Jump to content

Bhanubhaktako ramayan/shribaalkanda

From Nepali Proofreaders
॥ श्री गणेशाय नम:॥
श्रीबालकाण्ड

एक् दिन् नारद सत्यलोक् पुगि गया लोक्‌को गरूँ हित् भनी ।
ब्रह्मा ताहिं थिया पर्‍या चरणमा खूसी गराया पनी ॥
क्या सोध्‌छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै ।
ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्‍या यो तसै ॥१॥

हे ब्रह्मा ! जति हुन् शुभाशुभ सबै सूनी रह्याँछू कछू ।
बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछू ॥
आऊला जब यो कली बखतमा प्राणी दुराचार् भई ।
गर्न्या छन् सब पाप् अनेक् तरहका निच्‌का मतीमा गई ॥२॥

साँचो बात गरैन कोहि अरुकै गर्नन् त निन्दा पनी ।
अर्काको धन खानलाइ अभिलाष् गर्नन् असल् हो भनी ॥
कोही जन् त परस्त्रिमा रत हुनन् कोही त हिंसा महाँ ।
देहैलाइ त आत्म जानि रहनन् नास्तिक् पशू झैं तहाँ ॥३॥

काम्‌का चाकर झैं भयेर रहनन् स्त्रीलाइ द्यौता सरी ।
मान्नन् पितृ र मातृलाई बुझि खुप् शत्रू सरीका गरी ॥
ब्राह्मण् भै कन वेद बेचि रहनन् कोही पढुन् ता पनी ।
धन् ठूलो छ पनी भन्या सहज धन् आर्जन् गरौंला भनी ॥४॥

जाती धर्म रह्वैन क्षत्रिहरुमा जो छन् इ नीचाहरू ।
शूद्रादी त तपस्वि होइ रहनन् ब्राह्मण् सरीका बरू ॥
स्त्री धेर् भ्रष्ट हुनन् पती र ससुराको द्रोह ठूलो गरी ।
यस्ता नष्ट कसोरि मुक्त त हुनन् संसारसागर् तरी ॥५॥

यो चिन्ता मनमा भयो र अहिले सोधूँ उपायै भनी ।
आयाको छु दयानिधान ! कसरी तर्नन् सहज् ई पनी ॥
यस्तालाइ उपाय तर्न सजिलो कुन् हो उ आज्ञा गरी ।
मेरो चित्त बुझाइ बक्सनुहवस् क्याले इ जान्छन् तरी ॥६॥

नारद्ले दुनियाँउपर् गरि दया बिन्ती गर्‍या यो जसै ।
ब्रह्माजी पनि खूप् प्रसन्न हुनुभो मर्जी भयो यो तसै ॥
हे नारद् ! सब पाप हर्न कन ता रामायणैले सरी ।
आर्को मुख्य उपाय छैन सबको हित् यै छ अमृत् सरी ॥७॥

शम्भू देखि सुनेर तत्त्व सब यो गान् पार्वती गर्दछिन् ।
राम्‌को नाम अपार जानि बहुतै आनन्दमा पर्दछिन् ॥
जस्‌ले गान् कन गर्दछन् त ति सहज् संसार पार् तर्दछन् ।
कालैको पनि ताप् हुँदैन भय सब् तिन्‌का सहज् टर्दछन् ॥८॥

यो सब् शास्त्रविषे बडो छ रघुनाथ्‌को रुप् जनाई दिन्या ।
जो छन् सब् इ पुराण्‌हरू इ सबमा यै मुख्य जानी लिन्या ॥
गर्छन् कीर्तन सुन्दछन् पनि भन्या यो पाउँछन् फल् भनी ।
तिन्‌को पुण्य बखान गर्न त सबै सक्‌तीन मैले पनी ॥९॥

सून्याथ्याँ शिव देखि यस्‌कि महिमा एक् श्लोक पढुन् ता पनी ।
भक्तीले यदि यो पढ्यो पनि भन्या पाप् छुट्तछन् सब् भनी ॥
जो एक् चित्त गरेर पाठ खुसि भै गर्छन् सदा यै भन्या ।
जीवन्‌मुक्त तिनै त हुन् नर भई ईश्वर् सरीका बन्या ॥१०॥

पूजा पुस्तकको गर्‍या पनि त फल् एक् अश्वमेध्‌का सरी ।
पाऊँछन् सुनियो कहीं पनि भन्या पाप् छुट्तछन् तेस् घरी ॥
जो ता पुस्तकका नजिक् गइ नमस्कारै फगत् गर्दछन् ।
तेस्‌ता जन् सब देवता पुजि हुन्या फल् भोगमा पर्दछन् ॥११॥

चारै वेद पढेर शास्त्रहरुको व्याख्यान गर्दा पनी ।
पाईदैन उ फल् त पाउँछ सहज् पुस्तक् दिनाले पनी ॥
भक्तीले कहिं भक्तका घर गई एकादशीमा कह्या ।
चौबिस् पल्ट पुरश्चरण् गरि हुन्या गायत्रिका फल् भया ॥१२॥

जस्‌ले राम्‌नवमी उपासि खुसिले जाग्रन् समेतै गरी ।
यो रामायण पाठ् गरोस् कि त सुनोस् तन् मन् यसैमा धरी ॥
तेस्‌ले तीर्थ पिछे तुलापुरुषदान् सूर्य्यै ग्रहण्‌मा गर्‍यो ।
यस्‌मा संशय छैन जान्नु सबले आनन्दमा त्यो पर्‍यो ॥१३॥

रामायण् कन गाउन्या पुरुषको आज्ञा त इन्द्रै पनी ॥
मान्छन् श्रीरघुनाथका प्रिय इ हुन् मान्न्या इनै हुन् भनी ॥
रोज् रोज् यस् कन पाठ् गरेर जनले सत्कर्म गर्छन् जती ।
कोटी गुण् फल बढ्ति मिल्छ सबको घट्तैन तिन्‌का रती ॥१४॥

यस्मा राम् हृदयै छ पाप् हरि लिन्या क्वै ब्रह्मघाती पनी ।
शुद्धात्मा बनि जान्छ तिन् दिन पढ्या गर्छन् कृपा राम् धनी ॥
रोज् रोज् तीन पटक् अगाडि हनुमान् राखेर पाठ् गर्छ जो ।
जस्‌तो भोग् कन गर्न खोज्दछ उ भोग् सम्पूर्ण पाऊँछ सो ॥१५॥

जो यो पाठ् तुलसी पिपल् वरि परी गर्छन् प्रदक्षिण् गरी ।
तिन्‌का पाप् सब जन्मका जति त छन् छुट्छन् ति तेसै घरी ॥
तेस्‌मा रामगिता छ झन् अति ठुलो जस्‌को महात्म्यै पनी ।
सब् जान्न्या शिव मात्र छन् अरु त को जान्न्या छ यस्‌तो भनी ॥१६॥

आधा पार्वति जान्दछिन् म त सबै चौथाइ पो जान्दछू ।
गीता पाठ गरेर नाश नहुन्या पाप् छैन यो मान्दछू ॥
राम्‌ले वेद मथन् गरीकन झिक्या गीता र अमृत् सरी ।
लक्ष्मण‍्‌लाइ दिया यही पढि लिया जाइन्छ संसार् तरी ॥१७॥

मार्छू निश्चय कार्तवीर्य भनि खुप् ठूलो इरादा गरी ।
पढ्थ्या श्रीशिव थ्यैं गया परशुराम् दिन् दिन् चरण्‌मा परी ॥
पढ्थिन् पार्वति राम्‌गिता तहिं सुनी पाठ् गर्न लागी गया ।
राम्‌गिता तहिं देखि पाठ् गरि लिया नारायणै ती भया ॥१८॥

