Bhanubhaktako ramayan/shriaranyakanda
अत्रीका आश्रमैमा बसि रघुपतिले प्रेमले दिन् बिताई ।
दोस्रा दिन्मा सबेरै उठि कन वनमा जान मन्सुब् चिताई ॥
अत्रीजीका नजिक्मा गइ कन अब ता जान्छु बीदा म पाऊँ ।
रस्ता यो जाति होला भनिकन कहन्या एक् अगूवा म पाऊँ ॥१॥
सीताराम्को हुकुम् यो सुनि कन ऋषिले भन्दछन् क्या पठाऊँ ।
सब्को रस्ता त देख्न्या यहिं हजुर भन्या कुन् अगूवा पठाऊँ ॥
चिन्छू लीला हजुर्को तर पनि अगुवा याहिं अस्सल् खटाई ।
यै मर्जी पूर्ण गर्ना कन पनि अगुवा आज दिन्छू पठाई ॥२॥
अत्रीले बिन्ति येति गरि कन अगुवा शिष्य धेरै खटाया ।
केही रस्ता त आफैं पनि पछि पछि गै रामलाई पठाया ॥
एक् कोस् तक् पौंचदामा बडि नदि बहँदी नाउले तर्नु पन्र्या ।
मिल्थिन् त्यो तारि फर्क्या मढितिर ऋषिका शिष्य सब् फिर्नु पन्र्या ॥३॥
सीताराम् वनमा पुग्या वन थियो साह्रै खजित्को तहाँ ।
बाघ् भालू अरु दुष्ट राक्षसहरू डुल्छन् निरन्तर जहाँ ॥
ताहीं पौंचि हुकुम् भयो प्रभुजिको भाई तयारी भई ।
सीताका म अगाडि हिंड्छु तिमिले हिंड्नू पछाडी रही ॥४॥
यस्ता बात् गरि राम लक्ष्मण तहाँ हिंड्थ्या तयारी भई ।
एक् सुन्दर् वनमा तलाउ मिलि गो ठूलो छ कोस् वन् गई ॥
ठण्डा जल् तहिं पान् गरेर रघुनाथ् छाया बस्याथ्या जसै ।
आयो ताहिं विराध राक्षस ठुलो डर् दीन लाग्यो तसै ॥५॥
को हौ स्त्री पनि साथमा छ किन यो आयौ बडा वन् महाँ ।
कस्तो सुर् मनमा छ फेर् अब उपर् जानू छ इच्छा कहाँ ॥
मैले सुन्दर गाँस् बनाउन असल् मान्याँ र सोध्याँ यहाँ ।
सब् नाम् काम समेत् बताउ तिमिले जुन् काम् छ जान्छौ जहाँ ॥६॥
राक्षस्का इ वचन् सुनी प्रभुजिले नाम् काम् बताया सबै ।
बाँच्नै मन् छ भन्या सिता र हतियार् छोडेर जाऊ उसै ॥
यस्तो बोलि सिताजिलाइ लिन सुर् बाँधेर राक्षस् जसै ।
दौडेथ्यो रघुनाथले पनि ति हात् दूवै गिराया तसै ॥७॥
जस्सै हात गिर्या तसै त रिसले खाँ रामलाई भनी ।
दौडन्थ्यो मुख बाइ फेर् प्रभुजिले काट्या ति गोडा पनी ॥
हात् गोडा न हुँदा त सर्प सरिको पस्र्यो भुमीमा जसै ।
हात् गोडा सब काटिया त पनि फेर् घस्रेर आयो तसै ॥८॥
घस्री घस्रि उ सर्दथ्यो प्रभुजिले काट्या तहाँ सिर् पनी ।
विद्याधर्गण हो छुटोस् अब सराप् जावस् परम्धाम् भनी ॥
राक्षस्देह मर्यो सराप् पनि टर्यो विद्याधरै फेर् भयो ।
श्री राम्को स्तुति खुप् गरेर खुसि भै फेर् स्वर्ग लोक्मा गयो ॥९॥
जस्सै स्वर्ग विराध् गयो प्रभुजिले रस्ता वनैको लिया ।
पालन् गर्छु म योगिको अब भनी मन्मा दया खुप् लिया ॥
ध्यान् गर्दै शरभङ्गजी वन महाँ जाहाँ बस्याका थिया ।
ताहीं श्री रघुनाथजी खुसि हुँदै पौंचेर दर्शन् दिया ॥१०॥
ताहाँ श्री शरभङ्गले प्रभुजिमा तन् मन् वचन् सब् धरी ।
आफ्नू कर्म जती थियो तहिं तती सम्पूर्ण अर्पण् गरी ॥
अस्सल् ताहिं चिता बनाइ हरिको दर्शन् नजर्ले गरी ।
ताहाँ देहदहन् गरी चलिगया संसार सागर् तरी ॥११॥
मुक्ती श्री शरभङ्गको जब भयो तस्सै मुनीश्वर्हरू ।
आया भेट्न भनी बहुत् खुसि भई वन्मा थिया जो अरू ॥
हात् जोरी स्तुति खुप् गर्या ति ऋषिले ख्वामित् इनै हुन् भनी ।
कोमल् चित्त गरी तहाँ नजरले हेर्या प्रभूले पनी ॥१२॥
बिन्ती सब् ऋषिले गर्या हजुरमा हाम्री विपत्ती पनी ।
देख्या पूर्ण दया हून्या थिइ बहुत् आपत् रह्याछन् भनी ॥
जाऊँ सब् ऋषिका मढी मढि विषे वाहीं गई यो दया ।
