Bhanubhaktako ramayan/shrisundarakanda
तर्छू क्षार समुद्र आज सहजै भन्न्या इरादा धरी ।
श्रीराम्का चरणारविन्द मनले अत्यन्त चिन्तन् गरी ॥
भन्छन् विर्हरुलाइ ताहिं हनुमान् हे वीर हो पार् तरी ।
सीताजी कन भेट्दछू म अहिले जान्छू बडो वेग् धरी ॥१॥
पापी जन् पनि रामका स्मरणले संसार पार् तर्छ ता ।
राम्कै काम निमित्त औंठि सँगली जान्छू दुतै हूँ म ता ॥
क्या डर् क्षार समुद्र तर्न सहजै पौंचन्छु लङ्का भनी ।
चारै पाउ जमिन् विषे धसि कुद्या हेर्दै तमासा पनि ॥२॥
दक्षिण् तरफ् मुख गरी कन कुद्न बस्ता ।
ऊपर् नजर दि अघिका दुइ पाउ धस्ता ॥
सोझो गराइ कन घाँटि कुद्या जसै ता ।
वायू सरी हुन गया हनुमान् तसै ता ॥३॥
आकाश्मार्ग गरी कुदेर हनुमान् उड्थ्या ति आकाशमा ।
सीताजी कन भेटि फर्कि कन फेर् राम्चन्द्रका पासमा ॥
पुग्न्या अक्कल बल् छ छैन इनको बूझौं सबै बल् भनी ।
इन्द्रादीहरुले खटाइ सुरसा जल्दी पठाया पनी ॥४॥
जल्दी गै सुरसा अघिल्तिर बसिन् साम्ने हनूमानका ।
क्या भन्छन् हनुमान् भनेर खुसि भै कूरा गरिन् खानका ॥
भोकी धेर् दिनकी म खोजि हिंडथ्याँ क्या खाँ अहारा भनी ।
पायाँ बल्ल यहाँ मिल्यौ तिमि त एक् साह्रै भयाँ खुस् पनी ॥५॥
आऊ लौ पस मूखमा भनि तसै बोल्या हनुमान् तसै ।
भन्छन् आज सिता न भेटि कन ता पस्तीन मुख्मा कसै ॥
सीता भेटि म फर्कुला र रघुनाथ्ज्यूका हजुर्मा गई ।
विस्तार् बिन्ति गरेर आइ पसुँला तिम्रो अहारा भई ॥६॥
यस्ता बात् सुनि भन्दछिन् ति सुरसा मेरा मुखैमा पसी ।
निस्की जाउ नहीं भन्या म बलले पक्रेर दाह्रा धसी ॥
मार्छू येति भनिन् र लौ तब यहाँ मुख बाउ चाँडो भनी ।
चार् कोस्को त शरीर् गरी कन बस्या आफू हनूमान् पनी ॥७॥
चार् कोस्का हनुमान देखि सुरसा बिस् कोसको मुख् गरिन् ।
चालिस् कोस् हनुमान् भया र असि कोस् मुख् फेरि जल्दी धरिन् ॥
जल्दी फेर् हनुमानले छबिस कोस्को रुप् गराई बस्या ।
फेर् दूई सय कोस् मुखै जब गरिन् अँगुष्ठ झैं भै पस्या ॥८॥
निस्क्या जल्दि र भन्दछन् ति हनुमान् हे देवि मुख्मा पसी ।
निस्क्याँ जान्छु म ता अवश्य अब ता बन्दैन काम् ता बसी ॥
अक्कल् बल् सितका वचन् जब सुनिन् यस्ता हनूमानका ।
आफ्नू सत्य कुरो तसै सब कहिन् छाडिन् कुरा खानका ॥९॥
सक्छौ काम् तिमि साधि आउ हनुमन् यो बल् छ तिम्रो भनी ।
चीह्न्याँ भन्छु म इन्द्रका हजुरमा तिम्रो पराक्रम् पनी ॥
बल् बुझ्नै भनि इन्द्रका हुकुमले आया कि ता हूँ भनी ।
खुस् भै स्वर्ग विषे गइन् ति सुरसा कूद्या हनूमान् पनी ॥१०॥
जस्ले सागर नाम् धर्या म कन सो राजा सगर् जो गया ।
तिन्का वंश महाँ विभूषणसरी श्रीराम राजा भया ॥
तिन्का काम निमित्त आज हनुमान् जान्छन् इ लङ्का महाँ ।
मैनाक् पर्वत् निस्क जाउ तिमि गै विश्रामू गराऊ तहाँ ॥११॥
थाक्या हुन् हनुमान् बिसाइ फल फुल् खाउन् र जाउन् भनी ।
भन्दा सागरका वचन् सुनि तहाँ निस्क्या ति मैनाक् पनी ॥
आर्को एक मनुष्यको स्वरुप ली हात् जोरि बिन्ती गर्या ।
आई फल्फुल खाइ जाउ हनुमन् भन्दै अगाडी सर्या ॥१२॥
आज्ञा सागरको हुँदा चरणमा आयाँ म ऐल्हे भनी ।
मैनाक्ले यति बिन्ति बात् जब गर्या बोल्या हनूमान् पनी ॥
राम्को काम् न गरी बसेर कसरी खान्छू म जान्छू यसै ।
हात्ले छुन्छु म लौ भनेर खुसि भै छोयेर कूद्या तसै ॥१३॥
केही दुर् हनुमान् पुग्या पछि तहाँ एक् सिंहिका राक्षसी ।
छाया पक्रि उ जन्तु खैंचि बलले खान्थी जलैमा बसी ॥
छाया पक्रि उ तान्न लागि हनुमान्ज्यूको गती बन्द भो ।
कस्ले बन्द गर्यो गती भनि दिशा दस्मा तसै दृष्टि गो ॥१४॥
देख्या तल्तिर दृष्टि दी कन तहाँ जस्सै नजर्मा परी ।
एकै चोट् दुइ लात् दिया र सहजै घुस्रुक्क ताहीं मरी ॥
ताहाँ देखि कुदी गया र हनुमान् पौंच्या जसै तीरमा ।
लङ्कापूरि तहाँ त्रिकूट गिरिका देख्या उपर् सीरमा ॥१५॥
वरि परि तहिं तीरैमा पनी वृक्ष फल् फुल् ।
भरि छ जउन वन्मा गर्दछन् पक्षिले गुल् ॥
भ्रमरहरु लताका फूलमा हल्लि हल्ली ॥
घुनुनु घुनुनु गर्दै हिंद्दछन् बल्लि बल्ली ॥१६॥
नजर वरि परीको जो छ शोभा नजर् भो ।
त्रिकुट गिरि उपर्का पूरिमा फेर् नजर् गो ॥
वरि परि परखाल् छन् बीच बिच्मा छ खावा ।
सहज त अरुले ता गर्न को सक्छ दावा ॥१७॥
अति तखत पर्याको खुप् अगम् देखि लङ्का ।
यहि घडि पसि जाँकी राति जाँ येति शङ्का ॥
गरि कन ठहराया याहिं बस्छू र राती ।
सहज सित म जाँला जान ता राति जाती ॥१८॥
तहिं बसि यति गम्ले बाँकि दिन् सब् बिताई ।
दिन बिति जब रात् भो जान पाऊ चलाई ॥
स्वरुप पनि ति सानू ली पस्याथ्या जसै ता ।
दगुरि नजिक आइन् लङ्किनी पो तसै ता ॥१९॥
को हो आज मलाइ केहि न गनी यो भित्र जान्या भनी ।
