मानिस्को अवतार् भयो प्रभुजिको सेवक् त वानर् भई ।
गर्छौ सेवन भक्तिले प्रभुजिका केवल् हुकुम्मा रही ॥
जान्याछौं पछि धाममा पनि सँगै यो जान मन्ले यहाँ ।
क्या गर्छौ मनमा कुतर्क हरिको रिस् छैन कस्सै महाँ ॥१२०॥
यस्ता बात् हनुमानका सुनि बुझ्या अङ्गद् र खूसी भई ।
विन्ध्याचल् गिरिका कुनाकुनि समेत् सम्पूर्ण खोज्दै गई ॥
पौंच्या क्षारसमुद्रका तिर महाँ पर्वत् थियो एक् तहाँ ।
तेस्को नाम महेन्द्र हो नजिकमा देखिन्छ सागर् जहाँ ॥१२१॥
पृथ्वीमा न मिलिन् सिता न जलमा जान्या छ बाटो कतै ।
खोजौं जाउँ भन्या सक्यौं पृथिवि सब् पायौंन सीता कसै ॥
फर्कौ जाउँ भन्या पनी अब सहज् मार्छन् त चाहीं यहीं ।
मर्नू आज निको भनेर तिरमा बन्दर् बस्या सब् तहीं ॥१२२॥
सम्पाती अति वृद्ध गृद्ध वनमा थीया ति निस्क्या जसै ।
हेर्या दृष्टि फिराइ तेस् तिर महाँ देख्या ति वानर् तसै ॥
बोल्या वाक्य पनी म भर्छु अब पेट् पायाँ अहारा भनी ।
अङ्गद् विर्हरुले सुन्या र इ वचन् साह्रै डराया पनी ॥१२३॥
लाग्या भन्न सबै ति वानरहरू आयेछ हाम्रो त काल् ।
मछौं आज अवश्य मार्छ यसले यो गृद्धको हेर चाल् ॥
क्या बात् भाग्य जटायुको प्रभुजिको प्यारो हुन्या काम् गरी ।
ठाकुर्लाइ रिझाइ पार् पनि गया संसारसागर् तरी ॥१२४॥
व्यर्थै हामि त गृद्धका मुख विषे सब् पर्न आयौं यहाँ ।
येती वानरका वचन् सुनि तसै सम्पाति बोल्या तहाँ ॥
हे विर् हो न डराउ आज तिमिले प्यारो सुनायौ कुरा ।
मेरै भाइ जटायु हो कहु खबर् तेस्को त सप्पै कुरा ॥१२५॥
Page:Bhanubhaktako ramayan.pdf/98
Appearance
This page has not been proofread
