सकेका आफ्ना इमानदार बाबुको वचन राख्ने काम गर, तिम्री आमा लतमायाको पनि मन्जुरी छ । सोध, तिम्री आमा त मौजुद छिन् ।"
"मेरो पिताज्यूले यस्तो अनुचित मन्जुरी कहिले पनि दिनु भएन, यो बिलकुल झुट कुरा हो । कदाचित् भुलले उहाँले वचन दिनु भएको साँच्ची हो र आमाको पनि मन्जुरी छ नै भने म यस कुराको कदापि समर्थन गर्दिनँ । यस्तो अनुचित कुरामा आमाबाबु कसैको पनि कुरा सुन्ने र मान्ने कमजोरी कदापि गर्दिनँ । अरूको त के साक्षात् नानीथकुँले मन्जुर गरेकी भए पनि म विरोध गरेर बिथोलि दिन्छु । त्यसैले राम बहादुरजी । तपाईंले कसैको पनि दुहाई गर्नु फजुल छ ।" शिव नारानले प्रस्ट भनि दिए ।
"शिव नारान । म तिमीलाई समय दिन्छु, राति सुत्दा अलि ठन्डा मगजले एक चोटि विचार गर र आफ्नो परिवारसँग पनि एक चोटि सल्लाह गर । अहिले मात्र होइन, तिम्रो भविष्य र तिमीहरूका सन्तानहरूको पनि सुख पाउने कुरा तिम्रो हातमा आइ रहेको छ ।" केही सम्झाएर भनेको भावमा राम बहादुरले भने ।
राम बहादुरले यति भन्नासाथ शिव नारान रिसले आगो भई जुरुक्क उठेर राम बहादुरको गर्दन समाउन पुगे । दुवै हातले बेसरी राम बहादुरको गर्दन ङयाँच्च समाउँदै शिव नारानले भने– "भन् साले ! अब के चाहन्छस् तँ ?"
लतमाया, हाकुमाया, नानीथकुँ सब छुट्ट्याउन दगुरे । उनीहरूले शिव नारानलाई तानिरहे, राम बहादुर डरले थरथरी भएर 'ऐय्या !' भनी कराउँदै मुस्किलसित गर्दन चलाउँदै शिव नारानको मुखतर्फ हेरेर भने– "छोड् !"
राम बहादुरको गर्दन छोड्दै शिव नारानले भने– "साले ! यस पटकलाई पनि तँलाई दया भयो, माफ भयो, जा ।"
"के त पोहोर सालको बाँकी वाली पनि आफ्नो यही पशुबलको भरमा पचाउन हिम्मत गरेको ?" दुखेको गर्दन यताउता चलाउँदै राम बहादुरले भने– "तानमा परेको तीन सय रुपियाँ के गर्छौ नि ? सुब्बा साहेबले अहिल्यै लिएर आइज भन्नु भएको छ ।"