२१
निशामा त्यो प्यारो पठनविधि गर्दै दिवसमा
उदासी भै हेर्दै हरकिसिमको बाह्य सुषमा ।
जगायें निःस्वार्थप्रणयसुखको जोति भरिलो
निकै नै कम्ती भो, विहगवधबाधा जहरिलो ॥
२२
गये बढ्दै बढ्दै पयर तल, आँखा गगनमा
जम्यो, फेरी नीलोपन गगनको टम्म मनमा ।
जटाशाली अग्लो शिर पवनको रङ्गरसमा
रमाई छर्कन्थ्यो छुनुमुनु गरी शान्तिसुषमा ॥
२३
कसैले त्यै वेला पनि हृदय पारीकन कडा
दिये भारी धक्का मकन अथवा उग्र रगडा ।
लुछे, लाछे, कोपे, जडतक खने, हुर्मत लिये
कठै मेरा लेखा तर अबुझ ती बालक थिये ॥
२४
जुँघा दाह्री तान्ने सरल शिशु जस्तै पथिक ती
म सम्झन्थें, हुन्थें प्रणयरसले गद्गद अति ।
बित्यो एवरीत्या समय, वयले उन्नति लियो
रसीलो छायामा प्रणयविधुको कान्ति फिंजियो ॥
२५
सँभाली वा खारी चपल मनका वृत्ति यसरी
म रस्तामा बस्ता प्रणयशिवको पूजन गरी ।
बित्यो मेरो निक्कै समय उस चौकी उपरमा
जहाँ वासा बस्थे विविध बटुवा ती रहरमा ॥
२६
यति भनी तपसीले मन्द निःश्वाससाथ
मुखकमल झुकाये, बन्द भो सूक्तिपात ।
म पनि अमृत जस्तो त्यो सबै सच्चरित्र
मनन मन लगाई गर्न थालें पवित्र ॥
Page:Tarun tapasi.pdf/53
Appearance
This page has not been proofread
