हुन्छ, ठीक त्यसको उल्टो तिमीहरूको किसानी जीवनचाहिँ हेर्दा दुःखी देखिन्छ तापनि सधैँ सुखशान्तिको इन्द्रेनी दौडिरहेको हुन्छ ।"
बिचरी किसान बालिका नानीथकुंले बनारस विश्वविद्यालयमा आई. ए. सेकेन्ड इयरसम्म पढेकी रञ्जनादेवीको कवितामय कुरो के बुझ्न सक्थिन् ? खालि पक्क परेर सुनिरहिन् ।
रञ्जनादेवीले सोधिन्- "तिमी बिरामी भएर जँचाउन आएकी मानिस अगि किन डाक्टरसाहेबसँग ख्यालठट्टा गरिरहेकी ? परपुरुषसित स्वास्नी मान्छेले त्यसरी ख्यालठट्टा गर्नु ठीक छ ? स्वास्नीमान्छेको इज्जत स्वास्नी मान्छेले नै राख्न जान्नुपर्छ । यसरी सस्तो र खैराँती हुनु हुन्न, नानीथकुं !"
रञ्जनादेवीले फेरि भनिन्- "त्यस्ता तीनवटा छोराछोरीका बाबु, कपालमा जौतिल पाकिसकेका बुढासित पनि तिमीजस्ती भरभराउँदी तरुनीले प्रेम गर्ने ? ‘जात फ्याँक्नु गहतको झोलमा’ भनेको यही हो ।"
रञ्जनादेवीका एक एक शब्द नानीथकुंले खुब ध्यान दिएर सुनि रहिन्, तर एक शब्दको पनि जबाफ दिइनन् । अनि रञ्जनादेवीले अर्कै किसिमबाट भन्न थालिन् । आफ्नो भनाइमा उनी भएभरको शक्ति र बुद्धि खन्याउन लागिन्- "हामी स्वास्नीमान्छेले आफ्नो जीवन भोगका निम्ति अर्पनु हुँदैन; हामी कुनै लोग्नेमानिसको भोगका निम्ति जन्मेका वा सिर्जेका जीव होइनौं । हाम्रो उमेरमा यौवन छ, हाम्रो गालामा रगत छ, हाम्रो ओठमा पानी छ, हाम्रो शरीरमा सौन्दर्य छ, हाम्रो चेहरामा मुस्कान छ, हाम्रो वाणीमा माधुरी छ, हाम्रो हेराइमा लालित्य छ, हाम्रा प्रत्येक अङ्गप्रत्यङ्गमा हिसी छ । के लोग्नेमान्छेलाई भोगाउनका लागि ती सबै गुण हामीले पाएका हौं ? कदापि होइन, ती सबै गुण हामीले हाम्रै निम्ति पाएका हौं ।"
रञ्जनादेवीले बोलेका यी सब कुरा सुनेर नानीथकुं निहुरिरहेकी थिइन् । उनले फेरि भनिन्- "किन नानीथकुं ! एक शब्द पनि तिमीले बोलिनौ ? मैले भनेको कुरा तिमीलाई ठीक लागेन ? तिमीलाई मन परेन ? भन, मेरो भनाइ तिमीलाई कस्तो लाग्यो ? ठीक लाग्यो कि बेठीक ?"
नानीथकुं केवल एक चोटि मुसुक्क हाँसिन्, तर एक शब्द पनि बोलिनन् ।