होला चित्त विषे भनी ति ऋषिले भन्दा प्रभूजी गया ॥१३॥
देख्या तेस् वनमा अनेक् पृथिविमा खप्पर् र सोध्या तहाँ ।
कस्का खप्पर हुन् अनेक् नजरले देख्छू मर्याका यहाँ ॥
श्री सीतापतिका वचन् सुनि तहाँ बिन्ती ऋषीले गर्या ।
ई सिर् हुन् ऋषिका यहाँ छल परी धेरै ऋषीश्वर् मर्या ॥१४॥
राक्षस्का छलले बहुत् ऋषि मर्या भन्न्या कुरा यो सुनी ।
ताहाँ सब् ऋषिलाइ राखि सबका साम्ने प्रतिज्ञा पनी ॥
सब् राक्षस्हरुको म नष्ट गरुँला भन्न्या प्रभूले गर्या ।
खूसी मन् हुन गो र ताहिं ऋषि ता आनन्दमा सब् पर्या ॥१५॥
केही वर्ष बिताइ ताहिं हरिले सब् योगिको ताप् हर्या ।
माया फेरि सुतीक्ष्णका उपर भै प्रस्थान् प्रभूले गर्या ॥
जाहाँ भक्त सुतीक्ष्ण छन् तहिं गई दर्शन् प्रभूले दिया ।
पूजा पूर्ण गरी सुतीक्ष्ण ऋषिले राम्लाइ मन्मा लिया ॥१६॥
सायुज्यै मुक्ति मिल्ला तिमि कन सुन यो देह जैले त छुट्ला ।
भन्न्या आज्ञा प्रभूको सुनि कन अब ता कर्मको पाश टुट्ला ॥
भन्न्या यो मन् ऋषीको हुन गइ बहुतै चित्तमा हर्ष पाया ।
सीताराम्ले अगस्ती सित गइ कछु दिन् बस्न मन्ले चिताया ॥१७॥
प्रभूका साथैमा पछि पछि सुतीक्ष्णै पनि गया ।
अगस्तीका भाई सित पुगि त एक् रात् प्रभु रह्या ॥
ति अग्नीजिह्वा खूप् खुसि पनि भया ईश्वर भनी ।
चिह्नी ताहाँ तिन्ले विधि सित गर्या पूजन पनी ॥१८॥
तहाँ देखी सीतापति उठि सबेरै चलि गया ।
अगस्ती काहाँ छन् भनी खबर ली दाखिल भया ॥
अगस्तीले खुस् भै स्तुति गरि बहुत् मन् पनि धर्या ।
विराट् रुप्ले वर्णन् गरि कन त पूजा पनि गर्या ॥१९॥
सुन्दर् धनू र तरवार् सँग बाण् धर्याका ।
ठोक्रा त जोडि अघि इन्द्रजिले धर्याका ॥
ताहीं थिया सब दिया रघुनाथलाई ।
बिन्ती गर्या सकल भार् हर आज जाई ॥२०॥
आठ् कोसमा असल पञ्चवटी भन्याको ।
आश्रम् असल् छ रमणीय बहुत् बन्याको ॥
ताहीं बसेर कछु दिन् तिमिले बिताऊ ।
सब् साधु माथि करुणा तहिं गै चिताऊ ॥२१॥
यस्तो अगस्ति ऋषिको उपदेश पाई ।
श्री राम् तयार् पनि भया तहिं जानलाई ॥
मालुम् थियो त पनि जुन् ऋषिले बताया ।
सो मार्ग जान कन पाउ उतै चलाया ॥२२॥
जान्थ्या प्रभू अलिकती पर केहि जाई ।
जङ्गल् विषे अधिक वृद्ध जटायुलाई ॥
देख्या र राक्षस भनी कन मार्नलाई ।
माग्या धनू प्रभुजिले र लिला जनाई ॥२३॥
मान्र्या कुरा सुनि जटायु बहुत् डराई ।
राजाजिको प्रिय सखा हुँ भनी कराई ॥
गन्र्याछु हित् यहिं बसी म सिताजिलाई ।
कल्याण् मिलोस् हजुर देखि बहुत् मलाई ॥२४॥
श्री रामले पनि तहाँ अति खूसि मन्ले ।
आनन्द निर्भय दिया पछि फेरि तिन्ले ॥
ख्वामित् शरण् छु भनि खुप् सित बिन्ति लाया ।
श्री राम् तहाँ पछि त पञ्चवटी त आया ॥२५॥
डेरा पर्यो प्रभुजिको तहिं बीच वन्मा ।
एकान्त देखि कन हर्ष भयो र मन्मा ॥
आनन्दपूर्वक रह्या रघुनाथ ताहीं ।
आर्को त आश्रम नजीक थियेन काहीं ॥२६॥
एकान्त देखि कन लक्ष्मणले चरण्मा ।
बिन्ती गर्या रघुपते म त छू शरण्मा ॥
ज्ञान् कुन् कहिन्छ भनि कुन् त कहिन्छ विज्ञान् ।
जान्दीन केहि म विषे त ठुलो छ अज्ञान् ॥२७॥
आज्ञा हवस् सकल तत्त्व म सुन्न पाऊँ ।
जान्न्या पुरुष् अरु छ को र कता म जाऊँ ॥
यो बिन्ति लक्ष्मणजिको सुनि हर्ष पाया ।
लक्ष्मण्जिलाइ सब तत्त्व तहीं बताया ॥२८॥
यै ज्ञान् कहिन्छ सुन येहि कहिन्छ विज्ञान् ।
यो रित् गरी कन बस्या हुँदि छुट्छ अज्ञान् ॥