मैह्ना दिन् यहि राम्‌गिता पढि लिया सब् ब्रह्महत्याहरू ।
छुट्छन् ता अरु छुट्तछन् सकल पाप् भन्न्या बखान् क्या गरू ॥
शालग्राम् तुलसी पिपल् कि त बडा संन्यासि थ्यैं जो गई ।
राम्‌गीता कन पाठ् गर्‍यो पनि भन्या ठूलो महात्मा भई ॥१९॥

जुन् फल् छन् मुखले भनी नसकिन्या सो फल् ति भोग् गर्दछन् ।
कोही श्राद्ध विषे पढुन् त तिनका पितृ सबै तर्दछन् ॥
पैल्हे खूप नियम् गरी दशमिमा एकादशीमा पनी ।
आसन् बाँधि अगस्ति वृक्ष मनि पाठ् गर्छू म गीता भनी ॥२०॥

राम्‌गीता उपवास् गरी कन बहुत् आदर् गरी पढ्छ जो ।
तेस्‌लाई त न भन्नु मानिस भनी रामै सरीको छ त्यो ॥
दान् ध्यान् तीर्थ कदापि केहि न गरी यै रामगीता पढी ।
बस्छन् जो ति अनन्तका पदविमा जान्छन् सहज् पार् तरी ॥२१॥

धेरै बात गरेर हुन्छ अब क्या रामायणै हो जबर् ।
पाप् हर्ना कन छैन केहि बुझियो येसै सरीको अबर् ॥
जो छन् तन्त्र पुराण् श्रुति स्मृति इ ता सोह्रै कलामा पनी ।
पुग्दैनन् त बखान् कहाँ तक गरूँ यो फेरि ठूलो भनी ॥२२॥

जो रामायणको महात्म्य विधिले नारद्जिलाई कह्या ।
जुन् सूनी कन चित्तले बुझि लिंदा नारद् पनी खुस् भया ॥
पाठ् गर्छन् कि त सुन्दछन् यति भन्या यो येति सुन्दा पनि ।
जान्छन् सब् उहि विष्णुका पुरिमहाँ खुप् पूज्य सब्‌का बनी ॥२३॥

कैलाश्‌मा भगवान् सदाशिव थिया ध्यान्‌मा बहुत् मन् दिई ।
वाम् काख्‌मा बहुतै पियारि हितकी श्री पार्वतीजी लिई ॥
एक् दिन् पार्वतिले तहीं शिवजी थ्यैं सोधिन् चरण्‌मा परी ।
आफू ता सब जान्दथिन् तर दया सम्पूर्ण लोक्‌मा गरी ॥२४॥

हे नाथ् ! बिन्ति म गर्दछू हजुरमा राम् हुन् जगत्‌का पती ।
राम् देखी अरु कोहि छैन जनका संसार तर्न्या गती ।
जस्‌मा भक्ति गर्‍यो भन्या अति गभिर् संसार सागर्‌महाँ ।
नौका झैं तरि जान्छ झट्पट गरी तेस् नर्‌कि देहै तहाँ ॥२५॥

यस्‌ता राम् कन लोकमा जनहरू एक् ईश्वरै मान्दछन् ।
कोही तत्त्व न पाइ मूर्खहरु ता मानिस् सरी जान्दछन् ॥
क्या भन्छन् ति कि राम ईश्वर भया शोक् क्यान तिन्‌ले गर्‍या ।
सीता रावणले जसै हरि दियो ठूलै विपत्‌मा पर्‍या ॥२६॥

ईश्वरलाइ त शोक् हुँदैन र भनूँ हूँदैन अज्ञान् पनी ।
इन्‌मा यो सब देखियो त कसरी जान्नू इ ईश्वर् भनी ॥
लोक् यस्तो पनि भन्छ कोहि भगवान् यस्‌मा विचार् खुप् गरी ।
जस्तो हो सब यो बताउनुहवस् सन्देह मेरो हरी ॥२७॥

यस्‌तो प्रश्न सुन्या र पार्वतिजिको खूसी पनी खूप् भया ।
राम् यस्‌ता प्रभु हुन् भनेर शिवले सब् तत्त्व ताहीं कह्या ॥
सून्यौ पार्वति ! राम् अनादि परमेश्वर् हुन् ति आकाश् सरी ।
सब् ढाकी कन बस्तछन् अघि विराट् सम्पूर्ण सृष्टी गरी ॥२८॥

जस्‌तै चुम्बकका नजिक् परि गया नाच्छन् इ लोहा पनी ।
तस्‌तै जस् कन पाइ नाच्तछ जगत् नाना प्रकार्‌को बनी ॥
यस्‌तो तत्त्व न जानि मानिस सरी राम्‌लाइ जो गर्दछन् ।
संसार्‌का इ अनन्त ताप्‌हरू तिनैलाई सदा पर्दछन् ॥२९॥

बादल्‌ले अरु ढाक्छ ढाक्छ अरू क्या श्रीसूर्य्यलाई पनी ।
लोक् ता भन्छ उठ्यो र बादल ठुलो सब् सूर्य्य ढाक्यो भनी ॥
तस्तै तत्त्व न जानि बोल्छ जन जो सो भन्छ मानिस् पनी ।
योगी ज्ञानि त चिन्दछन् इ रघुनाथ् त्रैलोक्यका नाथ् भनी ॥३०॥

जस्‌लाई रिङटा छ भन्छ उ फगत् घुम्छन् उ पर्वत् भनी ।
घुम्दैनन् इ त घुम्छ तेहि रिङटा जान्दैन कोही पनी ॥
अज्ञान् रुप् रिङटा हुन्या जनहरू भन्छन् ति मानिस् पनी ।
राम् ता हुन् परमेश्वरै सकल यस् चौधै भुवन्‌का धनी ॥३१॥

सूर्य्यैमा पनि अन्धकार् छ कहिं क्या तस्‌तै छ राम्‌मा पनी ।
शोक् अज्ञान् रति छैन जान्नु सबले आत्मा इनै हुन् भनी ॥
आर्को गोप्य रहस्य भन्छु सुन यो संवाद् सितारामको ।
भूभार् हर्न त को थियो जब हर्‍या छिन्‌छान् भयो कामको ॥३२॥

भूमीको सब भार् हरेर रघुनाथ् राज् गर्न लाग्या जसै ।
देख्या श्रीहनुमानलाइ र दया आयो प्रभूका तसै ॥
सीतालाइ हुकुम् तहीं दिनु भयो सीते ! हनूमान् बडा ।
हाम्रा भक्त भया इ तत्त्व लिनका खातिर् यहाँ छन् खडा ॥३३॥

इन्‌लाई तिमि तत्त्व देउ भनि यो हूकुम् भयेथ्यो जसै ।
सीताले हनुमानलाइ दिनु भो जुन् तत्त्व हो सो तसै ॥
आर्को तत्त्व त केहि छैन हनुमान् कुन् आज आर्को कहूँ ।
राम् हुन् ब्रह्म इनैकि शक्ति बलिई माया भन्याकी म हूँ ॥३४॥

राम्‌को सन्निधि पाइ गर्छु सबको सृष्टी र पालन् पनी ।
आरोप् राम विषे गरिन्छ सब यो गर्न्या इनै हुन् भनी ॥
यस् निर्मल् रघुवंशमा प्रभुजिले जो जन्म याहीं लिया ।
विश्वामित्र निमित्त यज्ञहरुमा राखी दया मन् दिया ॥३५॥

जो पाप् गौतमपत्निका हरि दिया जो भाँचि दीया धनू ।
जो मैलाइ बिहा गर्‍या सब कुरा यस्‌ता कहाँ तक् भनू ॥
जो ता गर्व हर्‍या ति विर् परशुराम्‌को जो अयोध्या बस्या ।
बार्‍है वर्ष बिहा गर्‍या पछि बसी जो ता वनैमा पस्या ॥३६॥

