"खै, कसैले भन्न आउँदैन । हामी अलि प्रगतिशील भएकाले समाज हामीदेखि टाढा रहन खोज्छ, समाजमा अलि अगाडि बढ्न खोजे पनि नहुने, अरू साधारण मानिसहरूजस्तै रूढि र परम्पराभक्त भइरहन भने हाम्रो मन मान्दैन । अलि जान्नेबुऊनेलाई फसादै हुँदो रहेछ । फोने’ गरेर कसैलाई दिन जाऔँ, भन्न जाऔँ भने हलुकै मात्र हुने देख्छु । नानीथकुं आफैँले आफूलाई चाहिने साथी रोजेर जाओस् भन्ने विचार गरिरहेको थिएँ, उनले भने अर्काको पोइ, बाबु भएर बुढा भइसकेका, साँच्चै भनूँ भने उसका निम्ति एकदम सिल्पट दुलाहा खोज्न आँटिरहिछ । त्यो डाक्टरसित गएपछि जुलुम हुँदैन ? हुनसम्मको दुःख नपाउली, उसले ? बाको पनि ‘आफैँले छानेर जाओस्’ भन्ने विचार थियो । स्वतन्त्रता दिऔँ भने यस्तो बडो फसादको समस्या आइरहेको देखेँ मैले आमा !" शिवनारानले अलि दिक्क मानेर भने ।
"रामबहादुरको कुरालाई नै सुनौं कि ? उनी धेरै चोटि आइ पनि सके ।’ "उसको के कुरा ?"
"उही सुरमान सुब्बाको कुरा । नानीथकुंका निम्ति सुरमान सुब्बाले ज्यान थापिरहेका छन् रे ! उनैलाई दिए के होला ? मैले हेर्दा पनि नानीथकुं भाग्यमानी होली ।"
"ज्यान थापेर अर्काकी छोरीबेटी पाइन्छ, तरुनी स्वास्नी पाइन्छ भने म पनि ज्यान थापूँला । सुरमान सुब्बा तपाईंलाई हुन्छ भने नानीथकुं आफैँले पनि मन पराएर रोजेको डाक्टर गोदत्तप्रसाद कति कुराले चित्त बुझेन त ? मैले हेर्दा त डाक्टर गोदत्तप्रसाद सुरमानभन्दा सय गुना बेस छन् । त्यही धन दौलत, मानमर्यादाको आँच, चहकमहक, रबाफरौनक देखेर भन्नुभएको होला, त्यस्ता बुढासुढा, कसैका पोइ, बाबु र वासनाका निम्ति बिहे गर्न खोज्ने बेबकुफलाई दिने कुरा मसँग गर्दै नगर्नोस् आमा ! म त्यस्तो अवैधानिक विवाहको समर्थन कहिल्यै गर्दिनँ ।"
"नानीथकुंको चिना उनलाई साह्रै मिल्छ रे, सरदार नभई छोड्दैनन् रे, त्यसैले दिऔं कि भन्ने विचारसम्म पोखेकी ।" सरल भावमा लतमायाले भनिन् ।