खोलेर येहि रितले प्रभुले बताया ।
लक्ष्मण्जिले पनि तहिं सब तत्त्व पाया ॥२९॥
यै बीचमा नजिक शूर्पणखा त आई ।
देख्या तहाँ प्रभुजिले पनि दुष्टलाई ॥
कन्दर्पका वश परी प्रभुका नजिक् गै ।
सोधी तहाँ प्रभुजिलाइ बहूत खुस् भै ॥३०॥
नाम् सब् कह्या प्रभुजिले जब नाम सूनी ।
ऐल्हे म भज्दछु पती भनि येति गूनी ॥
बिन्ती गरी म कन पत्नि बनाइ लेऊ ।
कन्दर्पको कठिन ताप छुटाइ देऊ ॥३१॥
यस्तो वचन् सुनि सिता कन हाँसि हेरी ।
उत्तर् दिया प्रभुजिले घरमै छ मेरी ॥
सौता बुझी कन न भज् तँ पती मलाई ।
भाई छ खालि बरु भज् पति भाइलाई ॥३२॥
साँचो भन्या भनि त लक्ष्मणका नजिक् गै ।
आयाँ म पत्नि हुन येति भनेर खुस् भै ॥
सून्या वचन् सकल लक्ष्मण्ले र ताहाँ ।
दास् हूँ म ता म सित कुन् सुख मिल्छ याहाँ ॥३३॥
जा वाहिं मालिक उ हुन् उहिं बस्नु अच्छा ।
बुद्धी रहेनछ बहुत् रहिछस् तँ कच्चा ॥
यस्ता वचन् सुनि र शूर्पणखा रिसाई ।
सीताजिलाइ अब खाँ भनि फर्कि धाई ॥३४॥
भार् हर्न बीज् प्रभुजिले तहिं रोप्न आँट्या ।
लक्ष्मणजिलाइ भनि नाक र कान् कटाया ॥
आज्ञा लि लक्ष्मणजिले पनि काटि दीया ।
भागी डराइ कन भाइ जहाँ त थीया ॥३५॥
विस्तार् गरी त्रिशिर दूषण खर् भन्याका ।
राक्षस् पनी सुनि ति अग्नि सरी बन्याका ॥
आया जहाँ प्रभु थिया तहिं तीन भाई ।
लस्कर् समेत् अधिक जल्दि कदम् बढाई ॥३६॥
राक्षस् भनी प्रभुजिले तहिं चाल पाया ।
लक्षमण्जिलाइ तहिं काम् प्रभुले अह्राया ॥
हे भाइ आज तिमिले इ सिताजिलाई ।
गूफा विषे लगि बसी रहु जल्दि जाई ॥३७॥
एक् बात् न बोलि कन जल्दि उठेर जाऊ ।
सङ्ग्रामको बखत भो अब बेर् न लाऊ ॥
मार्छू म दुष्ट कन तेज् अधिकै जनाई ।
चौधै हजार् कन सहज् टुकरा बनाई ॥३८॥
यस्तो हुकुम् हुन गयो र सिताजिलाई ।
लक्षमण्जिले सँग लिई कन जल्दि जाई ।
गूफा विषे बसि रह्या रघुनाथ् तयारी ।
चाँडै भया धनु र बाण्हरु ठिक्क पारी ॥३९॥
आया खर त्रिशिर दूषण तीन भाई ।
लस्कर् समेत् सँग लिई कन रिस् चढाई ॥
ठाकुर्जिका उपर बाणकि वृष्टि पार्या ।
ठाकुर्जिले पनि ति बाण् सब काटि टार्या ॥४०॥
तिन्का ति सर्व हतियार्हरू काटि टारी ।
सम्पूर्ण राक्षसहरू कन जल्दि मारी ॥
काट्या खर त्रिशिर दूषणलाइ ताहाँ ।
सम्पूर्ण राक्षस सक्या घरि चार माहाँ ॥४१॥
मार्या खर त्रिशिर दूषणलाइ जस्सै ।
सीता र लक्ष्मण पनी प्रभु सीत तस्सै ॥
आया डराइ कन शूर्पणखा त भागी ।
रावण् जहाँ छ उहिं जाँ भनि जान लागी ॥४२॥
रावण् जहाँ छ उहिं पौंचि विलाप गर्दै ।
सब् भाइ बन्धुहरुका मनलाइ हर्दै ।
देख्यो तहाँ बहिनिलाइ त नाक् गयाकी ।
त्यो फेरि बुच्चि पनि कान न भै रह्याकी ॥४३॥
माया भयो बहिनि माथि र झट्ट ऊठ्यो ।
विस्तार सोध्न नजिकै पनि जल्दि छूट्यो ॥
हे बैन्हि कुन् पुरुष हो भन नाक काट्न्या ।
खूपै रहेछ सहजै पनि मर्न आँट्न्या ॥४४॥
जस्ले त नाक् सित इ कान् आज काट्यो ।
हे बैन्हि जान सुन त्यो अब मर्न आँट्यो ॥
यस्ता वचन् सुनि र नाम समेत् बताई ।
सीता र लक्ष्मण सहित् रघुनाथलाई ॥४५॥
तिन् छन् पराक्रमि ति पञ्चवटी बस्याका ।
ठोक्रा भिरी कन धनू पनि खुप् कस्याका ॥
गर्छू विचार मनले त म येहि मान्छू ।
सब् भस्म यो गरि दिनन् कि भनेर ठान्छू ॥४६॥
आई रह्याँछु म त खुप् सित मन् डराई ।
फिर्छन् ति सर्व ऋषिलाइ त खुस् गराई ॥
आश्चर्य मानि कन दौडि म याहिं आयाँ ।
विस्तार् पनी हजुरमा सब बिन्ति लायाँ ॥४७॥