यस्ता काम् जति काम् भया ति सब काम् गर्न्या म हूँ ता पनि ।
भन्छन् लोक त रामलाइ सबका कर्ता इनै हुन् भनी ॥
अन्तर्यामि अनादि साक्षि त ति हुन् कर्ता कहाँ ती थिया ।
मेरा गूण लिंदा त लोकहरुले कर्ता भनी पो दिया ॥३७॥

येती ताहिं सिताजिबाट उपदेश् पाई सक्याथ्या जसै ।
आफै राम् प्रभुले पनी दिनु भयो फेर् तत्त्वको ज्ञान् तसै ॥
यस्तो हुन्छ परात्म आत्म यहि हो यो हो अनात्मा भनी ।
आत्मा और परात्मलाइ बुझदा पाइन्छ मुक्ती पनी ॥३८॥

आत्माको र परात्मको छ कति फेर् त्यो एक जानी लिनू ।
जुन् जुन् चीज अनात्म हुन् उ त झुटा जानेर छाडी दिनू ॥
आत्माको र परात्मको गरि विचार् एक् तत्त्व जान्यो जसै ।
अज्ञान् सब् छुटि जान्छ ती पुरुषको मै तुल्य हुन्छन् तसै ॥३९॥

यो मेरो हृदयै त हो प्रिय छ यो खुप् गुप्त राख्नू पनी ।
तत्त्वज्ञान् भनि यै कहिन्छ बुझिल्यौ सून्यौ हनुमन् भनी ॥
तत्त्वज्ञान् हनुमानलाइ रघुनाथ्‌ले यै दिनू भो तहाँ ।
सोही ज्ञान् तिमि थ्यैं कही कन सक्याँ सम्पूर्ण मैले यहाँ ॥४०॥

सून्यौ पार्वति ! रामको हृदय यो जो जो त पाठ् गर्दछन् ।
जो छन् जन्म सहस्रका सकल पाप् तिन्‌का सबै टर्दछन् ॥
जातीभ्रष्ट अधम् हवस् त पनि लौ यस्‌लाई खुप् पाठ् गरी ।
राम्‌को ध्यान् पनि गर्छ पो पनि भन्या त्यो जान्छ संसार् तरी ॥४१॥

सूनिन् पार्वतिले अपार महिमा यो रामजीको जसै ।
फेर् विस्तार् गरि सुन्नलाइ मन भी ती पार्वतीको तसै ॥
बिन्ती फेर् शिव थ्यैं गरिन् पनि तहाँ हे नाथ् ! सबै रामको ।
लीला सुन्न मलाइ मन् हुन गयो येही बुझ्याँ कामको ॥४२॥

सूनोस् रामलिला भनेर म उपर् माया बहूतै धरी ।
सब् लीलाहरु फेर् बताउनु हवस् जो छन् ति विस्तार् गरी ॥
यो प्रेम् पार्वतिको सुन्या र शिवले खुप् प्रेम राखिन् भनी ।
जो जो हुन् सब राम्‌चरित्र शिवले ताहाँ बताया पनी ॥४३॥

ई भूमी कन रावणादि विरले भारी बनाई दिया ।
भारी भै ति रुँदै गइन् उहिं जहाँ ब्रह्मा बस्याका थिया ॥
पापी धेर् भइ भार् भयो म कन ता यो भार छूटोस् भनी ।
आयाँ आज दयानिधान् ! चरणमा यो बिन्ति पारिन् पनी ॥४४॥

यस्‌तो बिन्ति सुनी दया पनि उठ्यो ती भूमि माथी तहाँ ।
दौडी क्षीर समुद्रका तिर गया विष्णू रहन्थ्या जहाँ ॥
इन्द्रादीहरु साथमा लिइ स्तुती ताहाँ गर्‍याथ्या जसै ।
सर्वात्मा भगवान् प्रसन्न हुनु भै दर्शन् दिनू भो तसै ॥४५॥

देख्या सुन्दर रुप् जसै प्रभुजिको ब्रह्मा चरण्‌मा पर्‍या ।
भक्तीले स्तुति खुप् गरेर खुसि भै हात् जोरि बिन्ती गर्‍या ।
हे नाथ् ! रावण दुष्ट भै सकल लोक्‌लाई विपत्ती दियो ।
इन्द्रादीहरुको त तेज् सहजमा खैंचेर तेस्‌ले लियो ॥४६॥

यस्‌लाई अब मारि बक्सनु हवस् मानिस् सरीका बनी ।
मानिस् देखि मर्‍यास् भनी त वरदान दीई रह्याँछू पनी ॥
ब्रह्माको यति बिन्ति सूनि भगवान्‌को यो हुकुम् भो पनी ।
रावण्‌लाइ म मारुँला सहजमा मानिस् सरीको बनी ॥४७॥

माया मेरि सिता भयेर रहनिन् छोरी जनक्‌की भई ।
छोरो भै कन जन्मुला म दशरथ्‌जीका घरैमा गई ॥
सीतालाइ लियेर पूर्ण गरुँला बिन्ती म तिम्रो भनी ।
अन्तर्धान् भगवान् तहीं हुनु भयो त्रैलोक्यका नाथ् हरि ॥४८॥

अन्तर्धान् भगवान् जसै हुनु भयो इन्द्रादिलाई पनी ।
ब्रह्माले खुसि भै अह्राउनु भयो भूलोक जाऊ भनी ॥
मानिस् भै भगवान् जती त रहनन् तेस् पृथ्वितल्‌मा गई ।
वानर् भै कन सब् तिमी पनि रह्या साहाय जस्ता भई ॥४९॥

ब्रह्माजी पनि सत्यलोक् गइ गया येती अह्राई वरी ।
इन्द्रादी पनि वानरै भइ रह्या सब् पृथ्विलोक्‌मा झरी ॥
यै बिच्‌मा दशरथ् बडा विर थिया राजा अयोध्या महाँ ।
तिन्‌को वृद्ध उमेर् भयो त पनि एक् छोरा भयेनन् तहाँ ॥५०॥

ताप्‌ले पूर्ण भई गुरू सित गया सोध्या उपायै पनी ।
हे सर्वज्ञ मुने ! कसो गरि हुनन् छोरा मलाई भनी ॥
यस् काम्‌ले फल मिल्छ यो भनि सबै जान्न्या वशिष्ठै थिया ।
यस्तो बिन्ति सुनी वशिष्ठ गुरुले युक्ती बताई दिया ॥५१॥

हुन्छन् पुत्र अवश्य जल्दि महाराज् ! एक् यज्ञ ऐल्हे गर्‍या ।
शान्ताका पति ऋष्यश्रृङ्ग ऋषि छन् ती डाक्नु ऐल्हे पर्‍या ॥
ती हामी बसि यज्ञ एक् हजुरका खातिर् गरौंला जसै ।
चार् छोरा अति विर् हुनन् हजुरका सब् ताप छुट्नन् तसै ॥५२॥

यस्तो अर्ति वशिष्ठको जब सुन्या राजा बहुत् खुस् भया ।
शान्ताका पतिलाइ डाकि कन खुप् याग् गर्न लागी गया ॥
ऋष्यैश्रृङ्ग वशिष्ठ दूइ ऋषिले होम् गर्न लाग्या जसै ।
पायस्‌को थलिया लिई कन तहाँ आया ति अग्नी तसै ॥५३॥

