जो पाप् गौतमपत्निका हरि दिया जो भाँचि दीया धनू ।
जो मैलाइ बिहा गर्या सब कुरा यस्ता कहाँ तक् भनू ॥
जो ता गर्व हर्या ति विर् परशुराम्को जो अयोध्या बस्या ।
बार्है वर्ष बिहा गर्या पछि बसी जो ता वनैमा पस्या ॥३६॥
यस्ता काम् जति काम् भया ति सब काम् गर्न्या म हूँ ता पनि ।
भन्छन् लोक त रामलाइ सबका कर्ता इनै हुन् भनी ॥
अन्तर्यामि अनादि साक्षि त ति हुन् कर्ता कहाँ ती थिया ।
मेरा गूण लिंदा त लोकहरुले कर्ता भनी पो दिया ॥३७॥
येती ताहिं सिताजिबाट उपदेश् पाई सक्याथ्या जसै ।
आफै राम् प्रभुले पनी दिनु भयो फेर् तत्त्वको ज्ञान् तसै ॥
यस्तो हुन्छ परात्म आत्म यहि हो यो हो अनात्मा भनी ।
आत्मा और परात्मलाइ बुझदा पाइन्छ मुक्ती पनी ॥३८॥
आत्माको र परात्मको छ कति फेर् त्यो एक जानी लिनू ।
जुन् जुन् चीज अनात्म हुन् उ त झुटा जानेर छाडी दिनू ॥
आत्माको र परात्मको गरि विचार् एक् तत्त्व जान्यो जसै ।
अज्ञान् सब् छुटि जान्छ ती पुरुषको मै तुल्य हुन्छन् तसै ॥३९॥
यो मेरो हृदयै त हो प्रिय छ यो खुप् गुप्त राख्नू पनी ।
तत्त्वज्ञान् भनि यै कहिन्छ बुझिल्यौ सून्यौ हनुमन् भनी ॥
तत्त्वज्ञान् हनुमानलाइ रघुनाथ्ले यै दिनू भो तहाँ ।
सोही ज्ञान् तिमि थ्यैं कही कन सक्याँ सम्पूर्ण मैले यहाँ ॥४०॥
सून्यौ पार्वति ! रामको हृदय यो जो जो त पाठ् गर्दछन् ।
जो छन् जन्म सहस्रका सकल पाप् तिन्का सबै टर्दछन् ॥
जातीभ्रष्ट अधम् हवस् त पनि लौ यस्लाई खुप् पाठ् गरी ।
राम्को ध्यान् पनि गर्छ पो पनि भन्या त्यो जान्छ संसार् तरी ॥४१॥
Page:Bhanubhaktako ramayan.pdf/18
Appearance
This page has been proofread
