अष्टनारानको मृत्युको समाचार सुनेर टोलमा सनसनी फैलियो । परिवार शोकविह्वल भएको बेला सम्झाउन आउने मानिस आफैँ शोकसन्तप्त भए । त्यसकै कारण अष्टनारानको परिवार, अझ विशेषतः लतमायालाई सम्झाउन आएका उनीहरूको घरमा धेरै बेर रुवाबासी चलिरह्यो
शोकसन्तप्त परिवारलाई सान्त्वना दिएर छिमेकी र टोलियाहरू आआफ्ना घर फर्के । दाहसंस्कारको कामका लागि गुठियारहरू पनि फाटफुट रूपमा आइसकेका थिए । तर शिवनारानलाई भने पिताको मृत्युले भएको वेदनाभन्दा पनि अर्कै तापले दु:ख दिन थाल्यो । ‘अब कसरी दाहसंस्कारको काम सिद्ध्याउने ?’ यस चिन्ताले शिवनारानलाई सर्पले डसे झैँ डस्न थाल्यो ।
शिवनारान जेठा छोरा भएका हुनाले धन्दा सुर्ता सबै उनैले नबोकी भएन । घरमा फुटेको पैसा थिएन । यहाँसम्म कि कात्रो किन्नलाई समेत पैसा थिएन । भएको दुई-चार रुपियाँ र एकाध मुरी अन्न पनि अष्ट नारानको औषधी खर्चमा सिद्धिसकेको थियो । भण्डारमा अन्नको नाउँमा दुई -तीन पाथी चामल, पाँच-छ पाथी पिठो अनि बिस-पच्चिस धार्नी आलु बाँकी थियो । कसैसित सापट माग्न पनि उनलाई राम्रो लागेन । दुनियाँ हाँस्ला भन्ने सोचाइमै उनको सापट माग्ने विचार र ह्याउ मरेर गयो ।
यो कुराको ताप र चिन्ता शिवनारानलाई मात्र होइन, उनका अरू भाइहरू र आमा लतमायालाई पनि भइरहेको थियो । गुठियारहरूको ताकेताले