यस् पायस् कन आज लेउ भगवान् ! छोरा हुन्या छन् भनी ।
राजालाइ दिया र पायस तहाँ लूक्या ति अग्नी पनी ॥
राजा खूसि भई दुवै ति ऋषिका कोमल् चरण्‌मा परी ।
कौशल्या र ति केकयी कन दिया पायस् दुवै भाग् गरी ॥५४॥

खानू बाँकि थियो तसै बखतमा आइन् सुमित्रा पनी ।
कौशल्या र ति केकयी सित भनिन् ख्वै भाग मेरो भनी ॥
दूवैले दुइ भाग देखि झिकि भाग् तिन्‌को पुर्‍याई दिया ।
तिन् रानी मिलि तेहि पायस तहाँ सम्पूर्ण खाई लिया ॥५५॥

तीनै रानी ति गर्भिणी पनि भया तेज् देवताका सरी ।
देखीयो सब रानिका सकल लोक् खूसी भया तेस् घरी ॥
कौशल्या जननी गराइ भगवान् श्रीराम पैदा भया ।
देखिन् श्रीप्रभुको चतुर्भुज स्वरुप् सब् माइका ताप् गया ॥५६॥

हात् जोरी बहुतै स्तुती पनि गरिन् ईश्वर् इनै हुन् भनी ।
जान्याँ नाथ ! हजूरलाइ सबका आत्मा स्वरूपी भनी ॥
यो ब्रह्माण्ड पनी सहज् उदरमा लीन्या त आफै थियौ ।
मेरा आज उदर् विषे बसि यहाँ यो जन्म ऐल्हे लियौ ॥५७॥

देख्याँ भक्त उपर् दया हजुरको हे नाथ् ! शरण्‌मा पर्‍याँ ।
यै मूर्ती प्रभुको सदा मन महाँ झल्कोस् पुकारा गर्‍याँ ॥
यस्‌तो दिव्य शरिर् लुकाइ कन बेस् बालक् स्वरुप्‌का बनी ।
दर्शन् देउ मलाइ हेर्छु भगवन् । फेर् बाललीला पनी ॥५८॥

तेही बालकमूर्तिलाइ म यहाँ आलिङ्गनादी गरी ।
सब् पाप् नष्ट गराउँला र करुणा होला र जाँला तरी ॥
यो बिन्ती महतारिको सुनि हुकुम् यो भो प्रभुको तहाँ ।
मातर् ! जुन् छ हजूरको हित कुरो होवस् सबै थोक् यहाँ ॥५९॥

दूवै स्त्री पुरुषै भई अघि ठुलो मेरो तपस्या गर्‍यौ ।
तीमीलाइ म पुत्र पाउँ भनी खुप् इच्छा यसैमा धर्‍यौ ॥
हूँला पुत्र भनेर वर् पनि दियाँ सोही कुराले यहाँ ।
तिम्रो पुत्र भयेर जन्मन गयाँ व्यर्थै म गर्थ्या कहाँ ॥६०॥

कौशल्या सित बात् पनी यति गरि बालक् सरीका बनी ।
चेष्टा बालककै लिया प्रभुजिले खुप् रून लाग्या पनी ॥
थाहा भो दशरथ्‌जिलाइ र गया दर्शन् गर्‍याथ्या जसै ।
देख्तैमा परिपूर्ण मन् हुन गयो आनन्द पाया तसै ॥६१॥

तत्क्षण्‌मा तहिं जातकर्म पनि भो सब् काम् गुरूले गर्‍या ।
कैकेयी तिर ता भरत् हुन गया आनन्दमा सब् पर्‍या ॥
जम्‌ल्याहा दुइ पुत्र पाउँदि भइन् ताहाँ सुमित्रा पनी ।
जेठा लक्ष्मण ता भया ति दुइमा शत्रुघ्न कान्छा बनी ॥६२॥

तिन् रानी तिर चार पुत्र सुकुमार् जन्मी सक्याथ्या जसै ।
भूमी रत्न सुवर्ण वस्त्रहरुका भारी भया दान् तसै ॥
कौशल्यासुतको वशिष्ठ गुरुले नाम् राम भन्नू भनी ।
राख्या केकयिपुत्रको भरत नाम् जम्‌ल्याहको नाम् पनी ॥६३॥

जेठाको शुभ नाम लक्ष्मण गरी जुन् चाहिं कान्छा थिया ।
तिन्‌को नाम् पनि काम माफिक असल् शत्रुघ्न राखी दिया ॥
लक्ष्मण् राम् सित खेल्दछन् भरत थ्यैं शत्रुघ्न खेल्दा भया ।
पायस्‌कै अनुसारले हुन गयो प्रीती त बढ्दै गया ॥६४॥

बालक्‌काल् बिति गै गयो प्रभुजिको सब् बाललीला गरी ।
चारैको व्रतबन्ध भो पढि सक्या सब् शास्त्र खुप् क्षोद् गरी ॥
खेल्या क्यै दिनमा सिकार वनमा साँचा सिकारी बनी ।
राज्‌काज् गर्नु जती थियो सकल त्यो राज्‌काज् चलाया पनी ॥६५॥

राम् हुन् परात्मा ति कहाँ विकारी ।
यस् लोकमा छन् नररूपधारी ॥
काम् गर्न लाग्या ति नरै सरीका ।
लीला अपार् छन् भगवान् हरीका ॥६६॥

राम् नारायण हुन् भनेर मनले जान्या र भेट्छू भनी ।
विश्वामित्र ऋषी बहुत् खुसि हुँदै आया अयोध्या पनी ॥
देख्या श्री दशरथ्‌जिले र बहुतै आदर् ऋषीको गरी ।
सोध्या काम् किन आज आउनु भयो भन्दै बहुत् प्रेम् धरी ॥६७॥

आदर्‌पूर्वकका सुन्या प्रिय वचन् यस्‌ता ऋषीले जसै ।
आफ्नू दर्द जउन् थियो मन महाँ सोही बताया तसै ॥
हे राजन् ! सब पर्व पर्वहरुमा ईश्वर् विषे मन् धरी ।
गर्छू होम्‌हरु कर्म तेस् बखतमा आयेर होम् नाश् गरी ॥६८॥

मारिच्‌ले र सुबाहुले बहुत दिक् गर्छन् र पाप् हुन् भनी ।
दूवैलाइ मराउना कन उठ्यो रिस् आज मेरो पनी ॥
सोही बिन्ति गरूँ भनेर अहिले आयाँ हजुर्‌मा यहाँ ।
जेठा पुत्र मलाइ बक्सनु हवस् लैजान्छु ऐल्हे तहाँ ॥६९॥

लक्ष्मण् साथ् गरि रामलाइ अधिराज् ! ऐल्हे हजुर्‌ले दिया ।
मारिच्‌लाइ सुबाहुलाइ सहजै मार्न्या इनैले थिया ॥
यस्‌मा अर्ति वशिष्ठको लिनु हवस् दीना नदीना महाँ ।
भन्छन् दीनु त बक्सनू पनि हवस् यै काम आयाँ यहाँ ॥७०॥

विश्वामित्रजिको सुन्या वचन यो राजा सकस्‌मा पर्‍या ।
दीऊँ की त न दीऊँ येहि मनमा चिन्ता बहूतै गर्‍या ॥
सोध्या ताहिं वशिष्ठ थ्यैं पनि गुरो ! यस्‌तो पर्‍यो क्या गरू ।
कल्याण् हुन्छ कसो गरेर अहिले अर्ती मिलोस् एक् बरू ॥७१॥

राम्‌लाई म नदेखि बाँच्‌छु कसरी एक् यै कठिन् भो अनी ।
इन्‌लाई नदिया सराप् पनि दिनन् की लाग्छ यस्‌तो पनी ॥
यस्‌मा श्रेय यसो छ यो गर भनी पाऊँछु आज्ञा जसो ।
सोही काम म गर्दछू हित हुन्या कुन् पाठ् छ गर्नू कसो ॥७२॥

