This page has not been proofread
डाक्टर गोदत्तप्रसादले झन् सहानुभूति देखाएर भने- "मेरो बुद्धि र बर्कतले भेटुन्जेल जरुर म तपाईंहरूको यथायोग्य सेवा गर्नेछु । यसमा तपाईंहरूले धन्दै मान्नु पर्दैन ।" शिवनारानको फिस दिइरहेको हात पन्छाउँदै हिँड्न खोजीकन डाक्टरले भने- "भोलि बिहान ठीक आठ बजे आइपुगुँला । त्यतिन्जेल केही बढेर आएमा तुरुन्त खबर गर्नुहोला, रातमा भए पनि म आउनेछु ।"
यति भनी डाक्टर गोदत्तप्रसाद हिँड्न लागे, दुई पाइला के गइसकेका थिए, फेरि फरक्क फर्केर नानीथकुंतिर हेरेर उनले भने- "अँ, धेरै गोडा मिच्ने काम पनि नगर्नुहोला है ! आजलाई पुग्यो ।"
लज्जापूर्ण भावमा नानीथकुंले ‘हओस्’ भन्ने सङ्केतमा केवल शिर हल्लाइन् ।