Jump to content

Page:Ek chihan.pdf/114

From Nepali Proofreaders
Revision as of 22:01, 20 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

क्रमैसित बेलुका पनि हुँदै आयो । नानीथकुंलाई पठाउने सुरसार पनि गरिन लाग्यो । बिदाइ हुन लाग्दा नानीथकुंलाई आमा, दाजु, भाउजूहरूले आशिष् दिए । अत्यधिक मायाममताका कारण बिदाइको बेलामा लतमायाले रोक्न खोज्दा पनि आँसु नचुहाईकन बस्न सकिनन्, भाउजूहरू सबैका आँखामा गहभरि आँसु थियो । दाजुहरूका दिलमा पनि नानीथकुंको मायाममताले चिमोटेको थियो ।

करिब आठ बजेतिर एक जना मानिसका साथ नानीथकुंलाई बिदाइ गरी पुऱ्याउन पठाइयो । उनलाई दाइजोको रूपमा समेत विशेष दिन सकेनन्, खालि – एक जोर चर्खा, हँसिया, हथौडा, कुटो, कोदालो, कोदाली, डल्लेठो आदि । बस, यत्तिकै दाइजोका साथ जुवाइँलाई उपहार भनी एक जोर खर्पन, एउटा डोको, एउटा डालो, नेपाली कुटो, कोदालो, एउटा खुकुरी, एउटा भादगाउँले टोपी र एउटा नेपालको नक्सा पनि दिई पठाएका थिए ।

ढोगभेट र बिदाइसँगै नानीथकुं घरका सबै मानिसबाट पाएका आशिष् शुभेच्छा शिरोपर गरेर एउटा साथीको साथमा सरासर गइन् । रामखेलावन राउत पुतलीसडकमा बसिरहेका थिए । बल्ल उनको प्रतीक्षा पूर्ण भयो । नानीथकुंलाई उनले आफ्नै कोठामा पुऱ्याउन आएका मानिस एकछिन बसी फर्के । रामखेलावन राउतका डेरामा अब आफू र आफ्नी जीवनसँगिनी नानीथकुंबाहेक अरू कोही छैन ।

यी दुईको भाषा मिल्दैन र एकले अर्काको कुरा त्यति बुझ्दैनन् पनि तर यिनीहरू आपसमा कुरा गर्न चाहन्छन्, ठट्टा गर्न चाहन्छन् र दुवै जना एकअर्काको दिलमा प्रेम पोख्न आतुर भइरहेका छन् ।