
न वास बस्ती बिचमा समीप छ ॥
हुँदो छ सम्पूर्ण भबिष्य भीषण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३८
अहो !! खुला द्वार समान नर्कको
परेछ कालो भुमरी बितर्कको ॥
रनक्क लाग्यो फिर कान रन्कन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३९
"न जा, नजा दुस्तर भासमा न जा,
म भित्र छू, बाहिर छैन क्यै मजा" ॥
भनेर बंशी बजदो छ पावन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४०
प्रपञ्च हो भास, कुवासना हिलो,
तँ त्यो हिलामाथि ठुलो तिखो किलो ॥
बिलम्ब होला अब के बिलाउन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४१
कुल, प्रतिष्ठा, गुण, मान, गौरव
ठुलो प्रपञ्चाऽऽत्मक भास हो सब ॥
शकिन्न सोझै यसबाट उत्रन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४२
शिला गलामा अभिमानको कसी
खुसी हुँदै दुस्तर भासमा फसी ॥
हिलो हुँडल्ने अब फेरि के लिन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४३
टिपेर सम्पत्ति-सरोजको फुल
शिंगारिने साहस हो ठुलो भुल ॥
धसिन्छ तेही भुलबाट जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४४
बनी विबेकी भुमरो-बराबर
सुँघेर सम्पत्ति-सरोज सुन्दर ॥
सरक्क माथी न बतासिने किन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४५
प्रसून सम्पत्ति-सरोजको टिपी
टपक्क लिन्छू म भनी लिंडे-ढिपी ॥
गरेर गिर्छन् छिनमा कडोरन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४६
छँदैछ त्यो लाखन जन्मको हिलो
जरूर होला तन त्यो थिलो थिलो ॥
उँधो उँधो फेरि तँ भासिने किन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४७
गंभीर त्यो दल्दलबाट सुस्तरी
कदं उठाएर न भासिने गरी ॥
किनारमा लाउनुपर्छ जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४८
जती गर्यो दल्दल माथि चल्बल
पुगिन्छ उत्ती पलमा रसातल ॥
बिनाशको चिह्न छ चल्बले-पन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४९
अघी कति दल्दलभित्र खेलिथिस् ?
रुँदै कती ब्याकुलता उकेलिथिस् ?
तँ फेरि थालिस् किन सल्सलाउन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५०
विवेक-गङ्गाजलको नगीचमा
प्रबाह हामी दुइको छ बीचमा ॥
वहाँ नुहा, सार्थ हुनेछ जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५१
पवित्र गङ्गाजलमा बुडे पछी
कुवासना पङ्क सबै उडे पछी
नभासिने भीति न भास भीषण,
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५२
तँलाई छोडी न त टिक्न शक्तछू
न भासमा भासिनमा म रक्त छू ॥
तसर्थ गर्छू उपदेश पावन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५३
अहो ! अहो !! फेरि पनी भयो भुल
बनेछ बाङ्गो भुलकै धुले पुल ॥
असाध्य गाह्रो छ कठै !! सम्हालिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५४
"नजा, नजा त्यो जडवादमा नजा,
म भित्र छू बाहिर छैन क्यै मजा" ॥
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५५
सुनेर यस्तो म भयें गुटूमुटू
परन्तु चस्क्यो फिर चश्चसी मुटू ॥
खुल्यो तुरुन्तै भय-भीत लोचन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५६
विशाल उत्ताल-तरङ्ग सागर
झलक्क देखें गहिरी भयङ्कर ॥
शरीर थाल्यो सब थर्थराउन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५७
न साँध-सीमा न त वार पार छ
गंभीरताको न कुनै किनार छ ॥
मडारिएको समतुल्ल भैकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५८
अमर्त्य-गङ्गातिर बाहुली सरी
उठाउँदै दीर्घ तरङ्ग-माधुरी ॥
गरी-रहेको प्रणयाऽऽवलोकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५९
बडा बडा भैरबका मुखै सरी
