होसियारीको चेतावनी सबैलाई दिँदै नानीथकुँलाई घरमै छोडेर दिनभरि खेतमा काम गर्न जाने अनुकूल मिलाएका शिव नारान एक्लै त्यति बेलै खेततिर दौडे ।
रातभरिको छर्लङ्ग अनिद्रामा शिव नारानले नानीथकुँको बारेमा निक्कै चिन्ता गरे, नाना सोच विचार गरे । अब नानीथकुँलाई झट्ट एउटा सुपात्रसित बिहे गरेर नदिई यसै राखि छोड्नु उनले ठिक ठानेनन् । यसैले आफैँले नानीथकुँलाई एउटा सुयोग्य वर खोजी गरेर पनि दुई चार दिनमै विवाह गरी निश्चिन्त हुनु पर्यो । रातभरि नानीथकुँका बारेमा यस्तै के के, अनेक सोच विचार शिव नारानले गरेका थिए ।
यही फिक्रीको फेरमा दौडादौड गरी शिव नारानले एक हप्ताभित्रै नानीथकुँलाई एउटा सुयोग्य वर फेला पनि पारे। दुलाहा हुने केटो म्याट्रिक पास पनि भएको, एउटा मौजाको जिमिदार पनि, उमेर मिल्दो नै थियो । सबभन्दा हर्षको कुरा आफ्ना बाबु अष्ट नारान र आफूहरूको पनि विचार र सिद्धान्त अनुसार केटो मधेसी थियो । प्रायः चाहिँदा गुनहरूले परिपूर्ण भएको मधेसी केटो पाएको र आफ्नो र तराईका मधेसी जातिसित वैवाहिक सम्बन्ध जोडिन पुग्ने कुराले शिव नारान चौपट्टै सन्तुष्ट र प्रफुल्लित भए । नेवार, पर्वते, मधेसी यी तीनै जाति र संस्कृतिको मेल झन् आफ्नै घरमा हुन लागेकोमा शिव नारान अत्यधिक खुसी भए । किनभने यी तिन जाति र संस्कृतिको समन्वय वा स्थापना नभईकन नेपालको उन्नति हुँदै हुँदैन भन्ने उनलाई विश्वास थियो ।