सीताजिलाइ अति सुन्दर मानि ताहाँ ।
ल्याऊँ टपक्क टिपि सुन्दरिलाइ याहाँ ॥
भन्ना निमित्त अति चित्त धरी गयाकी ।
पायाँ विपत् नकटि बुच्चि समेत् भयाकी ॥४८॥
ल्याऊ समर्थ छ भन्या तिमि आज जाऊ ।
साम्ने त हर्न छ कठिन् तिमि मन् न लाऊ ॥
एक् युक्तिले छल गरी कन हर्नु पर्ला ।
साम्ने कदापि न गया तहिं देह मर्ला ॥४९॥
तेस्ले बहूत भयमा परि बात् गर्याको ।
लस्कर् समेत् त्रिशिर दूषण खर् मर्याको ॥
सून्यो र बैन्हि कन खातिर खूप दीयो ।
एकान्तमा गइ लहड् पनि खूप लीयो ॥५०॥
सामान्य मानिस भया कसरी ति मार्या ।
लस्कर् खर त्रिशिर दूषण छुट्टि पार्या ॥
सामान्य होइन इ ता परमेश्वरै हुन् ।
नाहीं त भाइहरुका अघि टिक्तथ्यो कुन् ॥५१॥
ईश्वर् भया हुँदि कसै पनि मार्दछन् ती ।
सामान्य हो पनि भन्या हरुँला सिताजी ॥
ईश्वर् भया हुँदि विरोध् गरि खुस् हुन्याछन् ।
रीसै हुन्या छ भजुँला त म माथि ता झन् ॥५२॥
येती विचार् गरि तर्यो र समुद्र पारी ।
मारिच् जहाँ छ ऋषिका सरि रूप धारी ॥
पुग्यो तहाँ र रथ राखि नजिक् गयाको ।
विस्तार् गर्यो खरहरू सब नाश् भयाको ॥५३॥
यस्तो पर्यो म कन आज सहाय देऊ ।
सुन्दर् ठुलो मृगस्वरुप् तिमि आज लेऊ ॥
राम्चन्द्रलाइ छलि दुर् तिमिले गराया ।
सीता जसै म हरुँला तब फर्कि आया ॥५४॥
मारीचले यति हुकुम् जब ताहिं सून्यो ।
तेस्तो हुकुम् सुनि तहाँ मन भीत्र गून्यो ॥
बिन्ती गर्यो सकल तेज् प्रभुको जनाई ।
ख्वामित् भनेर मनले जय खुब् चिताई ॥५५॥
कस्ले गर्यो र उपदेश् तिमि आज आई ।
सीता म हर्छु मृग हो तँ भन्यौ मलाई ॥
त्यै शत्रु हो तिमि तसै कन मार ताहाँ ।
कूलै समेत् क्षय गराउन खोज्छ याहाँ ॥५६॥
को सक्छ जित्न र ठुलो तिमि सूर गर्छौ ।
यो सुर् लिया कुल समेत् तिमि आज मर्छौ ॥
एक् बाणले म कन चार् सय कोस सार्या ।
बालक् थिया त पनि भस्म सुबाहु पार्या ॥५७॥
आज्काल् गयाँ वन विषे मृगरूप धारी ।
एक् बाणले यहिं पनी त दिया पछारी ॥
छाद्दै रगत् अति डरायर भागि आयाँ ।
जावैन भन्छु अब खुप् सित चेत पायाँ ॥५८॥
तस्मात् तिमी पनि विरोध् मति यो न लेऊ ।
सीता म हर्छु भनि आग्रह छाडि देऊ ॥
सब् नष्ट हुन्छ तिमीले मति यस्ति लीया ।
देख्यौ खर त्रिशिर दूषण मारि दीया ॥५९॥
हीतै कहन्छ भनि यो तिमि जानि लेऊ ।
आर्को कहन्छु म गुठिल् तिमि चित्त देऊ ॥
ई ता अनन्त अधिनाथ् परमेश्वरै हुन् ।
ब्रह्माजिले पनि भजिन्छ सदा पुरुष् जुन् ॥६०॥
नारद्जिका वचन सूनि म आज भन्छू ।
ख्वामित् म ता हित चिताइ सदा रहन्छू ॥
लौ मार रावण भनी वरदान माग्या ।
ब्रह्माजिले र उहि सुर् प्रभु गर्न लाग्या ॥६१॥
जाऊ घरै बसि रहू मति यो न लेऊ ।
ईश्वर् बुझेर उहि माफिक चित्त देऊ ॥
जो गर्दछन् प्रभु गरुन् छ लिला उनैको ।
लाग्दैन जोर् प्रभु विषे अरुका कुनैको ॥६२॥
मारीचले जब त बात् यति सब् बतायो ।
झन् बात् सुनी बुझि त खुप् सित चित्त लायो ॥
मारीचलाइ अनि रावण भन्छ हेरी ।
सीता म हर्छु मृग भै कन जाउ फेरी ॥६३॥
ईश्वर् त हुन् यदि भन्या ति अवश्य मार्छन् ।
सामान्य हुन् यदि भन्या ति अवश्य हार्छन् ॥
ईश्वर् भया पनि असल् छ अवश्य तर्छू ।
सामान्य हुन् त म सिता सँग भोग गर्छू ॥६४॥
जाऊ अवश्य म सिताजि हरेर लिन्छू ।
बोल्यौ यहाँ कछु भन्या त म काटि दिन्छू ॥
यस्तो हुकुम् गरि तहाँ जब बीच पार्यो ।
मारीचले पनि तसै जिय आस मार्यो ॥६५॥
आखिर् मर्याँ म हरि देखि मर्या त तर्छू ।
