"उल्लू रैछस् फटाहा मकन त कुटुनीतुल्य पो आज ठानिस् ?
के जानिस् कण्वपत्नी ? समझसँग त बोल् भस्म पार्नेछु जानिस् ?
जा जा ! जाने भए जा न त अब तँ यहाँ बिग्रिनेछस् घमण्डी ।
यी हुन् छोरी तँ बुझ्छस् समभविनु त्यसै बोल्दछस् हैन रण्डी ॥"
(३५)
काँप्यो पुड्के डरायो कर दुइ अब ता जोड्छ सातो गएर ।
"माफी पाऊँ नबुझ्दा यति हुन गइगो जान्छु माता !" नुहेर ॥
भन्दै त्यो भित्र पस्थ्यो उसबखत त्यहाँ झ्यालमा भूप आए ।
देखी को को रहेछन् तलतिर यतिले एक नै दृष्टि लाए ॥
(३६)
झल्का पाई मुदितहृदय स्वर्ग देखेसमान ।
ढुक् ढुक् गर्दी मुटु नजरले पाउँदी दिव्य मान ॥
आशा वल्ली लसित मुखको रङ्ग चढ्दो उज्याली ।
भोग्छिन् रोमाञ्च मृदुल नयाँ त्यो वसन्ती हवामा ॥
(३७)
बोल्लान् बोल्लान् कि अब पहिला शब्द त्यो झ्यालबाट ।
शायद् नामैसित त मकन ती गर्दछन् के पुकारा ?
"आयौ केले कुन रित कसो के गरी ?" सम्म केही ।
भन्ने आशा धुकचुक भयो प्रश्न केही नसुन्दा ॥
(३८)
"को हो ? को हो ?" सित पिक रटी ती बनेकी झसङ्ग ।
हेर्छिन् लामा नयन रसले झ्यालसम्मन् उठाई ॥
देखेनन् लौ कि त नयनले खालि देखे झलक्क ।
सम्झे होलान् तर किन त्यसै बिर्सिएलान् मिलिक्क ॥
(३९)
भन्दै हेर्दी वनतिर तिनी आशवाली पुलुक्क ।
आधा आशा अलिकति कतै के कसो भो भने झैं ॥
चढ्दो लाली शारम ललिता शोचले रोकिएकी ।
मुस्कूँ जस्ता अधर पहिलो भाव ओर्ली नुहेकी ॥
(४०)
Page:Shakuntala.pdf/280
Appearance
This page has been proofread
