This page has been proofread
उभि रहेको आकाशमाथि हिले पानीको वृष्टि गराउन थाले । डाक्टर गोदत्त प्रसाद यताउति भाग्दै थिए । मस्त भएर नानीथकुँ उनलाई हात समाएर तानी खेतमा खसाल्न पुगिन् । यो देखेर खेतालाहरू झन् मस्त भएर हाँस्न थाले ।
नानीथकुँको यो काम रोपाइँको मस्तीमा मस्त भएर पनि शिव नारानलाई खट्कन थाल्यो । अनि नानीथकुँमाथि आँखा तरेर अलि रिसाएको भावमा शिव नारानले भने– "नानीथकुँ ! यो बढ्ता भयो, धेरै वाहियाती नबन ।"
डाक्टर गोदत्त प्रसाद रोपाइँ राम्रै सिद्ध्याएर मात्र घर फर्के । उनी फर्कंदा खेतालाहरूले बडो सत्कार साथ अभिवादन गरेका थिए । नानीथकुँका अरू दाजुहरूले पनि डाक्टरलाई सत्कार साथ अभिवादन गरे । त्यस दिन शिव नारान पनि उनलाई अभिवादन नगरिरहन सकेनन् ।