बाइस आफ्नो खेतको काममा अलमलिँदा पनि शिवनारानले नानीथकुं र डाक्टर गोदत्तप्रसादमाथि उठेको रिस बिर्सिन सकेका थिएनन् । काम गर्दा पनि मनमा फनक्क रिस उठ्थ्यो। त्यस कारण आज शिवनारान पाँच बज्दानबज्दै घर फर्केका थिए । आज पनि आफ्नै घरबाट गोदत्तप्रसाद फर्कंदै गरेको देख्ता डाक्टर गोदत्तप्रसादलाई समातेर निमोठिहानूँजस्तो उनलाई भयो । डाक्टर गोदत्तप्रसादलाई पनि एकाएक शिवनारान भेट हुँदा हुनसम्मको अप्ठ्यारो भएको थियो, सहसा सङ्कोच भावले छोपेको थियो, के गरूँ, के गरूँ भएर एकदम अतासिइसकेका थिए । तर उनले तुरुन्तै केही नभएको जस्तो भाव गरी शिवनारानसँग भने- "किन हँ, निकै चाँडै फर्क्यौ नि शिवनारान ? तिम्रो खेतमा रोपाईं सिद्धियो ?"
डाक्टर गोदत्तप्रसादले पनि बोलिदिँदा त शिवनारान झन् रिसले भुतुक्क भए । जबाफ दिने सभ्यताको पनि उनलाई केही ख्याल भएन । खालि क्वारक्वारती हेरेर केही पनि जबाफ नदिईकन सरासर घरभित्र पसे । भेट्ता ‘नमस्ते’ सम्म पनि गरेका थिएनन् ।
उनी सरासर तानकोठामा गए । झन् नानीथकुंलाई नदेख्ता उनको रिसको मात्रा अझ बढ्यो । कोठामा पाइला टेक्नासाथ शिवनारानले क्रुद्ध भावमा भने- "नानीथकुं खोइ नि ?"
"कपाल दुखेर कोठामा पल्टिरहेकी छ ।" स्वाभाविक स्वरमा लतमायाले भनिन् ।
"तपाईं छोरीको रखवारी भइरहनुभएको हो कि कुटुनी ? घरमा गुन्डा नाचेर गइसक्यो, तपाईं छोरीलाई कपाल दुखिरहेको छ भनी यहाँ सुति