रहस्यमय अदृश्यसँग बसेको रमाई,
उदारताले हृदयद्वार जीवनलाई रिझाई,
रोग र व्याधि निखार्न सक्ने मन्त्र र बूटीले,
मदन तङ्ग्री मोटाए पोसी त्यसका कुटीले,
हिउँले ब्रह्मा बनाइदिन्थे उसकी कुमारी
गालामा उषालालीले रङ्ग दिव्यले मुसारी,
वनकी देवी जस्ती थी छोरी बुद्धको पालाकी
उसको नाम थियो है लावा कोमल चालाकी,
कुमार उसको तेजिलो थियो फुचाको नामको
बर्षमा बार्ह गजवको तर जेहेन र कामको,
पशु र पन्छी सबेको बोली मुट्ठीले निकाली
भाले र पोथी लाउँथ्यो बोल्न विचित्र कला ली,
महीना बित्यो मदनको त्यहाँ प्रकृतिबीचमा
अचम्म मानी आनन्दमाथि हिमालनगीचमा,
बाँसुरी मधुर बजाउँथ्यो फुचा रोएर सुन्थे ती,
सुरिलो गीत गाउँथी लावा बर्बर बन्थे ती,
कलुष-शून्य तिनको जीवन सत्युग-समान
देखेर त्यहीँ बसूँ झैँ लाग्यो सधैँ नै नजान,
तैपनि मेघ दक्षिणको आयो नाघेर हिमाल
जलको कुइरो पातलो बनी,
'कोही छ रोइरहेको' भनी,
सम्झना दिँदै अबोल-बोलमा मसिनो जन्जाल,
पन्छीको उडान मनले टिप्यो धराको घेरापार
घर जाने इच्छा दिलसँग बढ्यो फुटेन मुखको पार,
वैशाख लाग्यो पल्लवमा पन्ना, फूलमा इन्द्राणी
चरामा कलकल, साँझमा लाली,
ढुक्कुरमा कुरकुर, डाँफेमा फुरफुर, क्वैलीमा सुवाणी,
नालामा छलछल, हिमालमा झलमल, हाँगामा फुर्फुर,
मुजूरमा ढाँचा, हरिणमा कन्याइ, मिर्गमा छुर्छुर,