चोरै हो भनि लात् उठाइ रिसले एक् चोट् त हानिन् पनी ॥
जल्दी वाम मुठी उठाइ सहजै ठोक्ता जमिन्मा परिन् ।
छाद्दै ताहिं रगत् गिराइ झटपट् ऊठेर बिन्ती गरिन् ॥२०॥
लङ्कापूरि त हुन् ति राक्षसि भई बस्थिन् सदा द्वारमा ।
जानिन् श्रीहनुमान् भनेर जब चोट् पाइन् चलिन् सारमा ॥
लङ्कीनी हुँ मलाइ ता जिति गियौ यस्ले सक्यो राज् गरी ।
रावण्को त मरण् हुन्या बखत भो आयो मरण्को घरी ॥२१॥
ब्रह्माजी अघि भन्दथ्या प्रभुजिको हून्या छ रामावतार् ।
हर्ला रावणले सिता र रघुनाथ् सुग्रीव थ्यैं मित्रचार् ॥
गर्नन् सुग्रिवले पनी दसदिशा सीताजिको खोज् खबर् ।
गर्नालाइ पठाउनन् विरहरू छानेर खुप् खुप् जबर् ॥२२॥
तिन्मा एक् विर आउला र तिमिले लात् मारि द्यौली जसै ।
हान्ला वाम मुठी उठाइ रगतै छाद्दै गिरौली तसै ॥
रावण्को तहिं सम्म आयु छ भनी भन्थ्या र सो बात् सुनी ।
ब्रह्माको वचनै प्रमाण् गरि भन्याँ त्यो मर्छ रावण् पनी ॥२३॥
जाऊ भेट सिताजिलाइ ति अगम् भीत्री बघैंचा महाँ ।
अश्शोक्का वनमा छ वृक्ष बढिया एक् शिंशपाको तहाँ ॥
ताहीं छन् प्रभुकी प्रिया वरि परी छन् राक्षसीगण् पनी ।
भेटी गै रघुनाथ थ्यैं भन तिमी यस्ता विपत् छन् भनी ॥२४॥
धन्यै भयाँ म अहिले प्रभुको स्मरण् भो ।
संसारको भय छ जो उ त आज दुर् भो ॥
जस्तो मिल्यो म कन सङ्ग र भक्ति ऐल्हे ।
यस्तै रहोस् यहि म पाउँ न बिर्सु कैल्हे ॥२५॥
जस्सै श्रीहनुमान् पुग्या सहजमा लङ्का समुद्रै तरी ।
तस्सै जानकिको फुर्यो नजर वाम् हातै समेत् खुप् गरी ॥
रावण्को पनि वाम हात् नजर वाम् फूर्यो रघूनाथको ।
दक्षिण् अङ्ग फुर्यो तसै बखतमा खुस् मन् भयो नाथको ॥२६॥
सानू रूप लिई पसी सब सहर् हेर्दै विचार् खुप् गरी ।
रावण्को दरबार् विशेष् गरि ढुँड्या चोटा र कोठा गरी ॥
पायानन् र कता म जाँ भनि तहाँ मन्मा विचार् भो जसै ।
सम्झ्या लङ्किनिका वचन् र ति गया अश्शोक वन्मा तसै ॥२७॥
जो जो वृक्ष त इन्द्रका नगरिमा सो सो त सब् छन् तहीं ।
रत्नैका सिंढि साफ् असल् जल पनी यस्ता तलाऊ कहीं ॥
फल्फूल्ले अति भार् भयेर रुखका सब्का ति हाँगा पनी ।
लच्क्याका भ्रमरा र पंछि बहुतै रुख्मा बस्याका पनी ॥२८॥
बिच् बिच्मा सुनका हबेलि पनि छन् उच्चा मणीको छ थाम् ।
जस्मा छन् कति गर्नु वर्णन जहाँ हेर्यो तहाँ पक्कि काम् ॥
यस्तो सुन्दर वन् नजर् गरि सबै डुल्दै हनूमान् गया ।
देख्या सुन्दर शिंशपा र खुसि भै ताहीं ति दाखिल् भया ॥२९॥
अधिक गभिर छाया सूर्यको ताप् न पस्न्या ।
उपर अति पर्हेला बेस् चरा मात्र बस्न्या ॥
वरि परि पनि नाना राक्षसीको छ घेरा ।
रुख मनि तहिं सीता देखिइन् फेद नेरा ॥३०॥
भोकी मैलि निन्याउरी न त कपाल् कोर्याकि सब् केश् उसै ।
लट्टा मात्र गर्याकि खालि भुमिमा रूँदै बस्याकी यसै ॥
राम् राम् राम् यति मात्र बोलि रहँदी देख्या र साना भई ।
पात्का अन्तरमा लुक्या ति हनुमान् रुख्का उपर्मा गई ॥३१॥
भन्छन् श्री हनुमान् तहाँ मन मनै ऐल्हे कृतार्थै भयाँ ।
जो सीता कन देखि आज खुसिले सीता समिप्मा रह्याँ ॥
साध्याँ काम् पनि रामको भनि तहाँ खूसी भयाथ्या जसै ।
अन्तः पूर महाँ भयो र खलबल् त्यो शब्द सून्या तसै ॥३२॥
क्याको शब्द भयो भनेर हनुमान् लूक्या ति झन् पातमा ।
आयो रावण जल्दि ताहिं नजिकै सब् स्त्री लिई साथमा ॥
कैल्हे मर्छु म राम देखि अझ तक् सीता हर्याँ ता पनी ।
आयेनन् रघुनाथ् भनेर रहँदा देखेछ स्वप्ना पनी ॥३३॥
राम्को दुत् अति वीर वानर अशोक् वन् भित्र आई पसी ।
सीताजी कन देखिन्या गरि तहीं पात् भित्र लूकी बसी ॥
हेर्दो सुर् सब कामको खुसि भई स्वप्ना मिलेथ्यो जसै ।
साँचै हो कि भनेर दौडि कन झट् आयो नजिक्मा तसै ॥३४॥
साँचै पो यदि हो भन्या असल भो दुर्वाच्य बोल्छू जसै ।
सीतालाइ यसो सुनेर रिसले जाला र भन्ला तसै ॥
मेरा दुष्ट वचन् सुनेर रघुनाथ् आयेर मार्नन् भनी ।
यस्तो निश्चय मन् गरी नजिक गै दुर्वाच्य बोल्यो पनी ॥३५॥
सीताजी पनि दुष्टलाइ नजिकै देखी अधोमुख् गरिन् ।
श्रीराम्का चरणाविन्द मनले अन्तःकरण्मा धरिन् ॥
चुप् लागी जननी रहिन् जब तहाँ सो देखि रावण् पनी ।
लाग्यो भन्न मलाइ देखि किन है लायौ अधोमुख् भनी ॥३६॥
राम् मेरा पति हुन् भनेर तिमि पो भन्छ्यौ उ भन्छन् कहाँ ।
मेरी हो यदि भन्दथ्या पनि भन्या आऊनु पर्थ्यो यहाँ ॥
माया छैन तिमी उपर् न बुझि क्या शोक् मात्र गर्छ्यौ उसै ।
यौवन् व्यर्थ गयो विचार किन यो यौवन् अफाल्छ्यौ यसै ॥३७॥
यौवन् व्यर्थ न फाल व्यर्थ मनमा शोक् गर्दछ्यौ यो कती ।
मैलाई पति मान आज तिमिले हुन्छू म तिम्रो पती ॥
मेरी पत्नि भयौ भन्या त सबकी मालिक् हुन्याछौ म ता ।
साह्रै प्रेम् गरि राखुँला बुझ अधिक् बैगूनी छन् राम ता ॥३८॥
