"टुम्टुम् छयाँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त हाँसेर नानीथकुंले बोलिन् ।
"अँ भन न लौ साँच्ची, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म रिसाउँदिनँ ।"
"के ?"
"’नानीथकुं’ को सट्टा मैले तिमीलाई ‘नानी’ भन्न चाहेझैं तिमीले मलाई के भन्न चाहेको ?"
"हो त ? रिसाउन पाइन्न नि ?"
"हो हो लौ, रिसाउँदिनँ ।"
"नाइँ, तपाईं रिसाउनुहुन्छ ।"
"रिसाउँदिनँ भन्या’ तिमी मारे हत्या ।"
"भैगो लौ, अरू कुरा गर्नोस् ।"
"नभने म मारे हत्या ।"
"भनिहालूँ त ? तपाईंलाई…?"
नानीथकुंले मुस्कुराउँदै अलि लजाएको भावमा डाक्टर गोदत्तप्रसादको मुख वाल्ल परेर हेरिरहिन् ।
"अँ मलाई ?" डाक्टर गोदत्तप्रसादले फेरि कोट्टयाए । "तपाईंलाई !" लज्जापूर्ण भावमा डाक्टर गोदत्तप्रसादको अनुहार पुलुक्क
हेरी अलि खिस्स हाँसेर – "तिमी भन्छु" नानीथकुंले भनिन् ।
"मोरी !" अँगाल्न हात बढाउँदै डाक्टर गोदत्तप्रसादले भने । "नकच्चरा !" फुत्केर पछि हट्तै मुसुक्क मुस्कुराएर नानीथकुं छुट्टिइन् । डाक्टर गोदत्तप्रसाद मस्त भएर नानीथकुंको अनुहार हेर्दै हाँसिरहे । यत्तिकैमा माथिबाट "नानीथकुं ! भात खान आऊ" भन्ने सम्बोधन सुनियो । "लौ जाऊ भात खान आजलाई, भोलि त बिदाको दिन छ दिउँसै आउँला है ?" नानीथकुंको हातको हर्थुङ्गामा चुम्बन गर्दै डाक्टर गोदत्तप्रसादले भने ।
"नबिर्सीकन !" अतृप्त आँखाले हेर्दै नानीथकुंले भनिन् ।