यस् दुष्ट देखि मरिया त नरक् म पर्छू ॥
यस्तो विचार् गरि तहाँ मृगरूप धारी ।
हूकुम् सिरोपर धरी कन भो तयारी ॥६६॥
दौड्यो लिला पनि चरित्र विचित्र गर्दै ।
सीताजिका नजिक गै कन ताहिं फिर्दै ॥
सीतजिलाइ गरुँ मोह भनेर दाग्यो ।
लीला गरी कन वरी परि चर्न लाग्यो ॥६७॥
छल् हो भनी प्रभुजिले पनि चाल पाया ।
एकान्तमा गइ सिता कन काम् अह्राया ॥
सीते अदृश्य भइ लौ बस अग्नि माहाँ ।
छाया सिता पनि बनायर छोड याहाँ ॥६८॥
एक् भिक्षुको रुप लि रावण आज आई ।
हन्र्या छ दुष्ट तिमीलाइ स्वरुप् छपाई ॥
चाँडो अवश्य तिमिले पनि रुप् छपाऊ ।
एक् वर्ष सम्म छपि दिन् तिमिले बिताऊ ॥६९॥
यस्तो हुकुम् सुनि अदृश्य सरूपधारी ।
छाया सिता पनि दुरुस्त गरिन् तयारी ॥
सीता छपी कन रहिन् जब अग्नि माहाँ ।
छाया सिता सँग बस्या रघुनाथ ताहाँ ॥७०॥
छायासिताजि अति चित्र विचित्र मानी ।
खेलाउँ तेस मृगलाइ भनेर ठानी ॥
बिन्ती गरिन् रघुपते मृग आज देऊ ।
खेलाउँछू अधिक जाति छ पक्रि लेऊ ॥७१॥
इच्छा थियो प्रभुजिको पनि बिन्ति सूनी ।
जानू असल् छ भनि यो मन भित्र गूनी ॥
हात्मा धनू लि मृगका पछि आफु धाया ।
लक्ष्मण्जिलाइ बस तीमि भनी अह्राया ॥७२॥
लक्ष्मण् रह्या तहिं सिता सित चौकिदारी ।
मारीचलाइ प्रभुले पनि खुप् लघारी ॥
मार्या तहाँ जब त दिक् बहुतै गरायो ।
हे भाइ लक्ष्मण मर्याँ भनि छल् करायो ॥७३॥
छल्का वचन् सुनि सिताजि बहुत् डराइन् ।
लक्ष्मण्जिलाइ तिमि जाउ भनी अह्राइन् ॥
लक्ष्मण्जिले हुकुम यो सुनि बिन्ति पार्या ।
हे माइ जो मृग थियो प्रभुले त मार्या ॥७४॥
तेस्तो कहाँ मृग थियो मृगरूपधारी ।
मारीच राक्षस थियो र त आज मारी ॥
ठाकुर्जिले तहिं गिराइ दिंदा करायो ।
हे भाइ लक्ष्मण मर्याँ भनि छल् गरायो ॥७५॥
ज्योतिस्वरुप् तहिं भयो र मिल्यो हरीमा ।
आश्चर्य भो सकललाइ तसै घरीमा ॥
यस् दुष्टले पनि त यो गति आज पायो ।
भन्न्या बुझेर सब जन् कन हर्ष आयो ॥७६॥
लक्ष्मण्जिका वचन सूनि सिता रिसाइन् ।
आँसू बहुत् नजर देखि पनी खसाइन् ॥
बोलिन् अवाच्य पनि लक्ष्मणलाइ ताहाँ ।
भज्ली मलाइ भनि भन्छ कि आज याहाँ ॥७७॥
राम् देखि बाहिक अवर् त भजैन मैले ।
तिम्रै अगाडि यहिं छोड्दछु देह ऐले ॥
तिम्रो त चित्त अति दुष्ट रहेछ जान्याँ ।
काम् देखि आज तिमिलाइ अति शत्रु मान्याँ ॥७८॥
यस्ता वचन् सुनि ति लक्ष्मणजी रिसाया ।
बोलिन् अवाच्य भनि भित्र मनै चिताया ॥
धिक् चण्डि येति भनि खुप् सित चट्पटाया ।
वन्देविलाइ रखवारि तहीं खटाया ॥७९॥
सीताजिलाइ तहिं छोडि उठी गयाका ।
दूरै हुँदा नजर देखि फरक् भयाका ॥
देख्यो र रावण सिता सित जल्दि आयो ।
सन्न्यासिको स्वरुप ली कन रुप् छपायो ॥८०॥
सन्न्यासि हुन् भनि बहुत् गरि भक्ति लाइन् ।
पूजा प्रणाम् पनि गरी कन हर्ष पाइन् ॥
बिन्ती गरिन् बस गुरो प्रभु फर्कि आई ।
गर्नन् बहुत् प्रिय हजुर् कन चित्त लाई ॥८१॥
यस्ता वचन् सुनि सिता तिर दृष्टि दींदो ।
को हो पती बुझुँ भनी कन गुह्य लींदो ॥
सोध्यो सिता सित पती पनि जो छ को हो ।
नाम् काम् समेत् तिमि बताउ न आज जो हो ॥८२॥
सीताजिले पनि भनिन् सब जो छ नाम् काम् ।
सन्न्यासि जानि कन कत्ति न पारि छल् छाम् ॥
सोधिन् तहाँ म पनि नाम्हरु सुन्न्न पाऊँ ।
कुन् हो बताउ तिमिले पनि नाम ठाऊँ ॥८३॥
यस्ता वचन् सुनि सिता कन हर्न आँटी ।
नाम् काम् तहाँ सब कह्यो रति भर् न ढाँटी ॥