मानी मूर्ख कृतघ्न मानुष महाँ साह्रै अधम् जो त छन् ।
शक्तीका पनि कम् उ राम् पनि यहाँ आऊन् क्या सक्तछन् ॥
तस्मात् छोड न राख राम्तिर बहुत् यस्तो भनेथ्यो जसै ।
लाल् लाल् नेत्र गराइ पूर्ण रिसले बोलिन् सीताजी तसै ॥३९॥
पाजी रावण बोल्दछस् कति बहुत् दुर्वाच्य बक् बक् गरी ।
राघव् देखि डराइ छल्न भनि एक् सन्न्यासिको रुप् धरी ॥
जस्तै यज्ञ विषे हवी कुकुरले हर्छन् उसै चालले ।
राम् लक्ष्मण् न हुँदा हरिस् तँ बुझिले मर्लास् यसै कालले ॥४०॥
सागर् शोषि कि साँघुलाइ रघुनाथ् आयेर घेरा दिई ।
तेरो वंश विनाश् गरेर पछि फेर् प्राण् खैंचि तेरो लिई ॥
लैजानन् रघुनाथ् मलाइ भनि झट् दीइन् जवाफ् यो जसै ।
लाल् लाल् नेत्र गराइ खड्ग पनि ली काट्नै तयार् भो तसै ॥४१॥
मन्दोदरी विनति गर्न अगाडि सर्दी ।
यो खड्ग टारुँ कसरी भनि चित्त धर्दी ॥
पाऊ परी कन बहुत् गरि बिन्ति लाइन् ।
सब् रिस् शमन् पनि गरायर खड्ग टारिन् ॥४२॥
हूकुम् रावणले तहाँ यति दियो हे राक्षसी ई सिता ।
मैन्हा दूइ यसै बसुन् तब उपर् मेरा शयन्मा कि ता ॥
बस्निन् बस्तिन पो पनी भनि भन्या काटेर टुक् टुक् गरी ।
तर्कारी भुटुवा बनाउनु असल् मीठा मसाला धरी ॥४३॥
मासू खाइ म छोडुँला अझ पनी चेताउ येती भनी ।
रावण् फर्कि गयो ति राक्षसिहरू एक् मुख् भया फेर् अनी ॥
एक् भन्छे किन व्यर्थ रौवन सक्यौ रावण् गराऊ पती ।
दोस्री क्या भनि उठ्तछे कि कतिवार् भन्छेस् तँ थाक्छेस् कती ॥४४॥
काट्नै पर्छ न काटि हुन्न भनि बात् गर्दै थिई अर्कि ता ।
हात्मा ली तरवार दौडि पनि गै भन्दै म काट्छू सिता ॥
अर्की घोर् मुख बाइ डर् दिन नजिक् धाई सिता थ्यैं जसै ।
बूढी राक्षसि एक् थिई र त्रिजटा तेस्ले हटाई तसै ॥४५॥
लागी भन्न अभागि दुष्टहरु हो क्या दुष्टको झैं मती ।
गर्छौ छोड विरोध् न राख गर खुप् सीताजिको ता स्तुती ॥
पाऊमा पर दण्डवत् गर सबै मालिक् इनै हुन् भनी ।
मेरा आज वचन् लियौ भनि भन्या खुप् हीत होला पनी ॥४६॥
स्वप्नाको सुन भन्छु लक्षण यहाँ श्रीराम् सिताका पती ।
ऐरावत् उपरै चढेर सँगमा भाई लिई विर् अती ॥
याहाँ आइ रिसाइ भस्म सब यो लङ्कै गराई दिया ।
रावण् मारि सिता लियेर सँगमा पर्वत् उपर् पो थिया ॥४७॥
रावण् गोमय कुण्डमा कुल समेत् खुप् तेल मर्दन् गरी ।
बुड्थ्यो सब् मुड आफना उनि उसै मुड्को त माला धरी ॥
श्रीराम्का नजिकै विभीषण थिया भक्ती प्रभूको गरी ।
गर्थ्या खूप टहल् बहुत् खुसि हुँदै तन् मन् वचन् एक् गरी ॥४८॥
राम्ले रावणलाइ आज सहजै मार्छन् कुलै साफ् गरी ।
रावण्को अब वृद्धि छैन यसको आयो मरण्को घरी ॥
राम्का भक्त विभीषणै अब उपर् बस्नन् यहाँ राज् गरी ।
जस्तो हुन्छ हुकुम् सितापतिजिको सोही सिरोपर् धरी ॥४९॥
जस्तो स्वप्न भयो उ सब् भनि सक्याँ येती भनी चुप् जसै ।
लागीथी त्रिजटा ति बात् सुनि डर्या सब् राक्षसीगण् तसै ॥
निद्राका वशमा सबै परि गया सीता बहुतै रुँदी ।
आधार् कोहि न पाउँदी अधिक ताप् मानेर निष्फल् हुँदी ॥५०॥
भोकी शोक् गरि भन्दछिन् अब यहाँ ऐल्हे कसोरी मरूँ ।
इन्का हात परेर मर्नु ननिको आफै म मर्छू बरू ॥
ताप्ले पूर्ण हुँदी उपाय अरु थोक् केही न जान्दी कबै ।
मन्मा स्वस्थ न पाउँदी विरहले देख्ती अँध्यारो सबै ॥५१॥
राम्मा चित्त दियेर मर्नु बढिया मानेर सीता तहाँ ।
झुन्डीन्या मतलब् लिई खडि भइन् पक्रेर हाँगा महाँ ॥
राक्षस्का बिचमा बसी जिउनु धिक् मर्नू निको मर्दछू ।
चुल्ठो लामु छ झुण्डिना कन यहाँ डोरी त यै गर्दछू ॥५२॥
यस्तो निश्चय सुर् गरी कन सिता झुन्डीन आँटिन् जसै ।
काम् बित्ला भनि सानु बोलि झटपट् बोल्या हनूमान् तसै ॥
भारत्वर्ष विषे मणी मुकुट झैं नाम् ता अयोध्या भनी ।
ठूलो एक सहर् थियो मणिमयी सुन्दर् बन्याको पनी ॥५३॥
इक्ष्वाकूका कुलैमा अति बलि दशरथ् विर् महाराज् रह्याछन् ।
तिन्का तिन् रानिमद्धे गुणिगुणि अति विर् चार छोरा भयाछन् ॥
जेठा राम्जी ति चार्मा उहिं पछि त भरत्जी र लक्ष्मण् इ तीनै ।
भन्दा शत्रुघ्न कान्छा सकल गुणमहाँ कम्ति छैनन् इ कूनै ॥५४॥
जेठा राम पिताजिका हुकुमले सब् राज्य छोडी दिई ।
वन्मा बस्न चल्या बहुत् खुसि भई सीता र लक्ष्मण् लिई ॥
एक् दिन् पञ्चवटी गया प्रभु तहीं डेरा प्रभूको पर्यो ।
रावण्ले अति छल् गरी कन तहाँ सीताजिलाई हर्यो ॥५५॥
राम् लक्ष्मण् नहुँदा सिता पनि तहाँ चोरी जसै ता हर्यो ।
चोरी आज सिता हर्यो भनि बहुत् खेद् रामलाई पर्यो ॥
जान्थ्या खोजि सिताजिलाइ वनमा फेला जटायू पर्या ।
तिन् माथी करुणा भयो प्रभुजिको ताहीं जटायू तर्या ॥५६॥
भेट् सुग्रिव् सित भो पछी प्रभुजिको लाया मित्यारी पनी ।