कराल काला भुमरीहरू परी ॥
घुमी रहेका दिन रात फन्फन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
६०
पहाड जत्रा अति उग्र चालका
अनन्त छल्का छतल्याङ्ग छालका ॥
छचल्किएका उसमा प्रतिक्षण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
६१
विरोध झैं दुर्जनमा तिखा तिखा
अतर्क्य लाखौं वडवाऽग्निका शिखा ॥
बली रहेका उस भित्र दन्दन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
६२
कतै कडा ग्राह-भुजङ्गको बल
कतै खडा दङ्गलमा तिमिङ्गल ॥
असङ्ख्य देखें जल-जन्तु भीषण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
६३
यता महासिन्धु महा भयावह
असाध्य नीलो नभको उता दह ॥
थियेन आधार, गुहार, सान्त्वन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
६४
कठै !! म सानू तृण झै बतासमा
भयें विपत्ता बिचरो अत्यासमा ॥
शकिन्न त्यो दुःख सबै बताउन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
६५
कतै लडें, फूत्त कतै उचालियें
कतै गडें, हूत्त कतै म फालियें ॥
कतै म घुप्लुक्क भयें, अतालियें
कताकताबाट कतै पतालियें ! ॥
६६
उठेर ठाडै म कतै बतासियें
कतै गला बन्द भयो निसासियें ॥
कतै गरें घोर तरङ्ग लङ्घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
६७
कहाँ थियो वास ? कठै !! कहाँ झरें ?
कसो हुँदा भीषण सिन्धुमा परें ?
भनी म लागें फिर वास संझन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
६८
"नजा, नजा, त्यो परिपञ्चमा नजा,
म भित्र छू बाहिर छैन क्यै मजा" ॥
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
६९
सुनेर यस्तो म फरक्क फर्कंदा
कुतर्कको तार मरक्क मर्कंदा ॥
झलक्क झल्क्यो चटकी अगंपन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७०
दुरन्त त्यो भास दुरन्त जङ्गल
दुरन्त त्यो सागर दुःख सङ्कुल ॥
गडेर हेर्दा तँ सिवाय देखिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७१
विचारको तार चढ्यो जती जती
मलाइ आश्चर्य बढ्यो उती उती ॥
न शक्तछू तर्कन वा न फर्कन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७२
अखण्ड त्यो वास कहाँ महोज्ज्वल !
कहाँ भली-भण्ड समुद्र यो तल ॥
भयेछ कस्तो कुन उग्र भर्मन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७३
प्रकाशको केन्द्र महेन्द्र धामको
प्रणम्य, वासस्थल रम्य रामको ॥
स्वरूप-सिंहासन त्यो म भुल्दिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७४
वहाँ न गाढा 'त म' को कुनै तम,
न मोह माया न विरोध विभ्रम ॥
न आश या त्रास, न भास, भर्मन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७५
न भेद विच्छेद न खेदको गति,
न दीर्घ सङ्कल्प विकल्प पद्धति ॥
न रूप, रेखा, न त राग, रञ्जन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७६
न कामको ठाम न नाम भेषको
न दाग देखिन्छ, दिशा र देशको ॥
अनन्य त्यो धन्य छ धाम पावन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७७
न भोग जञ्जाल, न जाल कालको
न शोग सुर्ता अरू गोलमालको ॥
न मृत्यु-बाधा छ न पर्छ जन्मन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७८
न खास त्यो सूक्ष्म, न वा महत्तर
न विश्वको भित्र, न विश्व बाहिर ॥
बुझिन्न सोझै उसको अगंपन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७९
अनन्त तारा, ग्रह, सूर्य, चन्द्रमा
बनी उज्याला जसका प्रकाशमा ॥
घुमी रहेछन् अणु तुल्य भैकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८०
प्रपञ्चभन्दा फरकै भए पनि
प्रपञ्चको जीवनभित्र जीवनी ॥
भरी रहेको छ बडो विलक्षण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८१
