Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/243

From Nepali Proofreaders
Revision as of 19:23, 18 May 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(२०)
जालो कतै टम्म छ माकुराको
बनावटी जाल सरी कुराको ।
फसेर जस्मा बिचरा अजान
दिन्छन्‌ शिकारी शठलाई ज्यान ॥

(२१)
कतै तिखा दन्त धसी खनेका
आदर्श चौर्य-श्रमको बनेका ।
टेढा र बाङ्गा गहिरा सुरुङ्ग
देखी मुसाको दिल हुन्छ दङ्ग ॥

(२२)
कतै छरीता कमिला शिकारी
कुनै कुनाबाट शिकार मारी ।
घिच्याउँछन्‌ लाखन लागि ताँती
मिलाई मेलो, मन, माग, छाती ॥

(२३)
कतै त काठे भुमरो कराल
काठे-किराको गहिर पुवाल ।
खोस्रन्छ बर्बर्ति धुलो खसाल्छ
कीरा चपाईकन पेट पाल्छ ॥