बाली मारि रजाञि बक्सनु भयो मित् हुन् इ मेरा भनी ॥
विर् विर् वानर छानि सुग्रिवजिले सीताजि खोज्नै भनी ।
हूकुम् बक्सनु भो र विर्हरु गया सीताजि खोज्नै पनी ॥५७॥
तिन्मा एक् विर ता म हूँ म त यहीं आयाँ समुद्रै तरी ।
सम्पाती सित भेट् हुँदा खबर भै उन्का वचन्ले गरी ॥
लङ्का दाखिल भै गयाँ छिन महाँ राम्का प्रताप्ले गरी ।
फुत्क्याँ लङ्किनी देखि निर्भय भई अश्शोक वन्मा परी ॥५८॥
देख्याँ सुन्दर वाटिका वरिपरी रुख् बेस् लताले गरी ।
बेह्र्याका चहुँ ओर रत्न सरिका फल् फुल् फल्याको भरी ॥
देख्याँ आज सिताजिलाइ र यहाँ आनन्द पायाँ भनी ।
येती बिन्ति गरेर चुप् भइ रह्या ताहाँ हनूमान् पनी ॥५९॥
सीताजिले जब इ बात् क्रमले सुनीथिन् ।
आश्चर्य भै कन वरीपरि हेरि एक् छिन् ॥
कोही नदेखि ति सिता अरुलाइ ताहाँ ।
भन्छिन् कुरा इ कहन्या जन को छ याहाँ ॥६०॥
भ्रम् हो भनू पनि भन्या सब चेत् छ मेरा ।
स्वप्ना कसो गरि भनू निद छैन मेरा ॥
जो हो इ बात कहन्या उ अगाडि आई ।
अम्रित् वचन् ति सब आज भनोस् मलाई ॥६१॥
सीताजिका यति वचन् जब सुन्न पाया ।
सानू स्वरुप् लि हनुमान्जि अगाडि आया ॥
दर्शन् प्रणाम् पनि गर्या र सिताजिलाई ।
ताहिं खडा भइ रह्या अति हर्ष पाई ॥६२॥
लाल् मुख पीत शरिर् शरिर् पनि अधिक् सानू भङेरा सरी ।
धार्याका हनुमान देखि मनले आफैं ति शङ्का परी ॥
रावण्को छल हो कि यो भनि तहाँ लाइन् अधोमुख् जसै ।
शङ्का भो अब माइलाइ भनि झट् बोल्या हनूमान् तसै ॥६३॥
हे माता म त दास हूँ हजुरको राम्का हुकुम्ले गरी ।
आयाको छु हजूरका खबरमा गम्भिर् समुद्रै तरी ॥
राजा सुग्रिवको म मन्त्रि पनि हूँ वायू पिता हुन् भनी ।
येती बिन्ति गरेर चुप् भइ रह्या क्या हुन्छ मर्जी भनी ॥६४॥
सीताजी पनि भन्दछिन् कसरि यो जानू म मानिस् पनी ।
वानर् सीत मित्यारि लाउँछ कतै क्या हुन् कुराको जनी ॥
येती बोलि सिताजि चुप् भइ रहिन् साँचो न मानी जसै ।
फेर् वृत्तान्त गरी सुनाइ सब बात् औँठी दिया पो तसै ॥६५॥
औंठी दी कन फेर् प्रणाम् पनि गरी जस्सै हनूमान् बस्या ।
देखिन् औंठि जसै तसै बखतमा हर्षाश्रुधारा खस्या ॥
बर् बर् आँसु खसाउँदै प्रभुजिको औंठी सिरोपर् धरिन् ।
साह्रै खुस् हनुमान् उपर् भइ तहाँ प्राण् झैं पियारो गरिन् ॥६६॥
हित गरि हनुमान्जीलाइ भन्छिन् ति माता ।
म कन तिमि भयौ खुप् प्राणका आज दाता ॥
तिमि सित रघुनाथ्ले खूप विश्वास मान्या ।
तब म सित पठाया येहि काम्ले त जान्याँ ॥६७॥
अब त तिमि हनूमान् जल्दि गै रामलाई ।
भन विपति पर्याकि देखि हाल्यौ मलाई ॥
जति गरि म उपर् श्रीरामको हुन्छ माया ।
तति गरि तिमिले खुप् युक्तिले बिन्ति लाया ॥६८॥
जिन् तिन् शरीर महिना दुइ ता म धर्छू ।
ताहाँ पछी त तिमि निश्चय जान मर्छू ॥
खान्या छ दुष्ट तरकारि बनाइ येही ।
छैनन् यहाँ अरु सहाय मलाइ कोही ॥६९॥
तस्मात् अवश्य इ दुई महिना न जाई ।
सुग्रिव् समेत् सकल सैन्य लियेर आई ॥
यस् दुष्टलाइ सब वंश समेत मारुन् ।
यो दुःखसागर पर्या कि मलाइ तारुन् ॥७०॥
सिप सित गरि बिन्ती खुप् दयालू बनाया ।
जति छ फजिति मेरा यो सबै थोक् जनाया ॥
यति विनति गर्या लौ पाउला धर्म धेरै ।
सकल भनि सक्याँ बात् क्या भनू बेरबेरै ॥७१॥
बिन्ती श्रीहनुमानले पनि गर्या माता म सेवक् त हूँ ।
ख्वामित्का इ विपत् सबै म कहुँला धेर् बात् यहाँ क्या कहूँ ॥
राम् लक्ष्मण् दुइ भाइ सुग्रिव समेत् वानर्कि सेना लिई ।
वंशै रावणको विनाश् गरि दिनन् घेरा सहर्मा दिई ॥७२॥
ख्वामित्लाइ लियेर फेर रघुनाथ् जानन् अयोध्या महाँ ।
आवैनन् रघुनाथ् भनेर मनमा शङ्कै न लागोस् यहाँ ॥
यो बिन्ती सुनि भन्दछिन् तहिं सिता राम्चन्द्रजी क्या गरी ।
सेना ली कन आउनन् अति गभिर् यस्तो समुद्रै तरी ॥७३॥
जननि कन बुझाया यो हुकुम् सूनि ताहाँ ।
मइछु प्रभुजिको दास् बोकुँला पीठ माहाँ ॥
रघुपति दुइ भाईलाइ क्या दुःख पर्छन् ।
सकल अरु र सुग्रिव् कूदि आफै ति तर्छन् ॥७४॥
जननि म त बिदा झट् पाउँ मर्जी त सून्याँ ।
अब त उहिं गया पो हुन्छ काम् जल्दि हून्या ॥
जउन चिज दिंदामा राम विश्वास मान्छन् ।
उहि चिज पनि पाऊँ जान्छु दिन् मात्र जान्छन् ॥७५॥
यति सुनि अघि देखी केशपाश्मा धर्याको ।
मणि झिकि दिइ हालिन् रामका मन् पर्याको ॥
मणि दिइ फिरि भन्छिन् चित्रकुट्मा भयाको ।
शरण परि नजर् दी काग बाँची गयाको ॥७६॥
एक् दिन हे हनुमन् म चित्रकुटमा राम्का नजिक्मा थियाँ ।
मेरा काख महाँ सुत्या र रघुनाथ् हात्को तकीया दियाँ ॥
मेरा लाल् दुइ पाउ देखि कन काग् आयो र ठूँग्यो जसै ।
मेरा इ दुइ पाउ देखि बहुतै आयो रगत् पो तसै ॥७७॥
ऊठी श्रीरघुनाथको नजर भो वाहीं थियो काग् पनी ।
फ्याँक्या एक् तृण ली तहाँ प्रभुजिले यो काग मार्छू भनी ॥
