यै बीचमा नजिक शूर्पणखा त आई ।
देख्या तहाँ प्रभुजिले पनि दुष्टलाई ॥
कन्दर्पका वश परी प्रभुका नजिक् गै ।
सोधी तहाँ प्रभुजिलाइ बहूत खुस् भै ॥३०॥
नाम् सब् कह्या प्रभुजिले जब नाम सूनी ।
ऐल्हे म भज्दछु पती भनि येति गूनी ॥
बिन्ती गरी म कन पत्नि बनाइ लेऊ ।
कन्दर्पको कठिन ताप छुटाइ देऊ ॥३१॥
यस्तो वचन् सुनि सिता कन हाँसि हेरी ।
उत्तर् दिया प्रभुजिले घरमै छ मेरी ॥
सौता बुझी कन न भज् तँ पती मलाई ।
भाई छ खालि बरु भज् पति भाइलाई ॥३२॥
साँचो भन्या भनि त लक्ष्मणका नजिक् गै ।
आयाँ म पत्नि हुन येति भनेर खुस् भै ॥
सून्या वचन् सकल लक्ष्मण्ले र ताहाँ ।
दास् हूँ म ता म सित कुन् सुख मिल्छ याहाँ ॥३३॥
जा वाहिं मालिक उ हुन् उहिं बस्नु अच्छा ।
बुद्धी रहेनछ बहुत् रहिछस् तँ कच्चा ॥
यस्ता वचन् सुनि र शूर्पणखा रिसाई ।
सीताजिलाइ अब खाँ भनि फर्कि धाई ॥३४॥
भार् हर्न बीज् प्रभुजिले तहिं रोप्न आँट्या ।
लक्ष्मणजिलाइ भनि नाक र कान् कटाया ॥
आज्ञा लि लक्ष्मणजिले पनि काटि दीया ।
भागी डराइ कन भाइ जहाँ त थीया ॥३५॥
Page:Bhanubhaktako ramayan.pdf/62
Appearance
This page has not been proofread
