मेरा इँदार तत सत्तल पाटि क्यै छन् ।
जे धन् र चीजहरु छन् घरभित्र नै छन् ॥
तेस् घाँसिले कसरि आज दियेछ अर्ती ।
धिक्कार हो ! मकन बस्नु नराखि कीर्ति ॥२॥
ई दुवै श्लोकलाई कण्ठ गरी भानुभक्त पनि आफ्ना घर् तरफ् फिरे । यसै दिन्देखि कवि भानुभक्ताचार्य्यका हृदयमा कविताको प्रेम बस्यो– इनै दुई श्लोक्लाई खाँदा, पींदा, उठबस् गर्दा बराबर भनी रहँदा कसैले सेल्ली भने कसैले 'के भयो ?' भनी सोधपुछ् गरे । तर भानुभक्तले क्यै पनि जवाब् दियेनन्; आफ्नै मनका तरङ्गमा दङ्ग थिये । अब कुन् उपायले म यस् सन्सारमा प्रसिद्ध हुंछु भन्ने यस्तै कुरा मात्र मनमा खेलाई रहँदा रघुवंशकुलतिलक् श्री रामचन्द्रको कथा भाषा श्लोक्मा बनाये ता संस्कृत नजान्न्याहरूको पनि उद्धार हुन्या थियो, मेरो पनि नाम चल्नेछ भनी अध्यात्मरामायणको तर्जुमा भाषा श्लोकमा गर्न लागे । पैल्है रामायण बालकाण्डको मात्र तर्जुमा विक्रमी सम्वत् १८९८ मा गरी सिध्याये तर प्रथम कविता हुनाले बीच बीचमा नमिल्न सकेका पदको क्रम् पछिबाट बहुत् असल् युक्तिले जोडीकन राखे । रामायण बालकाण्ड बनाये पछि ८ वर्षसम्मन् कठि भानुभक्तजीले फाट्फुट् कविता मात्र गरे, जुन्मध्ये एक् श्लोक् अझसम्म खूप् प्रख्यात छ । विक्रमीय सम्वत् १९०१ मा कलाधर ब्राह्मणलाई मंत्र सुनाउन भनी कार्तिक मासमा भानुभक्तलाई २/३ दिन्को बाटो हिँडी निज कलाधरका घर जानुपर्यो । रम्घा गाउँदेखि दुइ कोस् पर रहने एक गजाधर सोती थिये । इन्को घर रिस्ती नदीका किनारानेरै थियो । फर्सत् पायेका बेलामा गजाधर सोती रम्घा गाउँमा आई भानुभक्तजीसित भेट गरी 'एक् दिन् त मेरा घर पाल्नुहोस्' भनी सद्धैं भन्थे । भानुभक्त पनि अनुकूल नपाई गजाधरका घर जान सकेका थियेनन् र निज कलाधरकहाँ जानुपर्दा बाटामा गजाधर सोतीको घर पनलि तेस् दिन् तहीं बास बस्न