त्यो काग् चौध भुवन् डुल्यो त पनि एक् पायेन आधार् जसै ।
फेरी आइ शरण् परी नजर दी बाँची गयो काग् तसै ॥७८॥
मेरा आज शरण् पर्यो भनि दया आयो उ काग्मा पनी ।
मै माथी त दया कसो हुन गयो भन्थिन् भन्या यो पनी ॥
हात् जोरी कन बिन्ति फेरि हनुमान् विर् गर्न लाग्या तहाँ ।
याहाँ छन् भनि यो खबर् न भइ पो आऊन ढिल् भो यहाँ ॥७९॥
रावण्ले हरि ली गयो भनि खबर् हुन्थ्यो त बाँच्थ्यो कहाँ ।
आज् तक् रावणको कुलै प्रभुजिले सब् भस्म गर्थ्या यहाँ ॥
देख्छू रूप त सानु मानु भङिरा जत्रो कसोरी लडी ।
राक्षस् नाश् तिमि गर्दछौ तिमि ठुला हुन्छौ स्वरुप्की बढी ॥८०॥
तिम्रो रुप् अति सानु देख्छु अरु ता कत्रा हुनन् झन् भनी ।
संझन्छू मनले र गुम्छु मनमा आश्चर्य मान्छू पनी ॥
यस्तो मर्जि सिताजिको सुनि तहाँ पर्वत् सरीका भया ।
मेरू तुल्य स्वरुप् गरेर हनुमान् साम्ने खडा भै रह्या ॥८१॥
जब त ति हनुमान्को रुप् ठुलो देखि लीइन् ।
खुसि भइ तहिं बीदा माइले जल्दि दीइन् ॥
अब त तिमी हनूमन् धृष्ट चाला छिपाऊ ।
इनिहरु सब देख्छन् कूदि फेर् जाइ जाऊ ॥८२॥
यति सुनि हनुमान्ले फेरि बिन्ती लगाया ।
सहज सित म जान्थ्याँ येति फल् खान पाया ॥
वरिपरि फल फुल् छन् मर्जि मात्रै म पाऊँ ।
हुकुम बिनु कसोरी आज आफैं म खाऊँ ॥८३॥
यति विनति गर्याथ्या खानको मर्जि पाई ।
खुसि भइ फल खाई माइ थ्यैं जल्दि आई ॥
चरण परि बिदा भै क्यै गया दुर् जसै ता ।
अलिकति कछु काम् फेर् गर्न आँट्या तसै ता ॥८४॥
आफ्नै मन् मन भन्दछन् ति हनुमान् जुन् वीर दुत् भै गई ।
जत्ती ख्वामितको हुकुम् छ उतिमा मात्रै चनाखो भई ॥
उत्ती काम् गरि फिर्छ पो पनि भन्या त्यो दुत् अधम् हो भनी ।
भन्छन् सब् दुनियाँ त भेटिकन जाँ कस्तो छ रावण् पनी ॥८५॥
यति गमि ति बघैंचा फेंक्न मनसुब् चलाई ।
खुसि भइ ति महाविर् जल्दि फेर् फर्कि आई ॥
सकल वन उखेल्दै चौकि सम्पूर्ण मार्या ।
फगत जननि बस्न्या एक् सिसौ शेष पार्या ॥८६॥
जब त वन विनास्या राक्षसी जल्दि आई ।
पुगि नजिक सिताका सोधि सीताजिलाई ॥
भन न तिमि सिताजी विर् क्व हो क्यान आयो ।
अति असल बघैंचा मासि मैदान् बनायो ॥८७॥
यति सुनि तहिं सीता भन्दछिन् क्या म जानू ।
विपत परि रह्याकी छू म ता चानुमानू ॥
तिमि बुझ न सबै बात् हो क्व हो क्यान आयो ।
अति असल बघैंचा क्यान मैदान् बनायो ॥८८॥
सकल छल त हो यो राक्षसै गर्छ माया ।
जब त यति भनीथिन् राक्षसी सब् डराया ॥
कहन भनि गया सब् रावणैका हजुर्मा ।
पुगि कहन ति लाग्या वन् गयो जो बिसुर्मा ॥८९॥
ऐल्हे हे महराज् अधीक बलियो आयो र वानर् यहाँ ।
सीताजी सँग केहि बात्चित गरी कूद्यो बघैंचा महाँ ॥
सब् ती रुख् सहजै उखेलि कन साफ् मैदान् बनाई दियो ।
चौकी पूर्ण गरी हवेलि पनि सब् नासी बस्याको थियो ॥९०॥
आयौं हामि त बिन्ति गर्न भनि यो बिन्ती गर्याथ्या जसै ।
सून्यो जल्दि उठेर पक्रन भनी लस्कर् पठायो तसै ॥
हूकुम् पायर लाख लस्कर गयो पक्रेर ल्याऊँ भनी ।
एक् लाख् लस्करलाइ देखि हनुमान् अत्यन्त गर्ज्या पनी ॥९१॥
त्यो शब्दै सुनि मोह लस्कर भयो छोड्यो हतीयार् पनी ।
सब् मार्या हनुमानले क्षण महाँ ई हुन् भुसूना भनी ॥
लोहस्तम्भ उठाइ साफ् सब गर्या सम्चार् पुगेथ्यो जसै ।
रावण् खूप रिसाइ फेर् पनि ठुलो सेना पठायो तसै ॥९२॥
सेनाका पति पाँच् गया हुकुमले ठूलै थियो ता पनी ।
त्यो सेना पनि साफ् तहाँ गरि दिया उस्तै भुसूना गनी ॥
फेर् मन्त्रीसुत सात् गया हुकुमले खुप् भारि लस्कर् लिई ।
लोहस्तम्भ उठाइ साफ् फिरि गर्या सब्लाइ ठक्कर् दिई ॥९३॥
सात् मन्त्रीसुतलाइ सैन्य सहितै मारी सक्याथ्या जसै ।
कान्छो रावणपुत्र अक्षयकुमार् पो लड्न आयो तसै ॥
भारी फौज लियेर त्यो पुतलि झैं आई जसै ता पर्यो ।
आकाश्मा कुदि लोहदण्ड सिरमा ठोक्या सहज्मा मर्यो ॥९४॥
पैल्हे अक्षकुमार मारि अरु सब् सेना समेत् नाश् गर्या ।
आउँदैमा तहिं बत्तिका पुतलि झैं हूँदै अनेक् विर् मर्या ॥
सब् राक्षस्हरुलाइ मारि सकि फेर् आऊँछ कुन् विर् भनी ।
लोहस्तम्भ लिई खडा भइ रह्या ताहाँ हनूमान् पनी ॥९५॥
जब त अति पियारो पुत्र कान्छो मर्याको ।
खबर कहन आयो फौज् समेत् नाश् गर्याको ॥
तब त अधिक ताप् भै भन्छ रावण् रिसाई ।
अब त गइ म आफैं मार्दछू तेसलाई ॥९६॥
की मार्छू कि त बाँधि ल्याउँछू यहाँ तेरा नजिक्मा भनी ।
रावण्ले यति इन्द्रजित् सित भन्यो तेस् इन्द्रजित्ले पनी ॥
हात् जोरीकन बिन्ति गर्छ म छँदै आफैं हजुर्ले तहाँ ।
जानू पर्छ कतै म गै सहजमा ल्याऊँछु बाँधी यहाँ ॥९७॥
येती बिन्ति गरी चढ्यो रथमहाँ क्यै फौज् पनी साथ् लिई ।
आयो श्रीहनुमान् भया तिर गयो साम्ने मुहाडा दिई ॥