बोल्यो अवाच्य पति मानि मलाइ लेऊ ।
राम्चन्द्रलाई तिमिले अब छाडि देऊ ॥८४॥
यस्ता वचन् सुनि अलिक् मनले डराइन् ।
बात्ले त दुष्ट कन तृण् सरिको गराइन् ॥
हे दुष्ट रावण अवश्य तँ आज मर्लास् ।
ऐले जसै प्रभुजिका अघि याहिं पर्लास् ॥८५॥
यस्ता वचन् सुनि रिसायर जल्दि ऊठ्यो ।
धार्यो स्वरुप् र अब हर्छु भनेर छूट्यो ॥
बिस् बाहु दस् मुख शरिर् पनि शुद्ध कालो ।
देखाइ सब् कन तरास् मन भीत्र हाल्यो ॥८६॥
सीताजीलाइ मन्ले चिह्नी कन मनमा मातृवत् बुद्धि गर्दो ।
हात्ले मैले छुँदामा अनुचित छ भनी स्पर्श केही न गर्दो ॥
आफ्ना नङ् सब् जमिन्मा धसि कन जमिनै जल्दि हात्ले उठायो ।
सीताजीलाइ रथ्मा धरिकन दगुर्यो राम देखी छुटायो ॥८७॥
हा राम् लक्ष्मण यत्ति मात्र मुखले बोलेर साह्रै रुँदी ।
तन् मन् रामविषे धरेर बहुतै विह्वल् निरन्तर् हुँदी ॥
देख्या ताहिं जटायुले र उडि गै रथ् चूर्ण पारी दिया ।
घोडा चूर्ण गराइ फेर् धनु समेत् टुक् टुक् गराई दिया ॥८८॥
रावण् झन् वीर थियो अति झपट गरी हातमा खड्ग लीयो ।
काट्यो दूवै पखेटा रिस सित र तहाँ भूमिमा पारि दीयो ॥
बाधा पाई जटायू पृथिवितल गिर्या फेरि रथ्को तयारी ।
जल्दी पार्यो र सीता लिइ कन पुगि गो दुष्ट ता सिन्धु पारी ॥८९॥
आकाश्मा जब ऋष्यमूक गिरिका ऊप्र पुगीथिन् जसै ।
आफ्ना सब् गहना फुकालि बलियो पोको बनाइन् तसै ॥
राम् लक्ष्मण् कन यो दिउन् भनि तहाँ पोकै खसालिन् पनी ।
सुग्रिव्ले त गुफा विषे धरि लिया कस्ले खसाल्यो भनी ॥९०॥
सीताजीलाइ लङ्का लगि कन मनमा मातृवत् बुद्धि गर्दो ।
भित्री जुन् हो बघैंचा तहिं असल अशोक् वृक्षका नीच धर्दो ॥
सेवा खुप् गर्न लाग्यो तर पनि मनमा माइले दुःख पाइन् ।
हाराम् हा राम् जगन्नाथ् यहि वचन गरी राममा चित्त लाइन् ॥९१॥
मारीच् मारेर फिर्थ्या प्रभु पनि वनमा देखिया ताहिं भाई ।
राम्ले ताहीं विचार्या मन मन इ कुरा भाइ पुग्नै न पाई ॥
माया सीता बन्याकी अलिकति पनि याद् छैन ई भाइलाई ।
साँचै सीता इनै हुन् भनि कन मनले भन्दछन् चाल् नपाई ॥९२॥
यो बात् बोल्दिन गुह्य राख्छु म पनी मानुन् सिता हुन् भनी ।
सीता निश्चय हुन् भन्या त रिसले लड्नन् रिपू थ्यैं पनी ॥
यस्तो निश्चय मन् भयो प्रभुजिको लक्ष्मण् पुग्या झट् तहाँ ।
सोध्या श्री रघुनाथले किन सिता छोडेर आयौ यहाँ ॥९३॥
लक्ष्मण्ले पनि यो हुकुम् सुनि तहाँ बिन्ती गर्या क्या गरूँ ।
जो दुर्वाच्य गरिन् सबै भनुँ भन्या सक्तीन मैले बरू ॥
मारिच्का छलका वचन् सुनि बहुत् दुर्वाच्य बोलिन् जसै ।
संझायाँ भरसक् अनेक् तरहले लागेन बिन्ती कसै ॥९४॥
फेर् उत्तर् प्रभुले दिया अनुचितै हो यो गर्यौ ता पनी ।
छोड्नू कत्ति थियेन दुर्वचनले स्त्री हो भनी ता पनी ॥
येती बात् गरि राम आश्रम विषे जल्दी कदम् ली गया ।
देख्यानन् र सिताजिलाइ बहुतै शोक् गर्न लाग्दा भया ॥९५॥
की राक्षस्हरुले हर्या कि वनमा की दुष्टले पेट् भर्या ।
एक् थोक् क्या त भयो अवश्य म गयाँ कुन् दुष्टका खेल् पर्या ॥
वन्देवीहरुलाइ मालुम भया विस्तार् बताऊ यहाँ ।
सीता मेरि पियारि देख्तिन म ता जान्छू सिता छन् जहाँ ॥९६॥
यस्ता रित् सित सोधि सोधि रघुनाथ् ज्ञानै स्वरूपी पनी ।
जस्तो मानिस गर्छ सोहि रितले हा मेरि सीता भनी ॥
फिर्थ्या तेस् वनमा बडा विरहले सोध्या न पाई उसै ।
यै बिच्मा वनमा त रथ् र धनुका देख्या अनेक टुक् तसै ॥९७॥
