"बडो खुसी लाग्यो, म ईश्वरसँग पुकारा गर्दछु, तिम्रो खेतमा यसपालि राम्रो बाली फलोस् । अरू कामलाई पनि यदि तिमीलाई मद्दतको खाँचो छ भने भन शिव नारान । सुब्बासाहेबसित म बिन्ती गरिदिनेछु ।" स्नेहपूर्ण भावमा रामबहादुरले भने ।
"धन्यवाद छ तपाईंको यो कृपालाई पनि रामबहादुरजी । अहिले मलाई केही खाँचो छैन, कुनै कुराको जरुरत परेमा तपाईंहरू भइहाल्नुहुन्छ नि भन्ने याद गरी म भरोसा गर्नेछु ।" खुसी मान्दै शिव नारानले भने ।
"कति चाँडो तिम्रो खेतमा रोपाइँ सिद्धिएको शिव नारान ? सायद सबभन्दा पहिले रोपाइँ भएको यसपालि तिम्रै खेतमा हो कि ?" रामबहादुरले भने । "सबभन्दा पहिले मेरै खेतमा रोपाइँ भएकै होला भन्न त म सक्तिनँ तर यसपालि मेरो रोपाईं चाँडै नै सिद्धियो भन्नुपर्छ ।" हाँस्तै शिव नारानले भने ।
"त्यसो भए अहिलेलाई केही मद्दत चाहिँदैन होइन ? सुब्बासाहेबलाई त्यही बिन्ती चढाइदिऊँ है त ? हाम्रा सुब्बासाहेबको दिल ज्यादै फराकिलो छ हगि शिव नारान ? हिजोआज त्यस्ता देउता कहाँ पाउन सकिन्छ ? कत्रो विवेक हेर उहाँको ! भन त शिव नारान ! तिमीलाई कस्तो लाग्छ सुब्बा साहेब ?" रामबहादुरले सुब्बा सुरमानको तारिफ गर्दै भने ।
"अँ, त्यसै भन्नुपर्छ, त्यस्ता मानिस कहाँ पाउनु !"
"त्यसैले मैले पनि जोर गरेको शिव नारान ! तिमी सधैँ खेतमा हुने हुनाले तिम्री आमालाई जम्मै कुरा भनेर गएको थिएँ । 'आज पक्का जबाफ दिन्छु' भनी तिम्री आमाले भनेकीले त्यस कुराका निम्ति म आज यहाँ आएको हुँ । मेरो भाग्यले झन् आज तिमीलाई नै भेट्न पाएँ ।" सिलसिला मिलाउँदै रामबहादुरले मौका छोपेर भने ।
"ए रामबहादुरजी ! तपाईं नरिसाउनुहोला ।" विनम्र भावमा शिव नारानले भने– "तपाईंले गर्नुभएको कुरा नहुने भयो, तपाईंलाई बिनसित्ति फुलाएर आशा देखाइराख्नु मनासिब छैन, मेरो त्यस्तो बानी पनि छैन । सफा भनिदिन म राम्रो ठान्दछु । कुराको मजबुन यही हो कि तपाईंले गर्नुभएको कुरा हामीलाई बिलकुल मन्जुर भएन ।"