यो बिन्ती दशरथ्‌जिको जब सुन्या ताहीं गुरूले पनी ।
राम्‌को गुह्य कुरो सबै भनि दिया यस्‌ता इ राम् हुन् भनी ॥
हे राजन् ! तिमि ता इ राम अहिले हुन् पुत्र मेरा भनी ।
भन्छौ पुत्र त हुन् तथापि इनि हुन् चौधै भुवन्‌का धनी ॥७३॥

भूभार् हर्न निमित्त आज भगवान् यस् पृथ्वितल्‌मा झर्‍या ।
कौशल्या तिर जन्मनू पनि थियो सो सत्य ऐल्हे गर्‍या ॥
कौशल्या दशरथ् दुवै तिमि अघी कश्यप् अदीती थियौ ।
ईश्वर्‌लाइ म पुत्र पाउँ भनि तप् गर्दै समाधी लियौ ॥७४॥

खूसी भै वरदान् दिया प्रभुजिले छोरो म हूँला भनी ।
सोही सत्य गराउना कन यहाँ जन्म्या परात्मा पनी ॥
शेष् हुन् लक्ष्मण शङ्ख हुन् भरतजी शत्रुघ्न चक्रावतार् ।
हुन् को जान्दछ तत्त्व यो बुझ तिमी लीला प्रभूकी अपार् ॥७५॥

मुल् शक्ती प्रभुकी अनन्त गुणकी सो दिव्य मूर्ती बनी ।
छोरी भै ति बस्याकि छन् जनककी सीता छ नाऊँ पनी ॥
सीता राम् दुइको विवाहविधिले संयोग् गराऊँ भनी ।
विश्वामित्रजिका भयो र मनमा आई रह्याछन् पनी ॥७६॥

दीन्यै योग्य म मान्दछू भनि गुरूले अर्ति दीया जसै ।
खुसी भै दशरथ्‌जिले पनि दिया लक्ष्मण् सहित् राम् तसै ॥
राम् लक्ष्मण् कन पाउँदा ऋषि पनी अत्यन्त खूसी भया ।
आशिर्वाद् दशरथ्‌जिलाइ दिइ राम् लक्ष्मण् लिई ती गया ॥७७॥

केही दुर् गइ रामलाइ ऋषिले विद्या सिकाई दिया ।
जुन् विद्या पढि भोक् थकाइ कहिले लाग्‌दैन यस्‌ता थिया ॥
गङ्गाका तिरमा बडो वन थियो पूग्या जसै ती तहाँ ।
विश्वामित्रजीले कह्या प्रभुजि थ्यैं राम् ! ताडका छे यहाँ ॥७८॥

त्यो हो राक्षसि कामरूपि छ बहुत् लोक्‌लाइ बाधा पनी ।
गर्छे यस् कन मारि बक्सनु हवस् यो पापिनी हो भनी ॥
विश्वामित्रजिका वचन्‌कन सुनी श्रीरामजीले पनी ।
टङ्कार् खुप् धनुको गर्‍या सुनि यहाँ त्यो जल्दि आवस् भनी ॥७९॥

त्यो टङ्कार् सुनि ताडका पनि तहाँ दौडेर आई जसै ।
हान्या बाण् प्रभुले गड्यो हृदयमा त्यो बाण् मरी त्यो तसै ॥
यक्षी थी अघिकी सराप् परि तहाँ तेस्‌ती भयाकी थिई ।
राम्‌ले मारि दिंदा त स्राप् पनि टर्‍यो फेर् यक्षिको रुप् लिई ॥८०॥

श्री राम्चन्द्रजिका वरीपरि घुमी प्रेम्‌ले नमस्कार् गरी ।
स्वर्गैमा गइ रामका वचनले बेस् एक् विमान्‌मा चढी ॥
विश्वामित्र ऋषी बहुत् खुसि भया यो कार्य देख्या जसै ।
जो सब् शास्त्ररहस्य हो सब दिया ती रामलाई तसै ॥८१॥

कामाश्रम् रमणीय थल् तहिं थियो एक् रात् तहाँ वास् गरी ।
फेर् सिद्धाश्रममा गया रघुपती सब्‌लाइ मङ्गल् गरी ॥
तेस् सिद्धाश्रममा अनेक् ऋषि थिया पूजा सबैले गर्‍या ।
मारिच् फेक्न सुबाहु मार्न कन राम् ताहाँ अगाडी सर्‍या ॥८२॥

विश्वामित्रजिलाइ भन्नु पनि भो मारिच् सुबाहू कहाँ ।
बस्छन् यज्ञ ठुलो गरी लिनु भया ती आउँथ्या की यहाँ ॥
भेटै आज भयेन मार्नु कसरी यो मर्जि सून्या जसै ।
विश्वामित्र ऋषी अरू ऋषि लिई होम् गर्न लाग्या तसै ॥८३॥

दिन् मध्याह्न भयो तसै बखतमा आया ति राक्षस् पनी ।
मर्न्या काल् कन चाल् न पाइ अघि झैं होम् नाश् गरौंला भनी ॥
काहीं हाड खसाउँछन् कहिं रगत् यस्‌ले प्रकार्‌ले गरी ।
आया ती जब यज्ञमा प्रभुजिले हान्या अगाडी सरी ॥८४॥

मारिच्‌लाइ त बाणले जलधिका तिर्‌मा पुर्‍याई दिया ।
अग्नीबाण धरी सुबाहु कन ता भस्मै गराई दिया ॥
तिन्‌का फौज् पनि ताहिं लक्ष्मणजिले मारी सक्याथ्या जसै ।
खूसी भै कन पुष्पवृष्टि गरियो सब् देवताले तसै ॥८५॥

विश्वामित्र बहुत् प्रसन्न हुनु भै राम्‌लाइ काख्‌मा लिया ।
भोजन् गर्न निमित्त राम् कन तहाँ मीठा फलादी दिया ॥
तिन् दिन् ताहिं मुकाम् गर्‍या प्रभुजिले वार्ता कथाको गरी ।
चौथा दिन् ऋषिले गर्‍या विनति एक् राम्‌का अगाडी सरी ॥८६॥

हे राम् ! जाउँ जनक्‌जिका पुरि महाँ राजा जनक् छन् बडा ।
गर्नन् आदर भक्तिले हजुरका साम्‌ने हुन्या छन् खडा ॥
ताहाँ एक शिवको धनुष् पनि छ बेस् देखीयला त्यो पनी ।
यो बिन्ती ऋषिको सुनेर रघुनाथ् खूसी भया बेस् भनी ॥८७॥

विश्वामित्र र भाइ लक्ष्मण लिई श्रीराम् हिंड्याथ्या जसै ।
आश्रम् गौतमको पर्‍यो नजरमा गङ्गाकिनार्‌मा तसै ॥
आश्रम्‌का नजिकै असल् फल सहित् फुल्‌को बघैंचा थियो ।
जन्तू नाम् त थियेन कोहि त पनी संभार्‌विनै त्यो जियो ॥८८॥

मालुम् राम्‌कन क्या कहीं कमि थियो जो ता जगत्‌का धनी ।
सोध्या तै पनि यो असल् छ किन यो रित्तै बघैंचा भनी ॥
विश्वामित्र थिया सबै गुणनिपुण् विस्तार् सुनाया पनी ।
गौतम्‌को अघि बस्ति हो अब भन्या छैनन् यहाँ क्वै पनी ॥८९॥

भार्या गौतमकी समान गुणकी भक्तै अहल्या थिइन् ।
ब्रह्माकी ति त पुत्रि हुन् गुणि हुँदा सब् खुस् गराई लिइन् ॥
गौतम् कार्य निमित्त दुर् जब गया रुप् गौतमैको सरी ।
धारी गौतमपत्निका नजिकमा इन्द्रै अगाडी सरी ॥९०॥