भन्छन् लक्ष्मणलाइ भाइ तिमिले देख्यौ यहाँको कुचाल् ।
अर्को आइ जिती लियेछ बिचमा मैले त देख्याँ कुचाल् ॥
येती बात् गरि राम् अलिक् पर गया देख्छन् त पल्टी रही ।
चिह्नैलाइ कठिन् जटायु कन ता दूवै पखेटा गई ॥९८॥
अज्ञान् कत्ति थियेन ता पनि तहाँ लीला नरैको गरी ।
चिह्न्याको न नचिह्न्यै गरेर भगवान् भन्छन् अगाडी सरी ॥
हे भाई धनु देउ दुष्ट मिलि गो मार्छू म बाणै धरी ।
खान्या येहि रहेछ हेरि बुझियो पल्टेछ खुप् पेट् भरी ॥९९॥
सून्या बात् र जटायुले पनि हवाल् वृत्तांत बिन्ती गर्या ।
सूनी पूर्ण दया भयो नजिक गै छाम्या र सब् ताप् हर्या ॥
सीताको समचार् खबर् कहि तहाँ साम्ने जटायू पर्या ।
स्नान् दाहा गरि मांसपिण्डहरु दी क्रीया प्रभूले गर्या ॥१००॥
सायुज्यै मुक्ति पाई स्तुति पनि बहुतै भक्ति रखेर लाई ।
पौंच्या धाम्मा जटायू प्रभु पनि नरको ठिक्क लीला जनाई ॥
वन् वन्मा फिर्न लाग्या विरह गरि गरी सोद्धछन् जाहिं ताहीं ।
दोस्रा देख्न्या मिल्यानन् सकल वन ढुँढ्या एक् पनी काहिं नाहीं ॥१०१॥
छातीमा मुख् भयाको सिर पनि न हुँदा नाम् कबन्धै रह्याको ।
चार् चार् कोस्सम्म पुग्न्या दुइ अति बलिया दीर्घ बाहू भयाको ॥
राक्षस् थीयो तहाँ एक् बसि बसि कन सब् हातले खैंचि खान्या ।
तेसैका बाहु बिच्मा रघुपति पुगिया रोकियो मार्ग जान्या ॥१०२॥
राक्षस्ले घेरियाको बुझि कन रघनाथ् भन्दछन् भाइलाई ।
हे लक्ष्मण् आज देख्यौ अब बिच परियो निल्छ की हामिलाई ॥
ठाकुर्जीका वचन् ई सुनि कन विनती ताहिं लक्ष्मण्जि गर्छन् ।
हे नाथ् क्या डर् छ यस्को दुइ भइ दुइ हात् काटिद्यूँ याहिं मर्छन् ॥१०३॥
येती बात् गरि हात् दुवै सहजमा काटी खसाल्या जसै ।
राक्षस्ले पनि हात् गिर्या जब तहाँ आश्चर्य मान्यो तसै ॥
सोध्यो आज म वीरका पनि सहज् हातै खसाल्यौ यहाँ ।
को हौ क्या मनमा लियेर वनमा डुल्छौ छ जानू कहाँ ॥१०४॥
उत्तर् श्रीरघुनाथले पनि दिया हाँसेर विस्तार् गरी ।
सून्यो राम भनी तहाँ र मनले चिह्न्यो इनै हुन् हरी ॥
ठाकुर्जी कन चीन्हि खुस् अधिक भै विस्तार आफ्नू गर्यो ।
हे नाथ् आज चिह्न्याँ हजुर्कन यहाँ पायाँ र सब् ताप् टर्यो ॥१०५॥
ब्रह्मा देखि अवश्य पाइ वरदान् गन्धर्व हूँ ता पनी ।
राम्रो छू भनि गर्व भो र ऋषि ता साह्रै नराम्रा भनी ॥
हाँस्याँ केहि र अष्टवक्र ऋषिले राक्षस् भयेस् लौ भनी ।
पैले स्राप गरी दिया पछि त फेर् मुक्ती बताया पनी ॥१०६॥
राक्षस् भै कन फिर्दथ्याँ म रिसले सिर् इन्द्रजीले हर्या ।
ब्रह्माको वरदान् थियो र म जियाँ इन्द्रादि सब् छक् पर्या ॥
सीरै गै पनि यो जियो अब कसो गर्ला भनी खुप् दया ।
आयो इन्द्रजिका र खान कन मुख् छाती विषे दी गया ॥१०७॥
चार् चार् कोस तलक् समाउन भनी लामा त हातै दिया ।
सो हात् आज गिराइ बक्सनु भयो याहीं तलक् ई थिया ॥
जस्तो मुक्ति ति अष्टवक्र ऋषिले पैल्हे बताया यहीं ।
तेस्तो ठिक्क भयो इ हात् गिरि गया मुक्ती त पायाँ यहीं ॥१०८॥
क्या बात् धन्य रहेंछु आज म प्रभो आस्रा गर्याथ्याँ जती ।
रातोदिन् रटना थियो चरणको भै गो शरण्को गती ॥
खाडल् खुप् गहिरो खनेर उसमा यो देह मेरो धरी ।
पोली भस्म गराइ बक्सनु हवस् जान्छू म संसार् तरी ॥१०९॥
सीता पाउनको उपाय विनती गन्र्याछु साँचो गरी ।
भन्न्या यो विनती सुन्या र हरिले पोली दिया खाग् गरी ॥
सुन्दर् शुद्ध स्वरूप् धर्यो प्रभुजिले खुस् भै दिया वर् पनी ।
