"हुन्छ त, तिमीहरू जाओ । गइहाल त, अबेर गर्ने किन ! नदिए रोएर, बिन्तीभाउ गरेर पनि सापट लिएर आओ, अलि छिटोछिटो जाओ ।" शिवनारानले भने ।
शिवनारानको आज्ञा पाएर हर्षनारान र नानीथकुँ डाक्टर गोदत्तप्रसादकहाँ रुपियाँ सापट माग्न गए ।
⬥
मरेको चार घण्टा भइसक्यो, अझसम्म केही सुरसार नभएको देखेर एउटा गुठियारले अलि फर्केर भन्यो- "शिवनारान । साह्रै अबेर भयो, के गर्न लाग्नुभएको यो तपाईंहरूले ? कहिले मुर्दा लैजाने, कहिले दाहसंस्कारको काम सिद्ध्याउने ? हुन त यस्तो अवस्थामा केही बोल्न ठीक छैन तर साराको कामकाज बर्बाद हुन लागिसक्यो, त्यसैले नबोल्न सकिनँ ।"
"सब ठीक हुन लाग्यो, एकछिन पर्खिदिनोस्, मालसामान जोरिँदै छ । के लाग्छ, जिउँदो छँदै मर्ने सम्झेर जोरजाम गर्नु भएन ।" शिवनारानले वेदना भरेको आवाजमा भने ।
"मेरो भनाइ त्यस्तो होइन, तर मरेको पनि त धेरै समय बितिसक्यो । यसरी धेरै बेर मुर्दालाई पर्खाइराख्नु पनि ठीक छैन । यसैले पनि हामीले ताकिता गरेका हौँ ।"
"तपाईंले भन्नुभएको कुरा मनासिब हो । बन्दोबस्त हुँदै छ, एकछिन तपाईंहरू नरिसाइदिनुहोला ।"
" होइन, कोही पनि रिसाएको छैन । यस्तो बेलामा पनि रिसाउने कस्तो मूर्ख होला ? अबेर भएर ताकितासम्म गरेका हौं ।"
"बरु अरथी बनाउनलाई बाँससाँस दिनोस्, दाउरासाउरा पनि ठीक गर्दै गरौँ ।" अर्को एक जना गुठियारले भने ।
घरमा भएका बाँसहरू खोजेर दिँदै- "अरथी बनाउँदै गर्नुहोला, दाउरा किन्न गएका छन्, एकै चोटि सबै तयार हुनेछ ।"
गुठियारहरू बाँस काटकुट गरी अरथी बनाउन थाले ।
⬥