आई भोग विलास् गरेर खुसि भै फर्की गयाथ्या जसै ।
देख्या गौतमलाई गौतमजिले आश्चर्य मान्या तसै ॥
आफ्नू रूप दुरुस्त देखि कन खुप् गौतम् रिसाया पनी ।
सोध्या होस् तँ कउन् बता नतर ता हेर् भस्म गर्छू भनी ॥९१॥

ब्राह्मण् ! इन्द्र म हूँ भनेर डरले बिन्ती गर्‍याथ्या जसै ।
गौतम्‌ले पनि रीसमा परि दिया यस्‌तो सराप् पो तसै ॥
योनीमा अति लुब्ध आज भइछस् यत्रो बडो भै पनी ।
तेरा येहि शरीरमा अब हुनन् हज्जार योनी भनी ॥९२॥

दीया येति सराप् र इन्द्र पनि फेर् आफ्ना स्थलैमा गया ।
पत्नीलाइ सराप् दियेर ऋषिले पत्थर् बनाईदिया ॥
जन्तू कुछ् नहुनन् यहाँ अब उपर् पत्थर् भई तैं रह्यास् ।
जैले ता रघुनाथ् चरण् धरि दिनन् तैले तँ मुक्तै भयास् ॥९३॥

यस्‌तो सत्य सराप् पर्‍यो र पतिको ताहीं अहल्या पनी ।
पृथ्वीमा गिरि गै गइन् अचल एक् पत्थर् स्वरुप्‌की बनी ॥
पादस्पर्श ति खोज्दथिन् हजुरको पाप् मुक्त होला भनी ।
तिन्‌लाई करुणा गरी हजुरले कुल्ची दिन्या हो भनी ॥९४॥

यस्‌तो बिन्ति सुन्या जसै ति ऋषिका श्रीराम् तुरुन्तै गया ।
देख्या पत्थर एक् ठूलो र रघुनाथ्‌ले कुल्चि दींदा भया ॥
सुन्दर् मूर्ति भइ खडा भइ गइन् ताहाँ अहल्या पनी ।
श्रीराम्‌चन्द्रजिले प्रणाम् पनि गर्‍या ई ब्राह्मणी हुन् भनी ॥९५॥

देखिन् श्री रघुनाथलाइ र तहाँ खुशी अहल्या भइन् ।
पूजा स्तूति गरेर राम् सित बिदा मागी पती थ्यैं गइन् ॥
ताहाँ देखि चल्या र जल्दि रघुनाथ् गङ्गाजिका तिर् झर्‍या ।
तर्नाको प्रभुले जसै मन गर्‍या माझी चरण्‌मा पर्‍या ॥९६॥

ख्वामित् ! ई दुइ पाउको अति असल् धूलो जसै ता पर्‍यो ।
पत्थर् हो त पनी मनुष्य सरिको सुन्दर् स्वरूपै धर्‍यो ॥
तस्‌तै पाठ यहाँ भयो पनि भन्या डुङ्गा स्वरुप् धर्दछन् ।
डुङ्गाले पनि रुप् धर्‍या यदि भन्या हाम्रा जहान् मर्दछन् ॥९७॥

तस्मात् पाउ पखालि वारि तिरमा हाम्रा सिरोपर् धर्‍यौ ।
येती बात गर्‍यौ भने त तिमि ता गङ्गाजिका पार् तर्‍यौ ॥
यस्‌तो बिन्ति सुनी तहाँ प्रभुजिले पाऊ अगाडी दिया ।
माझीले जलले पखालि उहि जल् आफ्ना सिरोपर् लिया ॥९८॥

यस्‌ता रित् सित नाउमा चढि सहज् गङ्गाजिका पार् गया ।
श्याम्‌सुन्दर् रघुनाथ् बहुत् खुसि हुँदै दाखिल् जनकपुर् भया ॥
विश्वामित्र ऋषी बहुत् खुसि हुँदै दूई कुमार् साथ् गरी ।
आया यस् पुरिमा भनी जब सुन्या दौड्या जनक् तेस् घरी ॥९९॥

पूग्या प्रश्न गर्‍या सबै कुशलको पाऊ महाँ सिर् धरी ।
देख्या सुन्दर राज्‌कुमार् जनकले पूज्या ति ईश्वर् सरी ॥
पक्का गर्न निमित्त फेर् जनकले सोध्या ऋषी थ्यैं पनी ।
जान्या जान्न त चित्तले त भगवान् विष्णू इनै हुन् भनी ॥१००॥

ब्रह्मन् ! पुत्र इ हुन् कउन् पुरुषका विस्तार् हवस् बेस् गरी ।
क्लेश्‌को लेश न राखि यस् बखतमा मेरो लग्या मन् हरी ॥
विश्वामित्रजिले सुन्या विनति यो राजा जनक्‌को जसै ।
यस्‌ता हुन् इ भनेर सब् ति ऋषिले विस्तार् बताया तसै ॥१०१॥

हे राजन् ! दशरथ्‌जिका इ सुत हुन् नाम् राम लक्ष्मण् भनी ।
भन्छन् मानिसले गरी न सकिन्या गर्छन् पराक्रम पनी ॥
मारिच्‌लाइ सुबाहुलाइ अरु ता को जित्‌न सक्न्या थिया ।
राम्‌ले मारिचलाइ फेंकि सहजै सूबाहु मारी दिया ॥१०२॥

पत्थर् भै कति वर्ष सम्म रहँदी गौतम्‌कि नारी थिइन् ।
पाऊले तहिं कुल्चँदा उठि गइन् जस्‌ता कि तस्‌ती भइन् ॥
याहाँ एक् शिवको धनू छ भनि यो सूनेर आया यहाँ ।
देख्नाको मतलब् छ आज त यहाँ राखी रह्याछौ कहाँ ॥१०३॥

चाँडो आज नजर् गराउ भनि यो विस्तार् गर्‍याथ्या जसै ।
मन्त्रीलाइ हुकुम् दिया जनकले लौ ल्याउ भन्न्या तसै ॥
यै बिच्‌मा ऋषि थ्यैं भन्या जनकले राम्‌ले उचालुन् धनू ।
सीता छोरि म दिन्छु राम् कन गरुन् बीहा बहुत् क्या भनू ॥१०४॥

साँचा वाणि सुन्या र सोहि रितका बात्‌चित् गर्‍याथ्या जसै ।
पाँच् हज्जार् विरले उचालि बलले ल्याया धनूषै तसै ॥
ताहाँ श्री रघुनाथ् उठेर नजिकै सोही धनू थ्यैं गया ।
वाम् हात्‌मा सहजै उचालि धनु त्यो राम्‌ले त लींदा भया ॥१०५॥

ताँदो जल्दि चढाइ खैंचनु भयो ताहाँ धनुष्‌कै जसै ।
दूई टूक भई गिर्‍यो उ धनु ता खूसी भया सब् तसै ॥
हर्षै हर्ष भयो तसै बखतमा सारा जनक्‌पुर् भरी ।
आदर् खुप् प्रभुको गर्‍या जनकले आलिङ्गनादी गरी ॥१०६॥

सीताजी पनि रामका सिर उपर् माला कनक्‌को धरी ।
छम् छम् पाउ गरी फिरिन् घर महाँ मङ्गल् भयो तेस् घरी ॥
मालिक् हुन् दशरथ् खबर् दिनु पर्‍यो ती छन् अयोध्या महाँ ।
जाउन् पत्र लियेर मानिसहरू चाँडो ति आउन् यहाँ ॥१०७॥