भक्तीले बहुतै गर्यो स्तुति र त्यो पौंच्यो परम्धाम् पनी ॥११०॥
हे नाथ् सीताजि मिल्निन् अब तिमि शबरी छन् जहाँ ताहिं जाऊ ।
साह्रै भक्ती छ तिम्रा चरणकमलको ताप तिन्का छुटाऊ ॥
येती बिन्ती जगन्नाथ् सित गरि जब धाम् त्यो गयो राम फेरी ।
आश्रम्मा पौंचि दर्शन् शबरि कन दिया खुप् कृपा राखि हेरी ॥१११॥
आसन् देखि उठेर जल्दि शबरी राम्का चरण्मा परिन् ।
सक्भरको बहुतै पुजा गरि तहाँ हात् जोरि बिन्ती गरिन् ॥
हे नाथ् हिन् कुलकी स्त्रिजाति म गरीब् जान्दीन तिम्रो स्तुति ।
आधार् मात्र फगत् छ यै चरणमा यस्तै छ मेरो गति ॥११२॥
विस्तार् सब् गुरु देखि सूनि गुरुका आज्ञा मनैमा लिई ।
कैल्हे देख्छु हजूरलाइ भनि खुप् तन् मन् हजूर्मा दिई ॥
पूजा नित्य हजूरको गरि यहाँ ख्वामित् बस्याकी थियाँ ।
हे नाथ् आज दया भयो हजुरको प्रत्यक्ष देखी लियाँ ॥११३॥
क्याले आज बहुत् प्रसन्न हुनु भो कुन् कर्म मैले गर्याँ ।
योगीका मनले न भेटि सकिन्या मैले त दर्शन् गर्याँ ॥
यस्तो बिन्ति सुनी दया बहुत भो हेतू प्रभूले कह्या ।
उच्निच् स्त्री र पुरुष् विचार्दिन म ता खुस् हुन्छु भक्ती भया ॥११४॥
नौ साधन् कि त भक्ति छन् ति नवमा पैल्हे त सत्संग हो ।
पैल्हे साधन पो भयो पनि भन्या बाँकी रह्याका ति जो ॥
आठ् साधन्हरु हुन् ति ता क्रमसितै मिल्छन् असल् सङ्गले ।
सत्को सङ्ग भया सबै बनि गयो क्या हुन्छ कुन् सङ्गले ॥११५॥
सत्को सङ् भै रह्याकी दिन दिन म उपर् भक्ति ठूलो भयाकी ।
सज्जन्को सङ्ग पाई कन सब गुणमा पार पौंची गयाकी ॥
देख्याँ मैले र दर्शन् दिन भनि खुसिले आज आफैं म आई ।
दीयाँ दर्शन् र पायौ तिमि अधम भया पाउँथ्यौ क्या मलाई ॥११६॥
मुक्ती भो आज तिम्रो अब फजिति छुट्या खूसि भै आज जाऊ ।
मेरी सीता कहाँ छन् कछु खबर भया त्यो पनी सब् बताऊ ॥
हूकुम् जस्सै सुनीथिन् तब तहिं बिनती गर्दछिन् क्या बताऊँ ।
सर्वव्यापी हजुर्ले बुझि त नसकिन्या एक् रती छैन ठाऊँ ॥११७॥
साँचो बिन्ती गर्याँ यो तर पनि नरको आज यो रूप धारी ।
आज्ञा भो ता म बिन्ती पनि हजुर विषे गर्दछू काल् विचारी ॥
सीता लङ्का विषे छन् अब त हजुरले भेट सुग्रीवलाई ।
बक्स्या जावस् ति गर्नन् जति जति सब काम् बिल्कुलै पारलाई ॥११८॥
पम्पा भन्नू तलाऊ पनि नजिक हुन्या ऋष्यमुक् पर्वतैका ।
टाकूरैमा ति बस्छन् अति फजिति सही दिन् बिताई सँधैंका ॥
बालीको डर् हुनाले तहिं बहुत बस्या बालि जाँदैन ताहाँ ।
बालीलाई न जानू भनि कन छ सराप् सब् गर्याँ बिन्ति याहाँ ॥११९॥
सुग्रिव् सीत मित्यारि गर्नु सब काम् हून्या छ सीता पनी ।
मिल्निन् आज म देह खाग् गरि यहीं पोल्छू नजिक्मै भनी ॥
बिन्ती पारि चिता विषे पसि शरीर् यो जो छ सब् खाग् गरिन् ।
ठाकुर्को अति भक्तिले ति शबरी संसारसागर् तरिन् ॥१२०॥
क्या दुर्लभ् रघुनाथ् खुसी हुन गया जात्की अधम् भै पनी ।
श्रीराम्का अघि देह छाडि कन पार् पौंचिन् सहज् तै पनी ।।
ब्राह्मण् भै कन भक्ति गर्दछ भन्या उस्का त झन् क्या कुरा ।
जो कोही पनि भक्ति भो भनि भन्या योगी ति हुन्छन् पुरा ।।1 ॥१२१॥
हे लोक् हो रघुनाथका चरणको भक्ती छ मुक्ती दिन्या ।
यो जानी कन कामधेनु सरिका राम् हुन् मनैमा लिन्या ॥
क्या गर्छौ अरु मन्त्रतन्त्रहरुले छोडेर सब् राममा ।
तन् मन् लाइ अवश्य जान मनले सार् मिल्छ यै काममा ॥१२२॥
इति श्रीअरण्यकाण्ड ।