सक्तैन भन्नु हमेशा मूर्खता हो । तिनै स्याँठिला ठाउँ पनि, तिनै ढुङ्गादार क्षेत्रमा पनि हामी चमत्कार देखाउन सक्ने थियौं । त्यहाँका प्रतिभा पनि फुलेर आउँथे । कोदो अलि मीठो हुन्थ्यो, तीते फापरमा अर्कै स्वाद आउने थियो, ढिंडोबाट पनि अर्कै ताकत । सिस्नाको रस पनि टोल्हाएर पहाडपारिका दुनियाँका चमत्कारहरूको सपना देख्तथ्यो, प्रकृतिका किताप पढ्न मानिस चतुर बन्दथ्यो, र त्यहाँ पनि नेपाली हृदयहरू सत्य र सुन्दरको माधुर्य बुझेर लहराउँथे, मानवकर्तव्य बुझ्दथे, कला जन्मिन्थी, जीवन अभिप्रायशील बन्दथ्यो, विशाल नेपालले स्पर्श गर्दथ्यो। म त यस्तो ठाउँमा एक सारङ्गी लिएर गीत गाउँथें, पृथ्वीनारायणका र पृथ्वीराज चौहानका । धूलोमा अक्षर काट्ने थिएँ, रूखका बोक्रामा चित्रहरू । बिहान र बेलुका स्वर्ण दृश्यअगाडि घुँडा टेकेर हात जोडेर आँखामा आँसु भरेर ती पहाडी शिशुहरूलाई बोलीले नभेट्टाउने धर्म सिकाउने थिएँ, अनि रसायनका बोक्सी रङहरूले तिनीहरू चकित हुने थिए । भौतिक शास्त्रका झिलिमिली देखेर ती आँखा तर्कले भरिएर आउँथे, अनि ज्योतिषले तिनीहरूलाई राती राती आकाश हेर्ने बनाउँथ्यो, माटाका पृथ्वीहरू र मैनबत्तीहरूले भूगोल देखाइदिन्थे, तसबीरहरू बनाउँदै या झिकाउँदै तिनीहरूलाई चित्रकटीमा डुलाउँदथे; अनि कहानी सुनाइदिन्थें, कहिले हँसाउने कहिले रुवाउने ! पहाडका कथा र सागरका कथा, सभ्यताका कथा ! अनि कविताहरू सरल सरल ढंगका सुनाइदिन्थें, तिनीहरू पग्लेर आउँथे र त्यसका प्रवाहमा आफैं छन्द टिप्तै आफ्ना मनका भावहरू प्रकाश गर्न सक्ने थिए ! तिनीहरूलाई मुरली र सारङ्गी र प्राकृतिक तवरका बाजाहरू बनाइदिन्थें । म धाई हुन्थेँ पहाडी शिशुहरूका, र तिनीहरू अतीतको कथामा कान लाउँदा-लाउँदै सुतेर प्राचीन बेबिलोन र सिकन्दरका सपना देख्तथे । यहाँ मेरा निमित्त जीवन निर्माणको आनन्द हुने थियो-उनीहरूका निमित्त फुल्नु, फैलिनु र फराकिलो हुनु । तर मेरो भाग्यमा यो दिइएको थिएन, म प्रेमचन्द्रको आत्माभन्दा धेरै सानो थिएँ, म आदतको शिकार थिएँ, चलनको दास। संकल्पसम्म ईश्वरको निगाहले गरें तर कार्यमा पुर्याउन अनेक जीवनको परिष्कृतिबिना आत्मालाई दिएको थिएन । मलाई घरले यता तान्दथ्यो, उता आदतले । बच्चा र स्त्रीहरूका अनेक आवाजर रुवाइ हावामा खँदिलो हुन लागेको मैले देखें र शिक्षाको प्राकृतिक कमजोरी भन्ने आफूलाई सम्झेर अरू
Page:Laxmi nibandhasangraha.pdf/18
Appearance