छैनँ। मैले आफ्नो व्यक्तित्व प्रदर्शन गर्न खुर्सानीको माला लगाउनु पर्दैन; प्राकृतिक भावमा चले मेरो सच्चा रूप निक्लिहाल्छ । म राम्रो बनाएर देखाउन चाहन्नँ, आएको कुरा आओस् । आफ्नो प्राकृतिक पोशाकमा कुराकानी गर्दा अप्राकृतिक भएर कुरा गर्नेभन्दा सोझो, सर्फा दिल मजाको हो । फरासिलोपनको मनुष्य नै जीवनले रुचाउला ।
प्रबन्ध पनि एक कला हो; तर बनावटी कलाभन्दा प्राकृतिक कला रोचक हुन्छ । मेरो मनमा कला छैन भने खालि तोडमरोड हो । भित्रैबाट संगति मिलाएर कलाको जादूगरी निक्लियो भने त्यसमा दिव्यता देखिन्छ । तर 'म लेख्छु' को भावले कृत्रिम बनोटबाट चमत्कार निकाल्न खोज्दा सचेत प्रयासको पग्लिंदोपना निक्लिहाल्छ ।
यहाँ म जीवनको टीकाकार बनेको छु। बर्णन होस्, वृत्तान्त होस् वा व्याख्यान, जतासुकै पनि म आफ्नो रंगमा आफ्नो ढंगले यो जीवनको घामछायाका अनुभवहरू चित्रण गर्दै सजीव मानव बोलचालमा पाठकसँग कुरा गर्दछु । आफ्नो सुख-दुःख, प्राप्ति-हानि, हार-विजय, आँसु-हाँसो, भाव-भावना, आदर्श सपना, दृश्य-दर्शन झिल्का-भिल्कीहरूका साथ मनोरञ्जन र आत्मप्रकाशन गर्न अग्रसर हुन्छु ।
भेरो श्रीगणेशाय नम: यत्तिकै हो । प्रबन्धको रूप, कला, ढंग, इतिहास, भविष्य इत्यादिमा आलोचना गर्न मलाई ज्यादै थकाइ लागिसक्यो । ओठ चलेपछि कुरा बुझिहालिन्छ भने विस्तृत व्याख्यानको के जरूरत ?