डाक्टर गोदत्तप्रसाद नानीथकुंको घरमा पुगे । नानीथकुंले उनको हिँडाइको आवाजसमेत राम्रै पहिचानि राखेकी थिइन् । यस कारण भर्याङ उक्लनासाथ डाक्टर गोदत्तप्रसाद आएको नानीथकुंले चाल पाइन् अनि दौडेर गई नानीथकुंले उनलाई भऱ्याङमै भेटिन् । डाक्टर गोदत्तप्रसादलाई उनले कोठामा लगिन् र बिस्तारै भनिन्- "किन आउनुभएको ? तपाईं यहाँ नआउनोस् भनेको होइन ?"
"आज एक बजे घर आउँछु भनेको, कहाँकहाँबाट एउटा अत्यन्त जरुरी काम आइलागेर आउन पाइनँ । बडो अफसोस लाग्यो नानीथकुं ! जरुर क्षमा गर है !" डाक्टर गोदत्तप्रसादले पनि बिस्तारै भने ।
"हो, म दुई घण्टाभन्दा बढ्ता तपाईंकहाँ बसेर आइसकेँ ।" नानीथकुंले बिस्तारै भनिन् ।
"मैले थाहा पाइसकेँ, त्यसैले म तिमीले ‘नआइज’ भने पनि फालहालेर आएको ।" डाक्टर गोदत्तप्रसादले भने ।
"अर्कालाई कति नमज्जा लाग्यो, न जाऊँ न बसिरहूँ भयो !" अलि नखराएको अनुहारमा नानीथकुंले भनिन् ।
"त्यसैले दौडदौडीकन क्षमा माग्न आइपुगेको ।"
"खुब आउनुभएको होला क्षमा माग्न ! ‘तिमीप्रति मेरो कत्ति प्रेम छ’ भनी धक्कु त छोड्न आउनुभएको होला !" नखराकै भावमा नानीथकुंले भनिन् ।
"लौ लौ, तिमीले नै जित्यौ, त्यसै हो !"
"अर्कालाई ख्याल कपाल दुखेको थियो ! बल्ल अहिले निको भयो !"
"डाक्टर आइपुगेर होला । डाक्टरको अगाडि कपाल दुखाइको के लाग्छ ?"
"त्यसैले त सेखी बढेको तपाईंको । ‘एक बजे आउँछु’ भन्ने मानिस तीन बजेसम्म पनि नआएर अर्कालाई कपाल दुख्न लगाएको यही चटक देखाउनलाई होला । तक्मा दिनुपर्ने डाक्टर हुनुहुँदो रहेछ तपाईं !" आनन्दमा मस्त भएर नानीथकुंले भनिन् ।
"ओ ! माफ गर नानीथकुं ! होसै भएनछ ।"