बाह्र आज लतमाया र नानीथकुंले भात नखाँदै काममा गएका घरका सबै जहान एकै समयमा धमाधम घर आइपुगे । सबै आइपुगेका देखेर लतमाया र नानीथकुंले घरका सबै जहानलाई भात पस्कन थाले ।
सबैले भात खान लागेको बेलामा लतमायाले ‘सुब्बा सुरमानका मानिस आएका र उनले देशी तान किनेर मद्दत गर्नेबारे दिउँसो भएका सारा कुरा छोराहरूलाई बताइन् । पोहोर सालको बाली बाँकी भएको लेखाइराखेको तमसुक च्यातिदिइसकेको कुरा पनि भनिन् ।
ती कुरा सुनेर शिवनारानलाई अलि आश्चर्य लाग्यो । सुरमान सुब्बा अगि त्यस्तो उदार नभएको कुरा शिवनारानलाई राम्रै थाहा थियो । ‘पोहोर साल असार नराम्रो भएकाले बाली तिर्न नसक्ता कडिकडाउसाथ ताकिता गर्दै सयकड़ा पच्चिसको दरले बढाई तमसुक लेखाएर लिने दानव आज एकाएक कसरी देवता भएर निस्क्यो ?’ उनले अलि सोचिसकेपछि भने- "आमा ! तपाईंले मन्जुर नगर्नुपर्ने ।"
"हामी कति ठुला मानिस हौं र त्यत्रो ठुलो तल्सिङले यस्तो दया गरेकोमा तिरस्कार गर्न सक्छौं ? दिनेले दिन सक्छ भने लिनेले किन हटिरहने ?" लतमायाले भनिन् ।
शिवनारानले गम्भीरतापूर्वक ‘अँ अँ’ को रूपमा टाउको हल्लाए तर केही बोलेनन् ।