Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/129

From Nepali Proofreaders
Revision as of 15:02, 25 June 2025 by Prty (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread
जीवन-ज्योति

(१)
दिनकर घुमून्‌ वा पृथ्वी घुमून्‌ वा, हावा घुमोस्‌ वा जल घुमोस्‌
शिशुमारनामा चक्रै घुमोस्‌ वा विकराल अथवा कालै घुमोस्‌ ।
जुन वस्तु हो त्यो हर्दम्‌ घुमेको उसको घुमावट धन्य हो
जसबाट निस्क्यो झलमल्ल यस्तो यो विश्व-जीवन-बिजुली अहो !

(२)
फनफन घुमेको उस चक्रको सब, सञ्चालना उही जान्दछ
जसलाई हाम्रो वेद सर्व-व्यापी पिता भनी मान्दछ ।
न त आदि उसको पाइन्छ कहीँ न त अन्त्य काहीँ मिल्दछ
जो गर्छ खोज उसको उसैको सत्ता उसैमा मिल्दछ ॥

(३)
यो विश्व-जीवन-सौदामिनीको सञ्चार गर्ने घर ठुलो
होला कहाँ त्यो ? कुन रेलिँदो हो त्यसमा अगम्‌ गतिमा कुलो ?
यो तर्क गर्दागर्दै सबैको शिर घुम्छ त्यो चक्र सरि
घन्कन्छ आखिर व्यामोहको नै खाली गगनमा बाँसुरी ॥