बिस डाक्टर गोदत्तप्रसाद अस्पताल गइसकेपछि झटपट भात खाई रञ्जनादेवीले नानीथकुंलाई बोलाउन पठाइन् । उनले सोचिन्- ‘नहुनुपर्ने कुरा भइरहेछ, रिसाएर अब त्यो मेटिन्न, केवल रिसै मात्र आफूसित भइरहला, सुख अर्काको पोल्टामा पर्ला । त्यसैले अक्किल लडाउन नसके अझै पनि यस्तो डढेलोमा सुकेका पात सल्केर गएझैं जान सक्छ ।’ यही सोचविचारको निष्कर्षमा आएर उनले अक्किल जमाई नानीथकुंलाई बोलाउन पठाएकी हुन् ।
डाक्टर गोदत्तप्रसादको घरको कुकुर पनि नानीथकुंलाई देवतासिद्ध भइरहेको थियो ! त्यसैले ‘आउनू’ भन्ने सन्देश पाउनासाथ फाल हालेर नानीथकुं डाक्टर गोंदत्तप्रसादको घर पुगिन् ।
तुरुन्तै आइदिँदा बडो खुसी भएर रञ्जनादेवीले नानीथकुंलाई आफ्नो घरको सबभन्दा गुप्त कोठामा लगिन् । नानीथकुंको मनमा अनेक तर्क-वितर्क उठ्न थाल्यो । तर बाहिरबाहिर खुब समालेर उनी रञ्जनादेवीसँगै हाँस्तै आफूलाई लगेको कोठामा गइन् ।
रञ्जनादेवीले भनिन्- "नानीथकुं ! तिमी त सिधासाधा किसानकी सिधीसोझी छोरी रहिछ्यौ, तिमीलाई देखेर मलाई बडो माया लाग्यो ।"
रञ्जनादेवीको यो कुराले साँच्चीकै सिधीसोफी नानीथकुं जिल्ल परिन् । के भनेकी हुन् भनी उनी अलमल्ल परेर टोलाइन् ।
रञ्जनादेवीले फेरि भनिन्- "किसानको जीवन वास्तवमा दुःखी भएर पनि सुखी छ । हेर्दा सुखी देखिएर पनि हाम्रो जीवन सधैं तितोपनमा डुबिरहेको