भन्छन् श्रीरघुनाथलाइ रघुनाथ् तिम्रो बिराम् क्या गर्याँ ।
धर्मै छोडि लुकेर आज तिमिले मार्यौ म ऐल्हे मर्याँ ॥
यो क्या क्षत्रियधर्म हो लुकि लुकी विर् बाण छोड्छन् कहीं ।
क्षत्री भै कन धर्म छोडि लडन्या एक् आज देख्याँ यहीं ॥४८॥
साम्ने भै कन बाण छोडि तिमिले मार्थ्यौ त खुप् यश् थियो ।
सुग्रिव् हो कति साख् म हुँ कति कुसाख् हा दैव क्या मन् दियो ॥
सीता रावणले हर्यो भनि बहुत् सन्ताप मन्ले गरी ।
सुग्रिव्लाइ सहाय ली म कन ता लूकेर चोर् झैं गरी ॥४९॥
मार्यौ यो अति चुक् भयो गरुँ कसो बाँच्थ्याँ त याहीं बसी ।
रावण्लाइ कुलै समेत् सहजमा झिक्थ्याँ म पाता कसी ॥
लङ्कापूरि समेत् पनी म बलले झिक्थ्याँ सहज्मा यहीं ।
पाजी रावणलाइ मार्न तिमिले क्या जानु पर्थ्यो उहीं ॥५०॥
चोरी मारि लिंदा न यश् हुन गयो मासू न खानू भयो ।
धर्मात्मा तिमि पापि झैं हुन गयौ ज्यान् व्यर्थ मेरो गयो ॥
बालीका इ वचन् सुनेर रघुनाथ् भन्छन् तँ बोल्छस् कति ।
बाली हूँ भनि गर्व गर् त पनि हेर् साँच्चै तँ होस् दुर्मति ॥५१॥
पाप्को डर् रति भर् न राखि तइँले खुस् भै बुहारी हरिस् ।
सोही पाप् अहिले प्रकट् हुन गयो तेस् पापले पो मरिस् ॥
धर्मस्थापन गर्नलाइ त यहाँ औतार मैले लियाँ ।
धर्मै जानि अधर्म ठानि अहिले तैंलाइ मारी दियाँ ॥५२॥
श्री राम्का इ वचन् सुनी प्रभु भनी जानी चरण्मा पर्या ।
वानर् हूँ रघुनाथ् क्षमा गर भनी हात् जोरि बिन्ती गर्या ॥
नामोच्चारणले फगत् सहजमा संसारसागर् तरी ।
ख्वामित् जान्छु हजूरमा अब भन्या मैले त दर्शन् गरी ॥५३॥
Page:Bhanubhaktako ramayan.pdf/86
Appearance
This page has not been proofread
