आज लतमाया र नानीथकुँले भात नखाँदै काममा गएका घरका सबै जहान एकै समयमा धमाधम घर आइपुगे । सबै आइ पुगेका देखेर लतमाया र नानीथकुँले घरका सबै जहानलाई भात पस्कन थाले ।
सबैले भात खान लागेको बेलामा लतमायाले 'सुब्बा सुरमानका मानिस आएका र उनले देशी तान किनेर मद्दत गर्नेबारे दिउँसो भएका सारा कुरा छोराहरूलाई बताइन् । पोहोर सालको बाली बाँकी भएको लेखाइ राखेको तमसुक च्याति दिइ सकेको कुरा पनि भनिन् ।
ती कुरा सुनेर शिव नारानलाई अलि आश्चर्य लाग्यो । सुरमान सुब्बा अगि त्यस्तो उदार नभएको कुरा शिव नारानलाई राम्रै थाहा थियो । 'पोहोर साल असार नराम्रो भएकाले बाली तिर्न नसक्ता कडिकडाउसाथ ताकिता गरी सयकडा पच्चिसको दरले बढाई तमसुक लेखाएर लिने दानव आज एकाएक कसरी देवता भएर निस्क्यो ?' यो विचार उनको मनमा खेल्न थाल्यो । उनले अलि सोचि सकेपछि भने– "आमा ! तपाईंले मन्जुर नगर्नु पर्ने ।"
"हामी कति ठुला मानिस हौँ र त्यत्रो ठुलो तल्सिङले यस्तो दया गरेकोमा तिरस्कार गर्न सक्छौँ ? दिनेले दिन सक्छ भने लिनेले किन हटि रहने ?" लतमायाले भनिन् ।
शिव नारानले गम्भीरतापूर्वक 'अँ अँ' को रूपमा टाउको हल्लाए तर केही बोलेनन् ।