"कसले भनेर ल्याइस् तान ! हामीले ‘ल्याइदे’ भनेर हात जोडेका थिएनौँ । लैजा तानको तानै खाँचो परेको छैन त्यसको पैसा तिरिरहन ।" शिवनारानले कड्केर भने ।
रामबहादुरसँग यति बोलिसकेपछि शिवनारानले लतमायातिर हेरेर भने- "दिएर पठाइदिनोस् उसको तान ।"
शिवनारानले फेरि रामबहादुरतिर हेरेर भने- "लैजा तेरो तानको तानै, तँ पाजीहरूको तानको खाँचो परेको छैन हामीलाई !"
रामबहादुरको बेबकुफी देखेर हाकुमायालाई पनि साह्रै झोंक चल्यो, मारिहालूँजस्तो उनलाई भयो । त्यसैले शिवनारानले उसको तान दिइपठाउने कुरा गरेपछि हाकुमायाले भनिन्- "के खाँचो त्यस बदमासलाई तान बोकाएर पठाइरहन ! त्यस बदमासलाई, बेबकुफलाई, के उसको बेबकुफीको पुरस्कार- स्वरूप तान दिने मूर्खता हामीले गर्ने ? दियो लियौं, फेरि फर्काइरहने मूर्खता किन ?" रामबहादुरतिर हेरेर हाकुमायाले भनिन्- "जा, पच भयो तेरो तान ! कागज भएको होइन, ‘जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै । तँ बदमाससित हामीले किन भलादमी हुनुपरेको छ ! यही तँलाई दण्ड भयो । जा, पच भयो तेरो तान, नालिस गर्न जा ।"
हाकुमायाको कुरा सुनेर नानीथकुं खिस्स हाँसिन् । लतमाया केही बोल्न सकिनन् । शिवनारान पछाडितिर हेरेर आफ्नी स्वास्नीको साहस देखी हाँसिरहे । रामबहादुर एक शब्द बोल्न सकेनन्, ढुङ्गाको मूर्ति उभिएर त्यसै जिल्ल परिरहे । एकछिन वाल्ल परेर ‘देखा जाएगा’ भनी रिसले चुर भएर गए । "देखा जाएगा भने देखा जाएगा ! लौ जा, के गर्लास् तैंले ?" हाकुमायाले जबाफ दिइन् ।