जती बढायो उस धाममा गम
उती सदा त्यो गमको छ दुर्गम ॥
हुँदैन कत्ती पनि चल्बलाउन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८२
झलक्क झल्को जसको जती जती
म पाउँछू, मुग्ध बनी उती उती ॥
खिंचिन्छ सोझै उसतर्फ जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८३
अभाव हो वा अविकारि भाव हो,
स्वभाव, यद्वा विभुको प्रभाव हो ॥
गरूँ म कस्तो कसरी निरूपण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८४
फलाम झैं चुम्बकले निरन्तर
खिंचेर भित्री तहको सबै सुर ॥
लिंदो छ मेरो उसले प्रतिक्षण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८५
'कहाँ थियो वास ?' भनी अली गडी
विचार गर्दा बिचमा घडी घडी ॥
झुपूझुपू बन्द भयेछ लोचन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८६
"नजा, नजा, दुर्गम भावमा नजा,
मजा बुझी सात्विक शङ्ख यो बजा" ॥
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८७
टुलुक्क हेर्दा बिउँझेर बीचमा
तँलाई मेरो बहुतै नगीचमा ॥
झलक्क देखें निमुखो अकिञ्चन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८८
मलाइ बंशी-स्वरले जगाउँदा
थुपुक्क मेरा तहमा तँ आउँदा ॥
पलट्ट पल्ट्यो अघिको विवेचन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८९
बनी चनाखा, उस दिव्य वासमा
दिएर आँखा रसिलो प्रकाशमा ॥
विनोद गर्दा भव-भीति देखिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९०
विवेक बंशी-स्वरको गरे पछि
मिठो अनासक्ति सुधा झरे पछी ॥
न रोग बाधा छ, न भोग भर्मन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९१
स्वरूप त्यो किन्तु सफा जहाँतक
झलक्क झल्कन्न पुरा वहाँतक ॥
न छुट्छ आसक्ति न फन्फनेपन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९२
लिएर आसक्ति भएर निर्घिनी
महेन्द्र-सिंहासनमा गए पनी ॥
उही छ औडाह उही छ भर्मन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९३
तसर्थ मेरा स्थिर दृष्टिकोणमा
पसी अनासक्ति सफा गरी जमा ॥
हुनेछ साह्रै झलमल्ल जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९४
न पूर्ण आसक्ति भलो छ वास्तव
न पूर्ण कैवल्य तुरुन्त संभव !
अलिप्त गुप्ती हुनुपर्छ लोचन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९५
लिई सदा शीतल योग-चातुरी
गराउँदा इन्द्रियलाइ नोकरी ॥
विपत्तिको हुन्छ पुरा विसर्जन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९६
न शक्ति मेरो छ तँबाट छुट्टिने
न शक्ति तेरो म बिना उछिट्टिने ॥
प्रवृत्तिमा फेरि विभिन्नता किन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९७
वहाँ म हूला तँ बिना पनी थत
विनाश तेरो म बिना छ निश्चित ॥
तसर्थ चाहन्न म झट्ट छोडन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९८
तँ नाशिने विश्व-विनोद मासिने
म खास मैमा तँ बिना निसासिने ॥
लिनू छ के लाभ विभिन्न भैकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९९
उसै, तँ छोडीकन छोडिने भये
तँलाइ छोडी सुख जोडिने भये ॥
स्वयं विधातातक भुल्दथे किन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१००
अगाध चैतन्य समुद्रमा सदा
अनन्त यस्ता लहरी जुदा, जुदा ॥
अटूट चल्छन् तर छैन कम्पन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१०१
तँ काखमा आ, म मिलाउँछू मुख
पिलाउँछू दिव्य अपूर्व चित्सुख ॥
यहाँ छ आनन्द अनन्त पावन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१०२
मन–
म काखमा छू, म मिलाउँछू मुख
पिलाउ लौ दिव्य अपूर्व चित्सुख ॥
परन्तु यो याद गरे निवेदन
सहन्न मूर्छा कहिले पनी मन ॥
१०३