This page has not been proofread
७९
राम्रो वसन्त झैं पुच्छ, मैलो हेमन्त झैं शिर ।
राख्यो शिशिरले खासा चोचोमोचो दुवैतिर ॥
८०
पद्मिनीको महावैरी हिमको महिमा गयो ।
मालिन्यदोषले शून्य सूर्यको बिम्ब देखियो ॥
८१
मिली अब सती प्यारी पद्मिनी यो भनीकन ।
राम झैं सूर्य लागे कि उत्तरैतिर फर्कन ?
८२
वसन्तको कडा कोही अगुवा दूत झैं गरी ।
मैलो सबै सफा गर्दै सबैतर्फ चल्यो हुरी ॥
८३
बिचरा पान्थका लेखा भ्रामरीकै दशासरी ।
लागीरहन्छ रस्ताभा दुःखदायी चिसो हुरी ॥
८४
हावाको भुमरीभित्र धुलाको छ उही गति ।
आफना कर्मका साथ जीवको हुन्छ जो गति ॥
८५
माथीबाट झरे सारा पुराना पात बर्बरी ।
शक्तिशून्य निरुद्योगी भाग्यका भक्त झैं गरी ॥
८६
लागदा पश्चिमा हावा पुराना दलको स्थिति ।
बदली वृक्षले केही देखाये सपने मति ॥
८७
झुत्रा पात थिये अस्ति, झरे आज तिनी सब ।
पालुवा पर्सि देखिन्छ, छैन केही असम्भव ॥