देख्या श्रीहनुमानले पनि र खुप् गर्ज्या ति साम्ने भई ।
लोहस्तम्भ लिई कुदी कन उपर् आकाश बिच्मा गई ॥९८॥
लोहस्तम्भ उचालि घुम्न बिचमा लाग्या गरुड् झैं जसै ।
पाँच् बाण् छोडि लगाइ आठ् अनि थपी फेरी लगायो तसै ॥
बाण् लाग्या भनि इन्द्रजित् खुसि भई गर्ज्यो जसै ता तहाँ ।
घोडा सुत् रथ चूर्ण पारि हनुमान् कूद्या ति आकाश् महाँ ॥९९॥
फेर् आर्का रथमा चढेर अब ता बाँध्छू म ऐल्हे भनी ।
फ्याँक्यो जल्दि र ब्रह्मपाश् ति हनुमान्जीलाइ बाँध्यो पनी ॥
बाँधी श्रीहनुमानलाइ सँग ली फर्क्यो र दर्बार् गयो ।
बाँध्याका हनुमान देखि सहरै सम्पूर्ण खूसी भयो ॥१००॥
जुन् राम्को चरणै स्मरण् गरि सहज् अज्ञान पाश् नाश् गरी ।
वैकुण्ठै सब पुग्दछन् भनि भन्या तेस् ब्रह्मपाश्मा परी ॥
बाँधिन्थ्या हनुमान् कहाँ तर पनी बन्धन् पर्या झैं भया ।
रावण् भेटि त जाँ भनेर हनुमान् चुप्चाप लागी गया ॥१०१॥
जस्सै इन्द्रजितै गयो र हनुमान्जीलाइ बाँधी तहाँ ।
पर्केथ्यो घर जाँ भनी तब तहीं आयेर रस्ता महाँ ॥
रिस् फेर्या पुरवासिले पनि मुठी ऊठाइ हान्दा भया ।
रिस् फेर्छन् भुसुना भनेर हनुमान् चुप्चाप लागी गया ॥१०२॥
पैल्हे ता ब्रह्मपाश्मा परि कन क्षण भर् बाँधिनू काम थीयो ।
ब्रह्माको वाक्य साँचो गरि कन पछि ता पाशले छाडि दीयो ॥
बन्धन् देखी त खुस्क्या तर पनि हनुमान् भेट्न मन्सुब् धर्याका ।
पौंच्या रावण् छ जाहाँ खुसि भइ अरु ता मान्दछन् कर् पर्याका ॥१०३॥
रावण् विर् पनि मन्त्रिवर्ग सँग ली भारी सभामा थियो ।
पौंच्यो ताहिं र इन्द्रजित् ति हनुमान्जीलाइ सुम्पी दियो ॥
हात् जोरी विनती गर्यो अति हरिप् वानर् छ सेना पनी ।
धेरै नाश गरेछ आज मइ गै ल्यायाँ खुनी हो भनी ॥१०४॥
जो गर्नू अब पर्छ मन्त्रि सँगको सल्लाह बात्चित् गरी ।
यस्को आज ठिकान् लगाउनु हवस् मन्मा विचार् खुप् गरी ॥
येती बिन्ति सुन्यो र इन्द्रजितका हेर्यो नजर्ले पनी ।
लाग्यो सोध्न प्रहस्तलाइ किन यो आयेछ लौ सोध् भनी ॥१०५॥
अस्सल्मा पनि क्या भनू अति असल् मेरो बघैंचा पनी ।
नास्यो विर् पनि नाश् गर्यो म कन ता मानू भुसूनू गनी ॥
हूकुम् यो सुनि त्यो प्रहस्त हनुमान्जीका अगाडी गई ।
लाग्यो सोध्न सबै कुरा पनि बहुत् आधार दीन्या भई ॥१०६॥
यै बिच्मा न डराइ रावण उपर् साम्ने नजर् दी तहाँ ।
बोल्या श्री हनुमानले तँ बुझिले काम्ले त आयाँ यहाँ ॥
भार्या जस्कि हरिस् उनै जगतनाथ् राम्को म दास् हूँ मती ।
तेरो नष्ट भयो र अर्ति दिन यो आयाँ न ले यो मती ॥१०७॥
आया राम मतङ्ग पर्वत विषे लक्ष्मण् सहित् भै जसै ।
लाया सुग्रिवले मित्यारि खुसि भै राम्चन्द्रजी थ्यैं तसै ॥
बाली मारि रजाइँ बक्सनु भयो सुग्रीव राजा भया ।
सीता खोज्न हुकुम् हुँदा विरहरू फेर् दस् दिशामा गया ॥१०८॥
एक् विर् ता मइ हूँ हुकुम् सिर उपर् लीयेर आयाँ यहाँ ।
पायाँ देख्न सिताजिलाइ दुत हूँ राम्को छलिन्थ्याँ कहाँ ॥
वानर् हूँ र उखेलि साफ् गरि दियाँ तेरो बघैंचा पनी ।
आया मार्न मलाइ जो अघि सरी उन्लाइ मार्याँ पनी ॥१०९॥
यो इन्द्रजित् गइ यसै बिचमा मलाई ।
बाँधेर ल्याइ कन आज दियो तँलाई ॥
बन्धन् पर्यो भनि न ठान् त दियाँ जनाई ।
खूला छू अर्ति पनि दिन्छु म सुन् तँलाई ॥११०॥
लोक्को गती सब विचार् गरि आज तैंले ।
यो राक्षसी मति न ले हित भन्छु मैले ॥
ब्राह्मण् तँ होस् ऋषि पुलस्त्यजिको त नाती ।
राक्षस् कसो गरि तँ होस् बुझिले न भाँती ॥१११॥
आत्मा स्वरूप उ त झन् छ स्वरूप काहाँ ।
जाती र वर्ण लिइ भन्न सकिन्छ याहाँ ॥
सो आत्म रूप भनि नित्य विचार गर्नू ।
आनन्दमा रहुँ भन्या मति येहि धर्नू ॥११२॥
जो यो लोक विषे प्रपञ्च छ सबै जान् स्वप्न जस्तो भनी ।
सूतुन्ज्याल् सपना छ सत्य उठि ता लाग्दैन साँचो पनी ॥
तस्तै ज्ञान् त भयो भन्या त्रिभुवनै एक् देख्छ आत्मा फगत् ।
अज्ञान् रुप् निदमा पर्यो पनि भन्या देखिन्छ नाना जगत् ॥११३॥
आत्मा सत्य म हूँ भनेर बुझिले यस् देहलाई पनी ।
झूटो जान् पृथिवी र जल्हरु मिली झुट्टै बन्याको भनी ॥
तर्लास् यो मनमा लिइस् पनि भन्या तान्र्या उनै विष्णु छन् ।
जो हो विष्णु उ राम हुन् शरण पर् रिस् उठ्छ तेरा त झन् ॥११४॥
यस्तो मूर्खपना तँ छोड् लियर जा सीता शरण्मा तँ पर् ।
खुस् हूनन् रघुनाथ् शरण् परि गया यो दुष्ट चाला न गर् ॥
राम्को भक्ति गरैन ता कसरि यो संसार तर्ला उसै ।
पर्ला जन्मनु मर्नु यै फजितिमा छुट्तैन यो ताप् कसै ॥११५॥
यो जानी कन भक्ति गर् शरण पर् राम्का हजुर्मा गई ।
आफ्नू आत्म नरक् विषे न लइजा यस्तो त जान्न्या भई ॥
सीताराम् सितको विरोध् गरि तँ हेर् गिर्लास् नरक्मा परी ।
फेर् उत्तीर्ण हुनू कठिन् छ बुझिले अर्ती दियाँ यो पनी ॥११६॥
