Jump to content

Page:Munamadan.pdf/12

From Nepali Proofreaders
Revision as of 13:14, 18 April 2025 by Rbn (talk | contribs)
This page has been proofread

यो हातलाई सुनको बाला खँदिलो सुहाऊँ,
रिनले थोत्रो घरको जग बलियो बनाऊँ,
भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो,
उचालिहालेँ पयर ऐले, इच्छाले उठायो ।
ईश्वरमाथि, मुटु छ साथी जङ्घार तरुँला
असल गर्दा झन् विघ्न परे बाटैमा मरुँला
पृथिवीपारि स्वर्गमा फेरि हे प्यारी ! भेटौँला !

मुना–
हे मेरा कृष्ण ! मुटुको गाँठो झन् कसी नबोल !
तस्वीर खिच्छु मनमा तिम्रो मुहार अमोल !
नफर्क प्यारा ! नलुकाऊ आँसु नयनमा ढल्मल !
ह्लासाकी ठिटी, आँखाकी छिटी सुनमा कुँदेकी,
बुल्बुले बोली, गालाको बीच गुलाफ फुलेकी–
ती सबै खेलून्, ती सबै नाचून् डाँडा र चहुरमा,
मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा,
सवारी हओस् अँध्यारो पारी घर शहरमा !
रुनु नै बल पुग्दैन रोई आँसुले हजूरमा !
अँध्यारोभित्र सम्झना बल्ली बिजुली-झलकमा
आँसुको वर्षा हुनेछ शीतल दुःखीको पलकमा[✸ 1]



  1. ✸पिँजराभित्र जलेकी चरी नबोली रुनेछ
    ठुँगेर डण्डी बत्तिई भने कहाँ पो हुनेछ ।
    क्षण क्षण प्यारा हुनेछन् मेरो जलेका जीवन ।
    खरानीबाट छिनछिन बिउँती रुनेछ सम्झना ।
    छहारी दिने रसिलो बादल झुकेको बिलाए
    शीतको दाना सुकेको फूल
    खङ्ग्रङ्ग भई सुकेर मूल