Jump to content

Page:Ek chihan.pdf/79

From Nepali Proofreaders
Revision as of 22:29, 22 June 2025 by Rbn (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread

रहनोस् ! दिनहुँ डाक्टर आएर कोठामा ख्यालठट्टा, नाचगान गरेर जान्छ, तपाईं छोरीलाई कपाल दुखेको निको होस् भनी यहाँ बसी बसी द्यौता भाकल गरि रहनोस् । हिजो पनि यहाँबाट ओर्लि रहेको देखेँ, आज आउँदा पनि फर्कि रहेको भेट्टाएँ । कस्तो चाला हो यो ? म त बाँकी राख्तिनँ । आज म त जात्रा नदेखाईकन छोड्दिनँ ।" अग्नि शर्मा भएर शिव नारानले भने ।

सधैँ रात परेपछि आउने छोरो आज यसरी सबेरै आएर एकाएक यस्तरी रिसाउन थालेकाले लतमाया जिल्ल परी मुख बिगारेर तान पनि नचलाईकन त्यसै बसेको बस्यै गरि रहिन् । उनी केही पनि बोलिनन् ।

लतमायालाई तानमा त्यसै बसि रहेको देखेर झन् रिसाएर शिव नारानले भने– "छोरीले पट्ठा खेलाइ रहेको कुरा तपाईंलाई मिठो लाग्छ कि क्या हो ? पट्ठा भए पनि एउटा कुरा, पट्ठासित पट्ठी खेली भनेर सन्तोष पनि गर्न सकिएला, तीन तीन छोराछोरीका बाबु, अर्काका पोइसित त्यसरी खेलिरहन लाज छैन रे त्यसलाई ? सरम छैन ? बोलाउनोस् त्यस नकचरीलाई, आज पूजा नगरी छाड्दिनँ ! बाबु मरेको छ महिना भएको छैन, उसको यो लीला !"

"भइगो, नकरा बाबू ! अरूले सुन्लान् । म उसलाई राम्ररी सम्झाएर ठिक गर्ने छु ।" सान्त्वनापूर्ण भावमा लतमायाले भनिन् ।

"अरूले सुन्ला ? अरूले सुन्ला, थाहा पाउला र नराम्रो होला भन्ने डर मान्ने भए यस्तो नकाम गरिएला ? अझसम्म अरूले थाहा पाएको छैन भनी ढुक्क भइ रहनु भएको तपाईं ? अरूले सुन्ला र थाहा पाउला भन्ने तपाईंलाई डर ? अरूबाट नै मैले थाहा पाएको हुँ अब फेरि अरूले सुन्ला, थाहा पाउला भन्ठान्नु भएको ?" रिसको आवेशमा शिव नारानले भने ।

'योसित अहिले नबोल्नु बेस' भन्ने विचार गरी लतमाया चुप लागिन् । शिव नारान रिसमा वेद पढी नै रहेका थिए। रिसाउँदारिसाउँदै 'आज म छ्यास्नसम्म नछ्यासी छोड्दिनँ' भन्ने विचार गरी नानीथकुँलाई शिव नारानले नै बोलाए । दुई तीन बोलावटसम्मलाई नानीथकुँले वास्तै नगरीकन सुन्या नसुन्यै गरेकी थिइन् तर लगातार बोलाइ रहेपछि केही सिप नलागेर नानीथकुँ डराई डराईकन कपाल दुखेको स्वाङ गर्दै माथि आइन् । नानीथकुँ तानकोठामा पुग्नासाथै शिव नारानले एटम बम छोडि हाले– "क्या हो, क्या हो यो ? डाक्टर गोदत्त प्रसाद दिनदिनै किन आइ रहेको, किन आउँछ, त्यो दिनदिनै ?"

"म के थाहा पाऊँ ?" बडो साहस गरेर नानीथकुँले भनिन् ।