Jump to content

Page:Tarun tapasi.pdf/47

From Nepali Proofreaders
Revision as of 20:44, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

२४
दया हो पृथ्वीको अति चहकिलो पारसमणि
दया नै हो कालो भवजलधिको मुख्य तरणी ।
दया त्यस्तो त्यागी मनुज किन हिंसातिर झुक्यौ ?
म मर्ने हूँ, मर्छू तर तिमि नराम्रोसित चुक्यौ ॥

२५
म भन्छू हे अन्धो मनुज तिमि जस्ता मनुजको
अगाडी हत्यारो प्रकृति हलुकै हो दनुजको ।
यही तिम्रो पापी प्रकृति सब तिम्रा घरघरै
घुसी लाखौं लाखौं पुरुषकन पार्ला कि ठहरै ?

२६
मट्याङ्ग्रो माटाको जुन कुरुचिले आज भवमा
बन्यो, सोही पापी कुरुचि पछि सल्केर सबमा ।
कडा गोला गोली कठिन चिजका लाखन थरी
खडा भै पार्नेछन् सकल धरणीमा थरहरी ॥

२७
यही तिम्रो हिंसा, छलकपट ज्यादा प्रबल भै
सिधासादा, निर्धा अबुझ थिचिंदा आखिर सबै ।
अशान्तिज्वाला जो मुलुकभर बल्ला दनदनी
यसैमा पर्नेछौ जडमति म जस्तै तिमि पनि ॥

२८
चराको झैं तिम्रो गगनतलमा सर्र उडने
कुनै वेला आयो नियतिगतिले तागत भने ।
यही हत्याकारी कुरुचिवश भै पागल सरी
अवश्यै पार्नेछौ सकल पृथिवी प्रेतनगरी ॥

२९
बढ्यो स्याँ स्याँ, ज्यादा अभयसित जो अन्तिम कुरा
म भन्छू यो राम्रो किसिमसित सम्झे तिमि पुरा ।
अहिंसाको गङ्गाजल विन सबै उन्नतिकला
खरानी भै तिम्रो मनुज नगरोस् दीर्घ सुकला ॥