यस्तो बिन्ति जनक्‌जिले पनि गर्‍या लेखेर विस्तार् दिया ।
विस्तार्‌पत्र लियेर दुत्‌हरु पनी जल्दी अयोध्या गया ॥
यो विस्तार सुन्या जसै ति नृपले आनन्दमा ती पर्‍या ॥
सब्‌ले जानु पर्‍यो जनक्‌पुर महाँ भन्न्या हुकुम् यो गर्‍या ॥१०८॥

जम्मा लस्कर भै गयो क्षण महाँ जल्दी जनक्‌पुर् पुग्यो ।
क्या वर्णन् भिडको गरूँ तस बखत् खाली अयोध्या भयो ॥
यस्‌ता रित् सित सब् गया जति थिया सेना जनक्‌पुर् महाँ ।
दाखिल् भो दशरथ्‌जिका हुकुमले हर्षै बढ्यो खूप् तहाँ ॥१०९॥

ताहाँ श्री दशरथ्‌जिको जनकले आदर् बहूतै गर्‍या ।
लक्ष्मण्‌ले सँग राम् पनी तहिं पिताजीका चरण्‌मा पर्‍या ॥
बस्नालाइ हवेलि सुन्दर जनक्‌जिले खटाया जहाँ ।
खूसी भै दशरथ् पनी गइ बस्या तेसै हवेली महाँ ॥११०॥

सुन्दर् लग्न खटन् गर्‍या जनकले मङ्गल् सहर्‌मा चल्या ।
नाच् कीर्तन् सितका प्रकाश् कन हुन्या रात्‌मा चिराक् खूप् बल्या ॥
जो मण्डप् छ विवाहको तस उपर् झुम्‌का हिराका झुल्या ।
मूँगा मोति जुहार् जनक्‌पुर महाँ घर् घर् सबैका झुल्या ॥१११॥

यस्‌तै रित् गरि सब् विवाहविधिले चारै जना भाइको ।
हर्षैले परिपूर्ण मन् हुन गयो सीताजिका माइको ॥
राम् लक्ष्मण् दुइलाइ ता जनकले आफ्ना ति छोरी दिया ।
भाईका त भरत्‌जिलाइ र ति विर् शत्रुघ्नलाई दिया ॥११२॥

सीता पत्नि भइन् रमापतिकि ता लक्ष्मण्‌जिकी उर्मिला ।
पत्नी हुन् श्रुतकीर्ति ता भरतकी शत्रुघ्नकी माण्डवी ॥[1]

जस्‌तै आफू थिया अनन्त गुणका चौधै भुवन्‌का धनी ।
आभ्यन्तर्‌मनले विचार गरदा तस्‌तै ति पत्नी पनी ॥११३॥

विश्वामित्र वशिष्ठ दूइ ऋषि थ्यैं यस्‌ती सिता हुन् भनी ।
उत्पत्ती अघिको सबै जनकले विस्तार् बताया पनी ॥
जान्थौं भूमि पवित्र गर्न भनि एक् क्वै यज्ञ गर्दा महाँ ।
जोत्तामा त सिताजि निस्कन गइन् आश्चर्य मान्याँ तहाँ ॥११४॥

पाल्याँ छोरि भनेर नाम् पनि असल् सीताजि राखी दियाँ ।
गर्थिन् बालकमा अनेक् तरहका लीला म खूसी थियाँ ॥
राम् नाम्‌ले दशरथ्‌जिका सुत भई खेल्छन् अयोध्या महाँ ।
तिम्री पुत्रि सिता उनै प्रभुजिकी माया ति आइन् यहाँ ॥११५॥

यो लीला छ बुझी सिता कन तिनै राम्‌लाइ दीया भनी ।
नारद्‌जी उठि गै गया उहि सुनी याद् भो मलाई पनी ॥
कुन् पाठ्ले अब रामलाइ म सिता पारूँ विचार् यो गर्‍याँ ।
थीयो यो शिवको धनुष् यहिं यसैमा यो प्रतिज्ञा गर्‍याँ ॥११६॥

ताँदो यस् धनुको चढाउन जउन् विर्‌ले त सक्‌ला यहाँ ।
सीता छोरि दिन्याछु तेस् कन फिका होवैन यस् बात महाँ ॥
जानुन् सब् विरले भनी कन गर्‍याँ यस्‌तो प्रतिज्ञा जसै ।
यो सूनी कन देशका विरहरू आया तुरुन्तै तसै ॥११७॥

को सक्‌थ्यो धनु त्यो उठाउन विना श्रीराम् अगाडी सरी ।
हिक्‌मत् हारि सबै घरै फिरि गया दर्शन् धनूको गरी ॥
राम्‌ले पूर्ण गराइ बक्सनु भयो मेरो प्रतिज्ञा पनी ।
यो चीन्ह्याँ पनि सब् कृपा चरणले गर्दा भयाको भनी ॥११८॥

विश्वामित्रजि थ्यैं पनी जनकले बिन्ती अगाडी सरी ।
सीतानाथ् रघुनाथको स्तुति गर्‍या आनन्दमा ती परी ॥
दाईजो सय कोटि दौलत सहित् बेस् बेस् अयुत् रथ् दिया ।
घोडा ता सय लाख् दिया छ सय ता खुप् मत्त हात्ती थिया ॥११९॥

पैदल् लस्कर एक लाख् र सय तिन् केटी दियाथ्या जसै ।
पूजा फेरि वशिष्ठको पनि गर्‍या भारी डबल्‌ले तसै ॥
पूजा ताहिं भरत्‌जिको पनि भयो लक्ष्मण्‌हरूको पनी ।
इच्छा भो रघुनाथको अब फिरौं जाऊँ अयोध्या भनी ॥१२०॥

जानाको मतलब् बुझी जनकजी राम्‌का चरण्‌मा पर्‍या ।
खूसी मन् सबको गराइ बहुतै बीदा जनक्‌ले गर्‍या ॥
सीताजी महतारिका अघि गई आलिङ्गनादी गरी ।
लागिन् रून र सोहि सूनि सबका आँसू खस्या बर्बरी ॥१२१॥

सीताजी कन अर्ति यो पनि दिया सासू ससूरा सरी ।
अर्को छैन बडो यही बुझि गर्‍या तिन्‌को टहल् बेस् गरी ॥
स्त्रीको धर्म पतिव्रता हुनु ठुलो जानेर हूनू भनी ।
अर्ती येति दिया र तेस् बखतमा बीदा भया ती पनी ॥१२२॥

यै बिच्‌मा नगरा बज्या प्रभुजिका भेरी मृदङ्गा पनी ।
स्वर्गैमा पनि हर्ष भो प्रभु गया फेरी अयोध्या भनी ॥
राम्‌को लस्कर बाह्र कोस् जनकपुर् देखी जसै ता गयो ।
शङ्का चित्त महाँ बडो भय दिन्या उल्का बहूतै भयो ॥१२३॥

यस् पृथ्वीतलका ति क्षत्रिहरुको ठूलो विनाशै गरी ।
आया तेस् बिचमा तहीं परशुराम् उल्का भयो जुन् घरी ॥
पृथ्वी कम्प भइन् तसै बखतमा हाहा सबैमा परी ।
राजाका मनमा विचार् यहि पर्‍यो छोरा बचुन् क्या गरी ॥१२४॥

यस्‌तो चञ्चल चित्तले परशुराम्‌का पाउतल्‌मा पर्‍या ।
मेरा पुत्र बचुन् प्रभो परशुराम् ! भन्न्या इ बिन्ती गर्‍या ॥
यस्‌तो बिन्ति पनी अनादर गरी कालाग्नि जस्‌ता भया ।
राम्‌को गर्व हरूँ भनी परशुराम् राम्‌कै अगाडी गया ॥१२५॥

