"क्याजुयल बिदा छँदै छ नि, वर्षदिनमा पाइने पन्ध्र क्याजुयल बिदामा एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि पूजा गरुँला ।" हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
डाक्टर गोदत्तप्रसादको यो अन्तिम वाक्यले झन् प्रभावित भएर नानीथकुंले भनिन्- "मलाई त घर जानै मन लागेन डाक्टरसाहेब !"
"तिमी मदेखि साह्रै खुसी भएको सुअवसरमा तिमीसित आज म एक थोक माग्ने बिन्ती बिसाऊँ है त नानीथकुं ?" प्रेमपूर्ण भावमा डाक्टर गोदत्तप्रसादले भने ।
"नाइँ, यसरी तपाईंले मलाई सम्मान गर्नुभयो भने प्रेम गरिरहनुभएको छ भन्ने मलाई विश्वास हुन गाह्रो हुन्छ । प्रेमको दुनियाँमा बिन्तीसिन्तीको अदबले ठाउँ नपाओस् डाक्टरसाहेब !" मुस्काउँदै नानीथकुंले भनिन् ।
"बातपिच्छे ‘डाक्टरसाहेब, डाक्टरसाहेब’ को धुवाँ र अदबले उल्टो तिमी नै उपाध्याय भएर अझ मलाई उपदेश दिन्छ्यौ ?" व्यङ्ग्यमय भावमा डाक्टर गोदत्तप्रसादले भने ।
आफ्नो छेडले आफैँ लडी नानीथकुं सर्मिन्दा भइन् । लाजले उनी केवल मुसुक्क हाँसिन् अनि ओठ टोकेर फर्किन् ।
"किन उता फर्केकी नानीथकुं ! हारेको कबुल गर्छ्यौ भने हर्जाना तिर र जित्न चाहन्छ्यौ भने बोल, फेरि के भन्न चाहन्छयौ ?" डाक्टर गोदत्तप्रसादले व्यङ्ग्य हानेर भने ।
"हारेको हर्जाना के तिर्ने नि ?" मन्द मुस्कानमा नानीथकुंले भनिन् ।
"हारेकोमा हर्जाना ?"
"अँ ।"
"मैले भनेजस्तो एक चोटि हाँस न त ।"
"छि: भैगो डाक्टरसाहेब ! धेरै नजिस्क्याउनुहोस् ।" अलि नखराएको भावमा नानीथकुंले भनिन् ।
ल, फेरि ‘डाक्टरसाहेब ?’ कति ‘डाक्टरसाहेब’, ‘डाक्टरसाहेब ?’ ठट्यौलो अनुहारमा डाक्टर गोदत्तप्रसादले भने ।
"के भन्ने त ?" ठट्यौलो अनुहारले नानीथकुंले पनि सोधिन् ।