उनन्तिस सबैलाई होसियारीको चेतावनी दिँदै नानीथकुंलाई घरमै छोडेर खेतमा काम गर्न जाने अनुकूल मिलाएका शिवनारान एक्लै त्यति बेलै खेततिर दौडे ।
रातभरिको छर्लङ्ग अनिद्रामा शिवनारानले नानीथकुंको बारेमा निक्कै चिन्ता गरे, नाना सोचविचार गरे । अब नानीथकुंलाई झट्ट एउटा सुपात्रसित बिहे गरेर नदिई यसै राखिछोड्नु उनले ठीक ठानेनन् । यसैले आफैले नानीथकुंलाई एउटा सुयोग्य वर खोजी गरेर पनि दुई-चार दिनमै विवाह गरी निश्चिन्त हुनुपर्यो । रातभरि नानीथकुंका बारेमा यस्तै केके, अनेक सोचविचार शिवनारानले गरेका थिए ।
यही फिक्रीको फेरमा दौडादौड गरी शिवनारानले एक हप्ताभित्रै नानीथकुंलाई एउटा सुयोग्य वर फेला पनि पारे। दुलाहा हुने केटो म्याट्रिक पास पनि भएको, एउटा मौजाको जिमिदार पनि, उमेर मिल्दो नै थियो । सबभन्दा हर्षको कुरा आफ्ना बाबु अष्टनारान र आफूहरूको पनि विचार र सिद्धान्तअनुसार केटो मधेसी थियो । प्रायः चाहिँदा गुनहरूले परिपूर्ण भएको मधेसी केटो पाएको र आफ्नो र तराईका मधेसी जातिसित वैवाहिक सम्बन्ध जोडिन पुग्ने कुराले शिवनारान चौपट्टै सन्तुष्ट र प्रफुल्लित भए । नेवार, पर्वते, मधेसी यी तीनै जाति र संस्कृतिको मेल झन् आफ्नै घरमा हुन लागेकोमा शिवनारान अत्यधिक खुसी भए । किनभने यी तीन जाति र संस्कृतिको समन्वय वा स्थापना नभईकन नेपालको उन्नति हुँदै हुँदैन भन्ने उनलाई विश्वास थियो ।