This page has been proofread
७९
हसनाको बडो हस्के देखी उत्ताउलो-पन ।
कुनामा केवरा लाग्यो जिभ्रो काढी लजाउन ॥
८०
ढकमक्क शयेपत्री अभिमानी-समान छ ।
ज्यादा लत्रन जान्दैन रूपको खूप शान छ ॥
८१
बन्दै-छ गमला-रूप-खोरमा गुण-केशरी ।
तैपनी फूलको सातो हर्छ त्यो गुणले गरी ॥
८२
रसीलो हर-श्रृङ्गार वर्षाई पुष्प बर्बरी ।
स्वर्गीय वासना भर्छ महात्मा झैं वरी-परी ॥
८३
हंसराज नयाँ रङ्ग झिकी अत्यन्त दङ्ग छ ।
मानू सूर्यमुखीलाई सूर्य बन्ने उमङ्ग छ ॥
८४
रङ्गमा रेशमै-तुल्य ढङ्ग लोकै बिझाउने ।
रित्तो मखमली चुत्थो धूर्तै भन्न सुहाउने ॥
८५
उता गोदावरी जम्मै फुलेर ढकमक्क छ ।
यता सरस नेवारी त्यो देखी अकमक्क छ ॥
८६
एतावता सबै-तर्फ शरत्को कान्ति-माधुरी ।
झल्कायेर फुलेका छन् फूल राम्रा थरी-थरी ॥
८७
टल्कने हलुवाबेत लटर्याम्म रुखैभरी ।
अम्बा लदाबदी जम्मै पाकेका छन् थरी-थरी ॥