एकतिस
पानी अझै पनि परिरहेको छ । खेतमा काम गर्दागर्दै साँझ पर्यो । हाकुमाया भात पकाउन गइन् । केटाकेटीहरू दिनभरि काम गरेकाले थाकेर भोक लागी भान्छामा भात पर्खिरहे। शिवनारान छाप्रोको ओसारामा बसी कहिले खेत, कहिले आकाश हेर्दै, सुखका अनेक कल्पना गर्दै मनको लड्डु घिउसित खाइरहेका थिए । भात पाक्यो । भात खाइसकेपछि पनि पानी परि रह्यो, राति पनि परिरह्यो । बीचबीचमा बिउँझेर शिवनारान खेतको हेरचाह गरिरहन्थे । भोलिपल्ट पनि पानी परि नै रह्यो । बढ्ता पानी परेकाले खेतमा पानी पनि बढ्ता भयो । खेतका निम्ति बढ्ता पानी पनि हितकर छैन तर पानी परिरह्यो, परिरह्यो, पर्सि पनि परिरह्यो, परिरह्यो ।
⬥
यसरी तीन दिनदेखि अनवरत पानी परि नै रह्यो । क्रमशः उत्तरतिरको साह्रो जमिन नै पानी भएर दौडदै आयो, वेग बढ्दै आयो, बिस्तारै बाढी हुँदै आएको पनि देखिन लाग्यो । बाढीमा असङ्ख्य धानका बिरुवाहरू बग्दै आएका देखिए, धेरै नै रूखहरू पनि देखिए, यहाँसम्म कि जमिनका ढिस्काका ढिस्का नै बगेर आएका हुनाले रूखसमेत खडिखडाउ भएर बग्दै आइरहेको पनि देखियो । आफ्नै खेत पनि जलमग्न भइसकेको थियो, आफ्नै घरमुनि पनि समुद्र आइसकेको थियो । आफ्नो छाप्रो पनि छोप्लाछोप्ला जस्तो हुन थाल्यो । कैय्यन् घर, छाप्रो बग्दै आएका, कति घरका काठपात, कति बाख्रा, गाई, भैंसी पनि बग्दै आएका देखिन थाले । बग्दाबग्दा मानिसै पनि बगेर