"तिमीले भनेका सबै कुरा मनासिबै छन्, मलाई पनि त्यो गर्न कहाँ मन लाग्छ ? तर गर्ने के, तिमी नै सोच !" शिवनारानले अलि लामो सास फेरेर भने ।
"डाक्टर गोदत्तप्रसादले हामीमाथि सहानुभूति प्रकट गरिरहेको देखिन्छ । दिएको फिससमेत नलिईकन आफैं आई बालाई उनले त्यत्रो मिहिनेतसाथ औषधी गरिदिए, उनीसितै बिस-पच्चिस रुपियाँ सापट मागौँ कि ! मैले हेर्दा त अवश्य उनले मद्दत गर्नेछन् ।" नानीथकुंले भनिन् ।
नानीथकुंको यो सल्लाह सुनेर शिवनारान, पुननारान, हर्षनारान, लतमाया सबैले भुइँतिर निहुरेर एक चोटि गौर गरे । अनि लतमाया बोलिन् – "उनीसित सापट मागे नदेलान् जस्तो त छैन तर किन हो कुन्नि, तिम्रो बालाई उनको सहानुभूति अलि तितो लागेको थियो ।"
"मलाई पनि अलि कस्तोकस्तो नै लाग्यो !" शिवनारानले भने ।
"अगाडि नराम्रो मानिस पछि राम्रो भएर आएको बेस कुरा हो । देलान् जस्तो देखिए उनीसित सापट माग्नमा आपत्ति के छ त ? सित्तै खानु छैन, चाँडै तिरौंला । मैले हेर्दा पनि उनीसित सापट लिएर काम चलाउनु बढिया लाग्यो ।" पुननारानले भने ।
"हुन्छ, हुन्छ, सबभन्दा अहिलेलाई यही उपाय नै मलाई पनि राम्रो लाग्यो । ‘भरे भोलि’ भनी पर्खने बेला पनि त अहिले छैन । तैपनि यस्तो ढिलो भएर लाज मर्नु भइसक्यो ।" हर्षनारानले भने ।
एकछिन फेरि सब चुप लागे । अनि मनमन गौर गरिसकेपछि शिवनारानले भने- "के लाग्यो त, हुन्छ, डाक्टर गोदत्तप्रसादसँग सापट लिऔं । तर उनी अहिले घरमा हुँदैनन्, अस्पतालमा होलान् ।"
"अस्पतालमा भए उहीँ गएर सापट मागे के हुन्छ ?" नानीथकुंले भनिन् ।
"हुन्छ लौ, पच्चिस रुपियाँ उनीसित सापट लिऔं, कसलाई पठाउने ? हामीमध्येबाट कोही जानु बेस होला ।" शिवनारानले भने ।
"हर्ष दाइ र म जाऔँ, दुई जना गएपछि उनको दिल झन् पग्लला ।" नानीथकुंले भनिन् ।