Jump to content

Page:Bhanubhaktako ramayan.pdf/71

From Nepali Proofreaders
Revision as of 15:57, 13 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> यस्ता वचन् सुनि सिता कन हर्न आँटी । नाम् काम् तहाँ सब कह्यो रति भर् न ढाँटी ॥ बोल्यो अवाच्य पति मानि मलाइ लेऊ । राम्चन्द्रलाई तिमिले अब छाडि देऊ ॥८४॥ यस्ता वचन् स...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

यस्ता वचन् सुनि सिता कन हर्न आँटी ।
नाम् काम् तहाँ सब कह्यो रति भर् न ढाँटी ॥
बोल्यो अवाच्य पति मानि मलाइ लेऊ ।
राम्चन्द्रलाई तिमिले अब छाडि देऊ ॥८४॥

यस्ता वचन् सुनि अलिक् मनले डराइन् ।
बात्ले त दुष्ट कन तृण् सरिको गराइन् ॥
हे दुष्ट रावण अवश्य तँ आज मर्लास् ।
ऐले जसै प्रभुजिका अघि याहिं पर्लास् ॥८५॥

यस्ता वचन् सुनि रिसायर जल्दि ऊठ्यो ।
धार्यो स्वरुप् र अब हर्छु भनेर छूट्यो ॥
बिस् बाहु दस् मुख शरिर् पनि शुद्ध कालो ।
देखाइ सब् कन तरास् मन भीत्र हाल्यो ॥८६॥

सीताजीलाइ मन्ले चिह्नी कन मनमा मातृवत् बुद्धि गर्दो ।
हात्ले मैले छुँदामा अनुचित छ भनी स्पर्श केही न गर्दो ॥
आफ्ना नङ् सब् जमिन्मा धसि कन जमिनै जल्दि हात्ले उठायो ।
सीताजीलाइ रथ्मा धरिकन दगुर्यो राम देखी छुटायो ॥८७॥

हा राम् लक्ष्मण यत्ति मात्र मुखले बोलेर साह्रै रुँदी ।
तन् मन् रामविषे धरेर बहुतै विह्वल् निरन्तर् हुँदी ॥
देख्या ताहिं जटायुले र उडि गै रथ् चूर्ण पारी दिया ।
घोडा चूर्ण गराइ फेर् धनु समेत् टुक् टुक् गराई दिया ॥८८॥

रावण् झन् वीर थियो अति झपट गरी हातमा खड्ग लीयो ।
काट्यो दूवै पखेटा रिस सित र तहाँ भूमिमा पारि दीयो ॥
बाधा पाई जटायू पृथिवितल गिर्या फेरि रथ्को तयारी ।
जल्दी पार्यो र सीता लिइ कन पुगि गो दुष्ट ता सिन्धु पारी ॥८९॥