कस्‌को पुत्र तँ होस् बता म कन रे जाबो पुरानू धनू ।
भाँच्‌दैमा अति गर्व भो तँ कन ता धेरै कुरा क्या भनू ॥
यो ता हो हरिको धनू विर भया ताँदो यसैमा चढा ।
भन्दै खुप् रिसले रह्या परशुराम् राम्‌कै अगाडी खडा ॥१२६॥

ताँदो आज चढाउँछस् त यसमा सङ्ग्राम् तँ थ्यैं गर्दछू ।
सक्तैनस् तब हेर् म राख्दिन सबैको प्राण् सहज् हर्दछू ॥
यस्‌ता क्रूर वचन् गरी परशुराम् कालाग्नि झैं रूप् धर्‍या ।
पृथ्वी कम्प गराइ लोकहरुको सम्पूर्ण सातो हर्‍या ॥१२७॥

यस्‌तो क्रूर वचन् सुनेर रघुनाथ् क्रोध्‌ले अगाडी सरी ।
खोसी लीनु भयो धनुष् परशुराम्‌को त्यो बलैले गरी ॥
ताँदो जल्दि चढाइ बाण् पनि तहाँ लीनु भयेथ्यो जसै ।
ठूलो बल् रघुनाथको बुझि सबै खूसी भयो लोक् तसै ॥१२८॥

हूकुम् श्री रघुनाथको परशुराम्‌लाई भयो यो तहाँ ।
तारो आज बताउ हान्छु अहिले ब्रह्मन् ! म हानू कहाँ ॥
चाँडो उत्तर देउ यस् बखतमा यस्‌लाइ लौ हान् भनी ।
तारो क्यै न दिया त काट्छु अहिले तिम्रा इ गोडा पनी ॥१२९॥

हूकुम् येति गरेर तेज् परशुराम्‌को खैंचनू भो जसै ।
चीन्ह्या श्रीरघुनाथलाइ अघिको वृत्तान्त सम्झ्या तसै ॥
बिन्ती येति तहाँ गर्‍या पनि हरे ! चिन्ह्याँ जगन्नाथ् भनी ।
जस्‌को अंश मिल्यो र केहि भगवन् ! यस्‌तो भयाँ मै पनी ॥१३०॥

पापी भो अति कार्तवीर्य अब ता यस्‌लाइ मार्छू भनी ।
बालक् पो म थियाँ गर्‍याँ हजुरको ठूलो तपस्या पनी ॥
यस्‌तो वर् खुसि भै मलाइ दिनु भो शक्ती समेत्‌को गरी ।
इच्छा पूर्ण हुन्याछ जाउ अब ता क्यै शक्ति मेरो लिई ॥१३१॥

पैल्हे मार र कार्तवीर्य कन फेर् सब् क्षत्रिको नाश् पनी ।
एक्काईस बखत् गर्‌या प्रभुजिको हूकुम् छ यस्‌तै भनी ॥
क्षत्रीशून्य भयाकि पृथ्वि तिमिले कश्यप्‌जिलाई दिया ।
येती कर्म गरी सकेर अघिको सेखी पुर्‍याई लिया ॥१३२॥

त्रेतामा अवतार् लिन्याछु नरमा राम् नाम् जगत्‌मा धरी ।
भेट् होला तिमि थ्यैं उही बखतमा यो शक्ति फेरी हरी ॥
ताहाँ देखि तपै गरेर रहनू ब्रह्मैजिका दिन् भरी ।
येती अर्ति मलाइ दी कन गया बैकुण्ठधाम्‌मा हरी ॥१३३॥

मैले काम् पनि सो सबै गरि सक्याँ राम्‌लाइ भेट्याँ पनी ।
मेरो शक्ति हजूरले हरि लिंदा चीन्ह्याँ प्रभू हुन् भनी ॥
मेरो जन्म सफल् भयो सहजमा पायाँ परात्मा पनी ।
बूझ्याँ तत्त्व सबै पनी हजुरको पात्रै कृपाको बनी ॥१३४॥

जो छन् भक्त हजूरका ति सँगको सत्सङ्ग मेरो हवस् ।
यो भक्ती दृढ भै प्रभो ! हजुरका येही चरण्‌मा रहोस् ॥
येती बिन्ति तहाँ गरी सकल पाप् पुण्यै समर्पण् गर्‍या ।
इच्छित् वर् प्रभुले दिंदा परशुराम् आनन्दमा ती पर्‍या ॥१३५॥

ताहीं श्री रघुनाथका वरिपरी घूमी नमस्कार् गरी ।
मर्जीले ति गया महेन्द्र गिरिमा मन् राम् चरण्‌मा धरी ॥
देख्या तेज् दशरथ्‌जिले र सुतको हर्षाश्रुधारा धरी ।
प्रेम्‌का सागरमा तहीं डुबि गया आलिङ्गनादी गरी ॥१३६॥

येती काम् गरी राम् गया सहजमा पूग्या अयोध्या महाँ ।
सीतालाइ लियेर राज्य सुख भोग् राम्‌ले गर्‍या क्यै तहाँ ॥
क्यै दिन् भानिज हुन् भरत् कन यहीं ल्याऊँ घरैमा भनी ।
भानिज्‌लाइ लिना निमित्त खुसिले आया युधाजित् पनी ॥१३७॥

बीदा श्री दशरथ्‌जिले पनि दिया बीदा मिलेथ्यो जसै ।
एक् शत्रुघ्न लिई भरत्‌जि त गया मामा कहाँ पो तसै ॥
आया राम बिहा गरेर पुरिमा जस्सै उठेथ्यो खबर् ।
सारा रैयतको प्रसन्न मन भो हुन्थ्यो खुसी क्या अबर् ॥१३८॥

सीताराम् अघि तप् गरिन् र त यहाँ छोरा बुहारी भया ।
कौशल्या कन ता मिल्यो अदितिको शोभा सबै ताप् गया ॥
सीताराम् पनि लोकमा सकलको आनन्दमङ्गल् गरी ।
चेष्टा मानिसको गरी कन रह्या त्रैलोक्यका नाथ् हरी ॥१३९॥

इति श्रीबालकाण्ड ॥

  1. उर्मिला र माण्डवीमा अनुप्रास मिलेको छैन । भरतकी रानिको नाऊँ माण्डवी हो औ शत्रुघ्नकी रानीको नाऊँ श्रूतकीर्ति हो । वाल्मीकिय रामायण–नमेवमुक्त्वा जनको भरत चाभ्यभाषत । गृहाण पाणिं माण्डव्याः पाणिना रघुनन्दन । शत्रुघ्नं चापि धर्मात्मा अब्रवीन्मिथिलेश्वरः । श्रुनकीर्तेर्महाबाहो पाणीं गृह्णीष्व पाणिना । अनएव अध्यात्म रामायणको "नथैव श्रुतकीर्ति च माण्डवीं भ्रातृकन्यके । भरताय ददावेकां शत्रुघ्नायापरां ददौ ।" भन्ने श्लोकको अर्थ वाल्मीकीय रामायणका श्लोक बमोजिम लाउनु पर्छ अर्थात् माण्डवी र श्रुतकीर्ति दुई वटी मद्धे यौटी भरतलाई दिये औ अर्की शत्रुघ्नलाई दिये भन्ने लाउनु पर्छ । "एकां" को "पूर्वा" भन्ने अर्थ हुँदैन यो भूल कस्‌को हो सो भन्नु गाहारो छ भानुभक्तको ता होइन होला । सार्नेहरुको भूल हुना सक्‌छ तर भानुभक्तद्वारा स्वयं लिखित रामायण न पाई निश्चित भन्नु असंभव छ । सं.