यस्ता बात् हनुमानका जब सुन्यो रावण् रिसायो तहाँ ।
लाल् लाल् नेत्र गराइ भन्छ रिसले सूनाइ साभा महाँ ॥
मेरो डर् रति भर् न राखि बहुतै क्या बोल्दछस् रे यहाँ ।
राम् लक्ष्मण् दुइ भाइलाइ सहजै मार्छू म छोड्छू कहाँ ॥११७॥
सुग्रिव्लाई तँलाइ मार्छू पछि फेर् मार्छू सिताजी पनी ।
राम् लक्ष्मण् सित क्या डराउँछु र की मार्नन् मलाई भनी ॥
तिन्का वानर सैन्यको पनि विनाश् गन्र्या छु येती जसै ।
बोल्यो रावणले इ बात् सुनि तहाँ बोल्या हनूमान् तसै ॥११८॥
यसरि किन बहूतै गर्दछस् सेखि धेरै ।
प्रभु कन त परै राख् जोरि छैनस् तँ मेरै ॥
अघि सरुँ त तँ जस्ता कोटि रावण् म मारूँ ।
हुकुम त न भयाको मार्न पो आज क्यारूँ ॥११९॥
यस्ता बात् हनुमानका सुनि तहाँ रावण् रिसायो अती ।
साँचा हुन् इ कुरा हुँदा कन त हो लिन्थ्यो कहाँ दुर्मती ॥
यो वानर् कन काटि टुक् गर भनी यस्तो हुकुम् पो दियो ।
हात्मा बेस् हतियार् लिई अघि सर्यो जुन् विर् नजिक्मा थियो ॥१२०॥
यस् बिच्मा त विभीषणै अघि सरी हात् जोरि बिन्ती गर्या ।
दुत् हो यो महराज् कुरा पनि वहाँ लैजान्छ को यो मर्या ॥
चिह्नू केहि लगाइ छोड् दिनु हवस् जावस् र विस्तार् गरोस् ।
येसै वानरका कुरा सुनि यहाँ आउन् ति सङ्ग्राम परोस् ॥१२१॥
साँचो भन्यो भनि बुझी कपडा मगायो ।
तेल् घीउले मुछि पुछर् भरि बेर्न लायो ॥
हूकुम् दियो अब जलायर बाँधि लेऊ ।
सारा सहर् पनि घुमायर छाडि देऊ ॥१२२॥
जावस् ठुटो पुछर ली कन फर्कि वाहीं ।
पुच्छर् डढी न सकि छोडनु छैन काहीं ॥
यस्तो हुकुम् जब दियो तब बाँधि लीया ।
आगो पनी पुछर तीर लगाइ दीया ॥१२३॥
बाँध्याका हनुमान् लियेर खुसि भै भेरी अगाडी फुकी ।
लाग्या घुम्न सहर् ति राक्षसहरू चोर् हो भनी खुप् भुकी ॥
चुप् लागी हनुमान् पनी खुरु खुरू गम् हेरि हिंड्दै गया ।
ढोका पश्चिममा पुगी सहरको ताहीं ति साना भया ॥१२४॥
बन्धन् देखि त खुस्कि सूक्ष्म रुपले पर्वत् सरीका भया ।
ठूलो स्तम्भ उठाइ राक्षस अनेक् मार्या र कुद्दै गया ॥
बल्दो लामु पुछर् लियेर घर घर् कुद्दै सहर्मा डुली ।
पोल्या सब् सहरै छुटेन कहिं घर् बाँकी कतै एक् भुली ॥१२५॥
लाग्यो बल्न सहर् जल्या र सब घर् सब् बन्द रस्ता भई ।
भागी जान न पाउँदा हुँदि अनेक् राक्षस् अटाली गई ॥
फाल् हाली कन अग्निमा परि मर्या यो चाल् सहर्मा भयो ।
पोल्यानन् घर एक् विभीषणजिको त्यो मात्र बाँकी रह्यो ॥१२६॥
येती काम गरी सकी पुछरको आगो निभाऊँ भनी ।
कूदी जल्दि समुद्रमा पुगि पुछर् चोभी निभाया पनी ॥
अग्नीले पनि मित्रपुत्र भनि ताप् केही गर्यानन् तहाँ ।
सीताको पनि प्रार्थना हुन गयो डढ्थ्या हनूमान् कहाँ ॥१२७॥
राम्का फगत् स्मरणले पनि दुःख छुट्छन् ।
आध्यात्मिकादि सब ताप् पनि जल्दि टुट्छन् ॥
साक्षात् उनै प्रभुजिका दुत भै गयाका ।
डढ्थ्या कहाँ ति हनुमान् अति हित् भयाका ॥१२८॥
फिन्र्या मन्सुब ली बिदा हुन सिताजी थ्यैं हनूमान् गया ।
बीदा खूसि भयेर बक्सनु हवस् जान्छू म भन्दै भया ॥
आऊँछन् रघुनाथ् अवश्य भनि यो बिन्ती गर्याथ्या जसै ।
साह्रै शोक् मनमा धरी कन सिता क्यै भन्न लागिन् तसै ॥१२९॥
तिमि कन नजिकैमा देखि खुप् खूसि हुन्थ्याँ ।
घडि घडि रघुनाथ्का मिष्ट वार्ता म सुन्थ्याँ ॥
अब कसरि म यस्ता दुःखले प्राण धर्छू ।
तिमि पनि फिरि जान्या फेरि ताप्मा म पर्छू ॥१३०॥
सीताका इ वचन् सुनेर झटपट् हात् जोरि बिन्ती गर्या ।
यस्तो शोक् अब छोडि बक्सनु हवस् आपत्ति साह्रै भया ॥
ऐल्हे दाखिल गर्छु राम्चरणमा बोकी हुकुम् लौ हवस् ।
धेरै शोक् किन गर्नु हुन्छ मनमा यो शोक् दुरैमा रहोस् ॥१३१॥
सीताजी पनि भन्दछिन् म त न जाँ जाऊ तिमी मात्र गै ।
विस्तार् बिन्ति गरेर जल्दि रघुनाथ् लीयेर आऊ सँगै ॥
राम् आई कन दुष्टलाइ सहजै मारी मलाई सँगै ।
लैजानन् रघुनाथ् त कीर्ति रहला क्या हुन्छ येसै म गै ॥१३२॥
सीताको जब यो हुकुम् हुन गयो बीदा हनूमान् भया ।
तिन् बेर् जल्दि परिक्रमा गरि प्रणाम् गर्दा छँदा ती गया ॥
पर्वत् माथि चढेर रुप् पनि ठुलो पर्वत् सरीको धर्या ।
आकाश्मार्ग लिई कुदेर खुशिले खुप् शब्द ठूलो गर्या ॥१३३॥
सून्या शब्द ति अङ्गदादिहरुले बोल्या परस्पर् पनी ।
शब्दैले बुझियो अवश्य सहजै भेटेर आया भनी ॥
यस्ता बात् तिरमा बसेर सब विर् गर्दै थिया खुस् भई ।
पौंच्या श्रीहनुमान् तहीं तिर महाँ आनन्द खूसी रही ॥१३४॥
भेट् भो अङ्गद विर्हरू सित तहाँ विस्तार् कुरा सब् गर्या ।
अङ्गद् विर्हरु खुस् भई पुछरमा पक्रेर चुम्बन् गर्या ॥
नाच्या कोहि खुसी भयेर यहि रित् गर्दै ति राम् थ्यैं गया ।
सुग्रिव्को मधुवन् मिल्यो नजिकमा साह्रै खुसी ती भया ॥१३५॥
बिन्ती अङ्गद थ्यैं गर्या पनि तहाँ खाऊँ इ फल् फुल् भनी ।
अङ्गद्ले पनि खाउ जाइ हनुमान्जीका प्रसाद्ले भनी ॥
दीया मर्जि र खाउँ फल् फुल भनी वानर् गयाथ्या जसै ।
चौकी वानर जो थिया सब तहाँ आया र रोक्या तसै ॥१३६॥
रोक्न्या वानरलाइ लात् दिइ पिया मीठो मधूरस् तहाँ ।
यो चुग्ली दधिवक्त्रले लिइ गया सुग्रीवजी छन् जहाँ ॥
सब् विस्तार् दधिमूखले जब गर्या लूट्या मधूवन् भनी ।
लुट्पिट्को सम्चार् सुन्या र पनि रिस् ऊठेन कत्ती पनी ॥१३७॥
भेट्याछन् बुझियो सिता कन न ता लुट्थ्या मधूवन् कहाँ ।
ई बात् सुग्रिव गर्दथ्या प्रभुजिले सून्या र सोध्या तहाँ ॥
सीताको पनि नाम् लियेर तिमिले क्या बोल्दछौ बात् भनी ॥
सोधी बक्सनु भो र सुग्रिवजिले बिन्ती गर्या बात् पनी ॥१३८॥
हे नाथ् श्रीमधुवन् थियो अति असल् मेरो बघैंचा तहाँ ।
ऐल्हे ता हनुमान्हरू बलजफत् आयेर एक् क्षण् महाँ ॥
लूट्याछन् मधुरस् अनेक् तरहका चौकी कुट्याछन् पनी ।
आया आज फिराद गर्न मधुवन् लूट्या र कूट्या भनी ॥१३९॥
सोही बात म गर्दछू रघुपते इन्ले सिताजी पनी ।
भेट्याछन् तब पो लुट्या र मधुवन् रोक्ता कुट्याको भनी ॥
यो बिन्ती गरि जल्दि सुग्रिवजिले ती चौकिलाई तहाँ ।
दीया हूकुम जल्दि फर्कि कन गै चाँडै पठाऊ यहाँ ॥१४०॥
आउन् श्रीहनुमान्हरू अब यहीं चाँडो भनी यो जसै ।
दीया निर्भय दी हुकुम् उहि बखत् फर्क्या र दौड्या तसै ॥
मामा सुग्रिवका गया र दधिमुख् हूकुम् सुनाई दिया ।
खूसी भै हनुमान्हरू पनि गया जाहाँ रघूनाथ् थिया ॥१४१॥
राम् सुग्रीव् कन दण्डवत् गरि लिया साम्ने जमिन्मा परी ।
सब् विस्तार् हनुमानले तहिं गर्या वृत्तान्त एक् एक् गरी ॥
भेट्याँ आज सिताजिलाइ रघुनाथ् लङ्कापुरीमा गई ।
जस्सै देखि लियाँ सिता कन तसै सानू स्वरुप्को भई ॥१४२॥
पात्का अन्तरमा लुकी जननिका साम्ने नजिक्मा रह्याँ ।
जो वृत्तान्त थियो सबै हजुरको त्यै सूक्ष्म रुप्ले कह्याँ ॥
भोकी दुब्लि हजूर दूर रहँदा संझेर साह्रै रुँदी ।
राम् राम् बोल्दि अनाथ् भई कन बहुत् विह्वल् निरन्तर् हुँदी ॥१४३॥
अश्शोक्का वनमा सिसौ पनि छ एक् त्यै वृक्षका बीचमा ।
झुन्डीन्या मतलब् लिई खडि भइन् सूनिन् उसै बीचमा ॥
यो वृत्तान्त सुनी हुकुम् पनि भयो को होस् तँ बोल्छस् कहाँ ।
क्या लूकी कन बोल्दछस् अब न लुक् आईज साम्ने महाँ ॥१४४॥
पायाँ येहि हुकुम् जसै जननिको वानर्स्वरुप्ले गयाँ ।
को होस् भन् भनि सोधि बक्सनु भयो फेर् बिन्ति गर्दो भयाँ ॥
फेर् वृत्तान्त गरी सक्याँ हजुरको औंठी दियाँथ्याँ जसै ।
बर् बर् आँसु खसालनू पनि भयो विश्वास लाग्यो तसै ॥१४५॥
आफ्नू दुःख हवाल् सबै कहनु भो यस्ता विपत् छन् भनी ।
आऊँछन् रघुनाथ् भनेर बहुतै मैले बुझायाँ पनी ॥
आज्ञा भो रघुनाथका हजुरमा सब् दुःख मेरो कही ।
लङ्कामा प्रभुको सवारि तिमिले चाँडो गराऊ गई ॥१४६॥
बात्चित् गरी जब यता तिर फिर्न लाग्याँ ।
विश्वास पार्न जननी सित चीज माग्याँ ॥
चूडामणी दिनु भयो सिरमा रह्याको ।
काग्को कुरो कहनु भो अघि जो भयाको ॥१४७॥
लक्ष्मण्लाइ अवाच्य बात् भनि बहुत् बोल्याँ कछू ता पनी ।
त्यो रिस् लक्ष्मण्ले कदापि न लिउन् येसो भनीथिन् भनी ॥
हात् जोरी कन बिन्ति खुप् गरि दिया येत्ती हुकुम् भो जसै ।
सब् वृत्तान्त सुनी बिदा पनि भयाँ फर्केर आयाँ तसै ॥१४८॥
माई सीत बिदा भई जब फिर्याँ मन्मा लहड् यो गयो ।
रावण्लाइ नभेटि जाँ म कसरी भन्न्या विचार् यो भयो ॥
भेटी रावणलाइ अर्ति पनि दी फिर्नू असल् हो भनी ।
फर्की ध्वस्त गर्याँ अशोक वनको मार्याँ अनेक् विर् पनी ॥१४९॥
कान्छो रावणपुत्र अक्षयकुमार् मार्याँ र रावण् जहाँ ।
थीयो ताहिं गयाँ भन्याँ हित वचन् टेरेन केही तहाँ ॥
गर्थ्यो बक्बक बात् अनेक् तरहका मैले भुसूनै गनी ।
रावण् कै अघि खाग् गरी सकि दियाँ पोलेर लङ्का पनी ॥१५०॥
येती कर्म गरी यहाँ हजुरमा आयाँ म ऐल्हे भनी ।
येती बिन्ति गरी खडा भइ रह्या ताहाँ ति सेवक् पनी ॥
श्रीराम्ले पनि काखमा लिनु भयो सर्वस्व दिन्छू भनी ।
बात्ले चित्त बुझाइ बक्सनु भयो सर्वस्व यै हो भनी ॥१५१॥
मैले खुस् भइ काख् दियाँ पनि भन्या फेर् दीनु बाँकी रती ।
केही चिज् रहँदैन सब् मिलि गयो यो बात् बताऊँ कती ॥
काख्मा राखि हुकुम् भयो यति जसै खूसी हनूमान् भया ।
आनन्दाश्रु गिराइ भक्तिरसले हाजिर् हजुर्मा रह्या ॥१५२॥
धन्य हुन् इ हनुमान् इ सरीको ।
कोही छैन अरु भक्त हरीको ॥
भक्ति खुप् गरि त काख् पनि पाया ।
लोकमा अधिक धन्य कहाया ॥१५३॥
जस्को पुजा तुलसिपत्र चढाइ गर्छन् ।
उस्ता पनी त भवसागर पार तर्छन् ॥
ई ता उनै प्रभुजिका दुत हुन् त काहाँ ।
सक्नू छ वर्णन गरी इनको त याहाँ ॥१५४॥
इति श्रीसुन्दरकाण्ड ।